यत्रतत्र फोहोरले महामारीको डर



 

नेपाल समाचारपत्र
बाँके
नेपालगन्जको फोहोर व्यवस्थापन झन् समस्या भएको छ। फाल्ने ठाउँ नपाएर फोहोर उठाउनै कम गरिएको छ। उठाएको फोहोर पनि कहाँ फाल्ने भन्दै ट्याक्टर चालकहरू तनावमा परेका छन्।

नगरपालिकाले व्यक्तिको खाली जग्गामा फोहोर फाल्ने ‘मेसो’ मिलाए पनि स्थानीयले विरोध गरेर रोक लगाउँदै आएका छन्। पछिल्ला दिनमा चालकलाई उपयुक्त ठाउँमा लगेर फोहोर फाल्ने जिम्मा दिइएको छ। एक्लाएक्लै जाँदा कुटाइ खाने डरले चालकहरूले आधा दर्जन ट्याक्टरसँगै लिएर सडकछेउका खाली जग्गामा फोहोर फालिरहेका छन्।

फाल्ने ठाउँ नहुँदा बजारको फोहोर उठाउन पनि कन्जुस्याइँ भएको छ। त्यसै पनि बजारमा संकलित फोहोर उही दिन सबै व्यवस्थापन हुँदैनथ्यो। दैनिक निस्किने ३२ टनमध्ये १८ टनजति नगरपालिका र ७ टनजति निजी क्षेत्रले उठाइरहेकोमा अहिले त्यो घटेर २२⁄२३ टनमा झरेको नगरपालिका स्रोतले बताएको छ।
ढलको राम्रो निकास नभएको, भित्री सडकहरूको अवस्था नाजुक र त्यहीमाथि फोहोर थुपिँ्रदा नेपालगन्जमा महामारी फैलिन सम्भावना बढेको छ। ‘फोहोर, चर्को गर्मी र लामखुट्टेको बिगबिगीले गर्दा महामारी फैलिन सक्छ’ –जानकारहरू भन्छन्।

फोहोर उठ्न छोडेको, उठाएको पनि फाल्न ट्याक्टर चालकले ज्यानको बाजी थाप्नु परिरहेको बेलामा जनप्रतिनिधि भने स्वागत र सम्मानमै रमाइरहेका छन्। असार २२ गते शपथ खाएका जनप्रतिनिधिले फोहोर व्यवस्थापनमा कुनै सहयोग गरेका छैनन्। खालि फोहोर व्यवस्थापनको रटान लगाउँदै हिँडेका छन्। ‘बजारको फोहोर नउठेका कारणले महामारी फैलियो भने जनप्रतिनिधि दोषी हुन सक्छन् कि सक्दैनन् ? प्रश्न उठाउन थालिएको छ।

नेपालगन्ज उपमहा–नगरपालिकाको सरसफाइ शाखाका कर्मचारीलाई कसैको खाल्डो जग्गा खोज्दैमा दिन बितेको छ। ‘कुदाकुद गरेर खाली जग्गा भेटाएर मालिकसँग कुरा मिलायो, स्थानीयले विरोध गरेर फोहोर फाल्न दिँदैनन्’, सरसफाइ शाखाका प्रमुख अशोक केसी भन्नुहुन्छ– ‘जग्गा खोज्दा खोज्दै हैरान भइसकेको छु।’ केसीले अब त कसैको खाल्डो जग्गा निःशुल्क पुर्नु छ भने हामीलाई सम्झनुहोस् भनेर नम्बर राखिदिऊँ कि जस्तो भएको छ भन्नुभयो।

कर्मचारीले बिगारे, काम गरेनन्, दैनिक फोहोर नै उठाएनन् भनेर चर्को विरोध गर्ने नेपालगन्जबासी जनप्रतिनिधि आइसकेपछि त्यही अवस्था हुँदा बोल्न सकेका छैनन्। विकासप्रेमी, सबै समस्या बुझेकालगायतका उपमा दिइएका मेयर डा. धवलशमशेर राणाले फोहोर फाल्ने ठाउँसम्म व्यवस्थापन गर्न सकेका छैनन्। एउटा निम्तोमा मेयर र उपमेयर पुगिरहेका छन्।
नेपालगन्ज उपमहा–नगरपालिकाको चुनौती नै फोहोर व्यवस्थापन हो। फोहोर व्यवस्थापनमा स्रोत र साधनको अभाव देखाउने गरिन्छ। अभाव र समस्या देखाउने रोग पुरानै हो। जनप्रतिनिधि आइसकेपछि पनि सुधार हुने लक्षण देखिएको छैन। शपथ खाएर कुर्सीमा बसेको एक महिना बितिसक्दा पनि जनप्रतिनिधि हामी भर्खरै आएका छौं भनिरहेका छन्। फोहोर फाल्न दिन्छु भन्ने जग्गा धनीसँग बलियो कागज गराएर अगाडि बढ्न जनप्रतिनिधिले चासो देखाएका छैनन्। फोहोरलाई जहाँ लगेर फाले पनि फाल भनेर चालकलाई जिम्मा दिएर जनप्रतिनिधिले जग हँसाएका छन्।

प्रतिक्रिया दिनुहोस्