चिकित्सा विधेयक तत्काल पास गर्नुपर्छः थापा



 

भक्तपुर, (नेस)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा विधेयक संशोधनलाई तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ। शनिबार नेपाली कांग्रेसका पूर्वनेता स्व. श्यामबहादुर कार्कीको दसौं स्मृति दिवसमा बोल्दै थापाले केदारभक्त माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संशोधनलाई टुंग्याउने तयारी भइरहेको बताउनुभयो।

नेता थापाले माथेमा आयोगको मर्मलाई समेट्ने गरी ऐन पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले चासो दिइरहेको बताउनुभयो। थापाले माथेमा आयोगले तयार पारेको प्रतिवेदनलाई ध्यान दिँदै ऐन संशोधन गरी अनशनरत डा. गोविन्द केसीका जायज माग सरकारले पूरा गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा देखिएका सबैखाले समस्या क्रमिकरूपमा समाधान हुँदै जाने बताउँदै केन्द्रीय सदस्य थापाले वर्तमान गठबन्धन सरकारले तोकेकै समयभित्र सबै तहको निर्वाचन गराइसक्ने दाबी गर्नुभयो।

कार्यक्रममा उहाँले विद्यार्थीलाई पोशाक एवं स्टेसनरी सामान हस्तान्तरण गर्नुभयो। गणेश प्रावि बालकोटका ५७ जना बालबालिकालाई पोशाक, झोला एवं स्टेसनरी सामान वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, सांसद रामेश्वर ढुंगेल, पूर्वसांसद लेखनाथ न्यौपानेलगायतले कार्कीले पुर्याएको योगदानको बारेमा चर्चा गर्नुभयो। सोही कार्यक्रममा १ सय ५१ जनाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्