निखिलजीको स्क्रिफ्ट मन परेनः सञ्चिता लुईंटेल



 

अठार वर्षको उमेरमै फिल्म अप्सराबाट नेपाली फिल्म क्षेत्रमा होमिएकी नायिका हुन् सञ्चिता लुईटेल। त्यसपछि उनले लगातार माया नमार, उनको सम्झनामा, प्रेम युद्ध, दाइको ससुराली, दासढुंगालगायतका दर्जनौ नेपाली फिल्ममा अभिनय गरिन्। नेपाली फिल्म उद्योगमा सुन्दरी र अभिनयमा पोख्त छवी बनाउन सफल उनले आफ्नो करिअरको सफलता पाइरहेको अवस्थामा नायक निखिल उप्रेतीसँग विवाह गरिन्। निखिलसँग बिहे गरेर एक छोरा र एक छोरीकी आमा भएकी उनी आफ्ना सन्तानलाई हुर्काईसकेपछि मात्र फिल्म राधामार्फत फिल्ममा कम ब्याक भइन्। उनै अप्सरा गर्ल सञ्चितालाई गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छः

रश्मी थापा

लामो समयपछि फिल्म क्षेत्रमा फर्किनुभयो। पहिले र अहिलेको नेपाली फिल्म इन्डस्ट्रिजमा के फरक पाउनुभयो?

केही समयको ग्यापमा म फिल्ममा आएँ। तर मैले फरक पाएको भनेको टेक्नििकल पाटाहरू मात्र हो। पर्दामा देखिने कुराहरू, क्यामेराको क्लिरियेन्स आदि कुराहरूमा मात्र चेन्ज छ नत्र अन्य कुराहरू उस्तै हो। मलाई
त खासै फरक लागेन। माहौल पनि अलि अलि फेरिएको छ।

आमा हुनुअघि र आमा भइसकेपछि काम गर्दा के फरक महशुस गर्नुभयो?

आमा भइसकेपछि पक्कै पनि आफ्नो रेस्पोन्सबिलीटिहरू बढ्छ नै। मैले आफ्नो बच्चाहरूप्रति आफूले गर्नुपर्ने रेस्पोन्सबिलीटिहरू पूरा गर्दै काम पनि गरिरहेको छु। पहिले मैले आफ्नो काममा मात्र ध्यान दिए पुग्थ्यो। तर २ सन्तानकी आमा भएपछि अहिले त्यस्तो हुँदैन। त्यतिबेला समयको मतलब हुन्नथ्यो। तर अहिले समयको मतलब गर्नुपर्छ। त्यसमा पनि मेरो श्रीमान् (नायक, निर्माता तथा निर्देशक) एकदम बौद्धिक हुनुहुन्छ। मेरो काम र समय म्यानेजमेन्टमा मैले भन्दाबढी उहाँले सोच्नुहुन्छ। मेरा कामहरू छिटो सकाउन हेल्प गर्नुहुन्छ। त्यसैले पनि आफ्नो जिम्मेवारीहरूसँगै समय पनि म्यानेज गर्न सजिलो भइरहेको छ।

एउटै घरमा नायक (पति निखिल) नायिका हुनुहुन्छ। निखिलजीले फिल्म पनि लगातार बनाइरहनुभएको छ। तर तपार्इंहरू पर्दामा चाहिँ किनसँगै देखिनुहुन्न?

त्यस्तो होइन। मेन कुरा त अहिले उहाँले बनाउनुभएको फिल्मको स्क्रिप्ट हो। मलाई उक्त स्क्रिप्ट चित्त नबुझेर हो। उहाँले एक्सन मुभिहरू बनाइरहनुभएको छ। अर्को कुरा चाहिँ उहाँले बनाएको फिल्ममा मैले काम गर्दा आफैंले फिल्म बनाएर आफैंले खेल्यो भन्ने कुराहरू पनि आउँछन्। तर मुख्य कुरा चाहिँ मेरो लागि स्क्रिप्ट नै चित्त बुझ्दो नभएर सँगै नखेलेको हो। खेल्दै नखेल्ने पनि होइन। चाँडै नै एउटै फिल्ममा खेल्ने प्लानिङमा छाँै।

निखिलजीको फिल्ममा तपाईंचाहिँ देखिनुभएको छैन। तर तपार्इंको बहिनी सिवानी लुईंटेललाई चाहिँ उहाँले बनाइरहनुभएको कमिटमेन्टः ट्वाइन्टी फोर आवर्समा ब्रेक दिइएको छ नि?

त्यो त स्टोरीको कारण हो। अहिले उसले गरिरहेको फिल्मको कथा नै केटी बाहिरबाट नेपाल आउने, उस्ले नेपाली इंग्लिस र हिन्दी भाषाहरू बोल्नु छ। स्टोरीका लागि फ्रेस अनुहार चाहिएको थियो। हामी नयाँ अनुहार खोजिरहेका थियौँ। यही क्रममा फिल्मकै टिम मेम्बरहरूबाट यदि सिवानीले मान्छ भने यो फिल्ममा उसलाई राखाँै न भन्ने कुरा आयो। उसले पनि स्क्रिप्ट मन पराएपछि उसलाई लिएको हो।

कलाकारीतामा स्थापित हुनुहुन्छ। फिल्म निर्देशनमा पनि आउने विचार छ ?

म एक्टिङमै रमाइरहेको छु। त्यस कारण फिल्म निर्देशन गर्ने प्लान गरेको छैन।

प्रतिक्रिया दिनुहोस्