जिप खस्दा ९ को मृत्यु गाउँ नै शोकमा



 

विमल विष्ट, डोटी

डोटीको दिपायल राजपुरबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको शैलेश्वरी यातायातको से१ज ४९१ नम्बरको जिप शुक्रबार राति दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। मृतक सबैको सनाखतसमेत भएको छ।

शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा जिप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा डोटीको शिखर नगरपालिका–१ का चालक कृष्ण नेगी, बोगटान गाउँपालिका–१ सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरखबहादुर थापा मगर, ४५ वर्षीया ललितादेवी पुन मगर तथा ४८ वर्षीय शशिराम पुन मगर रहेको प्रहरीले जनाएको छ।

यस्तै सिमचौरकै ४० वर्षका टेकबहादुर पुन मगर, ३० वर्षका चन्द्रबहादुर घर्ती मगर र ५५ वर्षका भीमबहादुर घर्ती मगरको पनि ज्यान गएको छ।

उहाँका अनुसार शैलेश्वरी यातायातको से१ज ४९१ नम्बरको जिप दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् भने तीन जना सामान्य घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा सिमिचौरकै दलबहादुर पुनमगर, हर्कबहादुर घर्ती मगर, वीरबहादुर घर्ती मगर तथा प्रकाश घर्ती मगर रहेका छन्। घाइतेहरूको दीपायलस्थित सुजंग अस्पतालमा उपचार भइरहेको छ। जिप कच्ची सडकबाट करिब साढे ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। निरन्तर पानी परेको र कच्ची सडक भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनाका कारण डोटीको पूर्वी क्षेत्रमा पर्ने बोगटान गाउँपालिका–१ सिमचौरस्थित चपरतोला गाउँ शोकमा डुबेको छ। दीपायल राजपुरबाट बोगटान गाउँपालिकाको चबरा चौताराका लागि छुटेको शैलेश्वरी यातायातको से१ज ४९१ नम्बरको जिप गगुडास्थित काटैगाउँको धार भन्ने ठाउँमा दुर्घटनामा परी सो वडाका ८ जनाको एकै चिहान भएपछि उक्त गाउँ शोकमा डुबेको हो।
उक्त घटनामा परी एकै घरका ३ जनाको मृत्यु भएको छ। बोगटान गाउँपालिकाको सिमचौर–१ चपरतोलामा बन्दै गरेको बुढिगंगा हाइड्रो पावरको सब स्टेशनमा मृतकहरूको जमिन परेकाले सो जमिनको मुआब्जा लिएर जिल्ला सदरमुकाम सिलगढीबाट फर्किने क्रममा उक्त दुर्घटना हुँदा यति ठूलो संख्यामा एकै गाउँका स्थानीयको ज्यान गएको हो।

एकै गाउका ८ जनाको दुःखद मृत्यु भएपछि अहिले उक्त गाउँमा रुवाबासी चलेको स्थानीयबासी तथा एमाले नेता हस्तबहादुर बुढाले बताउनुभयो। उहाँले जमिनको पैसा लिन गएकाहरू कहिल्यै नफर्कने गरी गएको भन्दै दुःख व्यक्त गर्नुभयो।

शुक्रबार राति घटना भए पनि प्रहरी तथा स्थानीयबासीको सहयोगमा १२ घण्टापछि शनिबार बिहान मात्रै घाइतेलाई अस्पताल पुर्याइएको थियो। प्रतिकूल मौसमका कारण घाइतेहरूलाई तत्कालै उद्दार गर्न नसकिएको डोटीका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्