१ सय ४५ को जीवनलीला टुंगिएको ठाउँ, बल्झिरहन्छ घाऊ



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
०७१ साउन १७ गतेको राति जुरेमा पहाडै खस्यो । राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ ले ज्यान गुमाए । कति घाइते र अंगभंग भए । सयौंको घरवास खेदियो । पहाड नै खसेपछि १४ घण्टासम्म सुनकोसी थुनियो ।

१४ घण्टा सुनकोसी बगेन, जुरेमा आँसु मात्र बगिरह्यो । १ सय ४५ जनाको जीवनलीला समाप्त पार्नेगरि जुरेमा पहाड खसेको तिन वर्ष भएको छ । तिन वर्षकाबिच सुनकोसीमा धेरै पानी बगिसकेको छ, पहिरोले उजाड बनाएका भीरपाखामा रुखबिरुवा पलाइसकेका छन् । खण्डहरु बनेको त्यो ठाउँ क्रमश हरियाली बन्दैछ तर पहिरोका पीडित÷विस्थापितका मुहारमा खुसी फर्किएको छैन अझै । पहिरोले विस्थापित बनाएकाहरु अझैपनि विस्थापित जीवन बिताइरहेका छन् । उनीहरु पहिलेकै जग्गाजमिनमा फर्कन सकिरहेका छैनन् । बरु पहिरोमा रुख पलाइसक्यो तर पीडित विस्थापितको जीवनमा खुसी पलाउन सकेन ।

 

तिन वर्षअघि पहिरोमा परिवारका पाँचजनालाई गुमाएका ड्यामसाइडका कृष्णराम श्रेष्ठ सोमबार पहिरोस्थलमै टोलाइरहेका थिए । पहिरोमा परि घाइते भएका उनको घाउ त निको भइसक्यो, तर मनको घाउ निको भएको छैन अझै । पहिरोमा घरभित्रै परेका उनको पेटमा ठुलो चोट लाग्यो । अस्पतालमा उपचार गराए, डाक्टरले च्यातिएको शरीर सिलाइदिए तर फाटेको मन सिलाउन अझै सकिरहेका छैनन् उनी । पहिरोमा पत्निसहित दुई बालबच्चा र भाई गुमाएका उनले केहि समयअघि विवाह गरे अनि जिन्दगीको नयाँ अध्याय लिएर थातथलो फर्किए ।

 

अन्यत्र जग्गाजमिन नभएपछि पहिरोको छेवैमा उनले घर बनाइरहेका छन् । १ सय ४५ को जीवनलीला टुंगिएको त्यही ठाउँमा उनी जीवनको नयाँ अध्याय लिएर फर्किएका हुन् । ‘अब त पहिरो आउँदैन होला भनेर यहिँ आएँ’, सोमबार ड्यामसाइडमा भेटिएका उनी भन्दैथिए, ‘जाने ठाउँ कतै छैन, बास त बनाउनैप¥यो ।’

 

उनीसँगै थिए कागुनेका रामबहादुर तामाङ । उनी पनि पहिरोले बगाएको आफ्नो घरको निशाना नियालीरहेका थिए । ड्यामसाइडस्थित वनसाँघु माध्यमिक विद्यालय छेउमा बसेर आफ्नो घर जग्गाको भुगोल देखाउँदै थिए उनी पनि । ‘ऊ त्यहीँनेर थियो घर, तलदेखि माथिसम्म मेरै जग्गा थियो’, भन्दैथिए उनी । ०७१ साउन १७ को त्यो जुरे विनाशलीलामा परिवार गुमाएका मान्छे हुन उनी पनि । पहिरोले उनको घरजग्गाको भुगोल मात्र भत्काएन, परिवार नै भत्काइदियो । पहिरोले परिवार सुख खोस्यो, खुसी लुटियो । खुसी लुटिएको त्यो क्षण उनी घरीघरी सम्झन्छन् अनि सुस्केरा हाल्छन् । क्रमशः पीडा भुल्दै उनी सामान्य जीवनमा फर्कीएका छन् तर जुरेको पहिरो उनको मनमा अमिट बनेर बसिरहेको छ । ‘त्यो कालो दिन कसरी भुल्न सकिएला र ?’, उनी भन्छन् ।

 

