मधेस आन्दोलनको कथामा मधेसी पुत्र–२ बन्दै



 

 

राजविराज, (नेस)। मधेसका मुद्दा र हालसम्म भएका आन्दोलनलाई कथा बनाएर मैथिली फिल्म मधेसी पुत्र–२ वन्ने भएको छ। राजविराज ४ स्थित कालि मन्दिरमा आयोजित एक कार्यक्रममा मधेस आन्दोलनका शहीद दिलीप साहकी पत्नी पुनमले रिवन काटेर फिल्मको मुहुर्त गरेकी छिन्।

मुहुर्तका क्रममा बोल्दै पुनमले मधेसी जनताले उठाएका जायज माग पूरा गर्न फिल्मले भूमिका निर्वाह गर्ने विस्वास गरिन्। उनले फिल्म हेरिसकेपछि राज्य सञ्चालकहरूको सोच्ने शक्ति फराकिलो हुने र मधेस मुद्दाको स्थायी समाधान निस्कनेमा आफू विश्वस्त रहेको बताइन्। फिल्मका बारेमा जानकारी दिँदै निर्माता उदित नारायण साह ‘अरुणु ले मधेस आन्दोलनको अन्तर्वस्तु र हालसम्म प्राप्त उपलब्धिलाई देखाउन खोजिएको बताए। ‘यो फिल्ममा मधेसको माग, त्यसमा आधारित आन्दोलन र राज्यको भूमिकालगायत सम्पूर्ण जानकारी दिन खोजिएको छ’ –उनले भने ‘यो फिल्म कुनै समुदाय र सम्प्रदायप्रति वैरभाव राखेर बन्दैन। यसमा सवै समुदायको सम्मान र आदर गरिनेछ।’

निराजन मेहताको निर्देशनमा निर्माणाधीन फिल्ममा उनी आफैं नायकको भूमिकामा प्रस्तुत हुने छन् भने निशा घिमिरे, निशा अधिकारी, सचेन्द्र सरदार, मनोज राउत, ध्रुव कोईरालालगायतका कलाकारहरू मुख्य भूमिकामा छन्। निर्देशक तथा नायक मेहताकै कथा रहेको फिल्मलाई रवि कोइरालाले छायांकन गर्नेछन्। रोहित प्रमोद र भागवत मण्डलको संगीत तथा भागवत मण्डल, अन्जु यादव, सोनी र पारसमणिको स्वरमा गीतहरू तयार हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्