थातथलोमै फर्किएर जाने रहर छैन, जाने ठाउँ पनि कतै छैन । मांखा कागुनेका बहादुर तामाङको परिवार दुई वर्षसम्म लामोसाँघुस्थित नेपाल ओरियण्ट म्याग्नेसाइट परिसरमा पालमै बसे । सडक विभागले जग्गा खाली गर्न भनेपछि उनको परिवार त्यहाँबाट पनि विस्थापित भयो । पहिरोले उनको परिवारलाई कागुनेबाट विस्थापित गरायो, म्याग्नेसाइटबाट सरकारले नै उनको परिवारलाई विस्थापित बनायो र पहिरोमुनिको ड्यामसाइडमा पु¥यायो । ड्यामसाइडमा एउटा कुखुरा फर्मलाई भाडामा लिएर बसिरहेका छन् उनी । मासिक एक हजार भाडामा लिइएको त्यही टहरो नै उनको घर हो । पहिरोले जग्गाजमिन सवै लग्यो, पहिरोको थाप्लोमा रहेको घर पनि भुकम्पमा भत्किएपछि थातथलोमा अब कहिल्यै नफर्कने मनस्थितीमा छन उनी ।

 

‘घर भएको ठाउँ त अहिले झाडी भएको छ, अब त गाउँमा गएर बस्न सकिँदैन’, बहादुरकी श्रीमति सुनमायाँ भन्छिन्, –‘कुखुरा पाल्ने टहरो भाडामा लिएर बसिएको छ ।’ परिवारको आयस्रोत केहि छैन, बहादुरले हलो जोतेर नै ७ जनाको परिवार पाल्दै आएका छन् । ‘कमाई छैन, महिनाको एक हजार त भाडा तिरेर बस्नुपर्छ’, सुनमायाँ सुनाउँछिन् ।

 

ड्यामसाइड, जुरेको भुगोल नै बदलिएको छ । घर रहेको जग्गाको निशाना नै हराएपछि पहिरोमा घरसँगै परिवारका ४ सदस्य गुमाएका रुवेन पौडेल अब जुरेमा फर्कने छैनन् शायद । पहिरोमा पत्नि सहित दुई नावालक छोराछोरी र भाईलाई गुमाए उनले । उनीहरुको लाशसम्म नभेटिएपछि कुशको शव बनाई काजकिरीया गरेका थिए उनले । जव जव जुरेको जग्गामा उनले पाइला टेक्छन्, पहिरोको पीडा बल्झिएर आउँछ । पहिरोले घरसँगै उनको सुखी परिवार नै भत्काइदियो । पहिरोले जिन्दगीका रहरहरु नै सुनकोसीमा बगाइदिएपछि थातथलो नै छाडिदिए उनले । जुरे विनाशलीलापछि थातथलो छाडेर काठमाडौमा कोठा भाडामा लिएर उनी बसिरहेका छन् । उनी पनि अब अन्यत्रै बसोवासका व्यवस्था गर्नतर्फ लागेका छन्, तर पहिरोमा नफर्कने बताउँछन् । ‘मसानघाटमा के भनेर फर्कनु, अब अन्यत्रै बसोवास व्यवस्था गर्छु’, उनी भन्छन् ।

 

तिन वर्ष बित्यो, पहिरोका पीडित तथा विस्थापितहरुले सरकारी तहबाट कुनै सहायता पाएनन् । तत्कालिन अवस्थामा संघसंस्थाहरुले नै जुरेपीडितलाई आवस्यक राहत सहयोग गरे । संघसंस्थाले दिएका राहत सामाग्री नै सरकारी निकायले वितरण गरेको हो । किरीयाखर्च र मृतक परिवारलाई राहत बाहेक सरकारी निकायबाट कुनै काम नै भएन । जुरे पहिरोपीडितका लागि देश विदेशबाट संकलन भएको २ करोड २५ लाख रुपियाँ केन्द्रिय दैवी प्रकोप उद्धार समितिको खातामै थन्किएर बसेको छ ।

जसको नाममा रकम जुट्यो उनीहरुले पाएनन्, सरकारी खातामै रहिरह्यो । बरु भूकम्पपीडित सरह नै नीजि आवास पुननिर्माण अनुदानको पहिलो किस्ता जुरे पीडितले पाए तर पहिरोपीडितका नाममा सरकारी खातामा जम्मा भएको रकम उनीहरुले पाएनन् । विस्थापित जीवन बिताइरहेका उनीहरुले पहिलो किस्ताको ५० हजार पनि घर व्यवहार धान्नमै खर्चिएका छन् । अब दोस्रो किस्ताको रकम पाएपछि मात्र घर बनाउने सुरमा छन् उनीहरु । ‘सरकारले पैसा दिन्छ रे भन्ने सुनिएको छ, पैसा दियो भने घर बनाउने हो ’, ८० वर्षकी मंगली तामाङ भन्छिन् ।

प्रतिक्रिया दिनुहोस्