जीवन एक यात्रा हो



मोहन दुवाल
जीवन बाँच्नुको क्रममा आफूले सोचेजस्तो धेरै थोक हुँदैन पनि, धेरै थोक भएजस्तो पनि हुन्छ। म बरोबर जीवन बुझ्ने क्रममा जीवनलाई मनमा राखेर गुनिरहन्छु। मैले जीवनलाई एक यात्राकै रुपमा परिभाषित गर्दै आएको र जीवन वास्तवमा यात्रा नै रहेको मेरो ठम्याइ छ। त्यसैले त मलाई यात्रा गर्न मन लाग्छ। यात्रा धेरै खालका हुन्छन्।

कसैको खुशीमा आफूलाई समर्पित गर्नु पनि त यात्रा हो। कसैको सुखलाई खोस्न चाहनु पनि आफ्नो यात्रा बनाउनेहरु पनि छन्। यात्रा सुखद खालका पनि हुन्छन्, दुःखद देखिँदा पनि हुन्छन्। भोग्नु, स्पर्श गर्नु र अथ्र्याउनु, प्रयोग गर्नु आ–आफ्ना ढङ्ग र प्रकारका छन्। मैले धेरै खालका मान्छेसँग आफ्नो मन उनीहरुसँग साटेर जीवनको अर्थ खोजेको छु। नेपालका सबैजसो ठाउँमा पुगेर जीवनका स्पर्शहरु यात्रामा भुलेको छु। भारतका धेरै प्रान्तहरु घुमेको छु। चीन र उत्तर कोरिया पुगेर पनि जीवनलाई एक यात्राको रुपमा स्पर्श गर्न पाएको छु।

जीवन वक्ररेखा भएर गुज्रिरहन्छ, जीवन भोग्नु सरल ढङ्गले सम्भव छैन। उकालो–ओरालो, घुम्ती बाटो हुँदै गुज्रिनु नै जीवन हो। र, सोझो ढङ्गले मात्र बाँच्न जीवन सोचेर जीवनलाई म खियाउँदै छु। मलाई दह्रो बनाउन पाउँदाको अनुभूति कति मीठो हुँदो रहेछ। म मनलाई दह्रो बनाउने जीवनको यात्रामा छु। जस्तै दुःखमा पनि दुःखको अनुभूति हुँदैन। सक्दो गरेर बाँच्ने हो जीवन, त्यसैले धेरैजसो मेरो समय र क्रमहरु यस्तै अनुभूतिमा दह्रो भएर बाँच्ने गर्छन्। समाज, देश र अरु जनमनका हितका खातिर बाँच्ने गर्दाको मेरो जीवनका यात्रा सुखमय नै छन्। मलाई त्यस्तो यात्रा मन पर्छ पनि। बिहानै श्रीमती भारतीसँग घुम्ने गरेको पनि जीवनको एक खालको यात्रा हो। निकै मन पर्ने समय भइदिएको छ त्यो यात्रा। यस्तै महसुस गर्छिन् भारती पनि।

नयाँ काम, सिर्जना, सम्पर्क गर्न मन पराउने म। नयाँ–नयाँ ठाउँमा जान मन पराउँछु। कहिलेकाहीँ दोहोर्याएर पनि जान बाध्य हुन्छु। नयाँ काम गर्न पाउँदा, नौलो सिर्जना गर्न रमाउँदा, नयाँसँग सम्पर्क राख्न पाउँदा मलाई एकखालको नौलो अनुभूति मिल्छ मात्र होइन नयाँ खालको ऊर्जा पनि मिलेको जस्तो हुन्छ। तर यो शनिबार नौलो अनुभूति नमिले पनि, नयाँ ढङ्गको स्पर्श नजुटे पनि, पारिवारिक चाहनाअनुसार धेरै पटक पुगिसकेको मनकामना माईको दर्शन गर्न केबलकार चढेर मनकामना डाँडामाथि चढियो। कान्छी छोरी सोनीकै अनुरोधमा मनकामना गइयो। भारतीको पनि विशेष अनुरोधमा भुलेर चौथोपटक मनकामना पुगेँ। रिजर्भमा एउटा कारको बन्दोबस्त भयो, जावलाखेलबाट सोनी र नातिनी न्यूमि आभा हामीसँग खुशी भएर कार चढिन्।

५ः१५ तिर कार हुइँकियो। नेपालका बाटाहरु व्यवस्थित गर्न नसकेकै कारणले सडकमा मोटरहरु जाममा पर्नु स्वाभाविकै थियो। तर आज नौबिसेसम्म पुग्दा पनि जाम भोग्नुपरेन, अनौठो लाग्यो। चिया पिउने मत मिल्यो। पार्किङ गर्न मिल्ने ठाउँ रोजेर होटेल रोजियो। हामीसँगै एउटा अर्को कार रोकियो। श्रीमान्÷श्रीमती, दुइटा स–साना छोराहरुसँग यिनीहरु पनि होटेलभित्र छिरे। श्रीमान्भन्दा श्रीमतीको तुजुक हेरिनसक्नु छ। होटेलमा अंग्रेजी बोलेर आफ्नो शान प्रदर्शन गरे। र, म ती पात्रा आँखामा राखेर नेपाल दुःखेको स्थिति मनमा राख्न बाध्य भएँ। पुरी, तरकारी र कालो चियासँग मन गाँसियो।

३५०।– भन्यो, रकम तिर्यौं। हामी हुइँकियौं मनकामना मनमा राखेर। कतै मूल्यको किटान छैन, व्यापारीहरु मनलाग्दी मूल्य उठाउँछन्। कुनै पनि पसलको भाउमा एकरुपता छैन। मनोमालिन्य आ–आफ्नो ढङ्गले बोल्छन् र क्षुद्र व्यवहार देखाउँछन्। प्रशासन नाम मात्रको छ, कतै र कुनै पनि क्षेत्रमा मनपरितन्त्र हाबी रहनु यहाँको संस्कार नै मानिन्छ।

९ः३० बजेतिर नै केबुलकारको कार्यालयअगाडि मोटर रोकिदिए ड्राइभरले। दुइटी नातिनीहरु बालटिकटमा, भारती र म ज्येष्ठ नागरिक सहुलियत टिकटमा र सोनी युवा टिकटमा केबुलकारको टिकट लिएर स्टेसनभित्र छिर्यौं। ७ वर्षीय नातिनीहरु केबुलकार चढ्न पाउँदा खुशी हुन्छिन्– आज पनि तँछाडमछाड गरे उनीहरुले। चन्द्रागिरीमा जस्तो रमणीय नभए पनि, मनकामनाको साइनो जोडेर रमाइलो मान्दै हामी सबै केबुलकारबाट उत्रियौं। २ मिनेटको हिँडाइमा नै मनकामना आसपास पुग्यौं।

मिलाएर राखेको बोहोताभरिका पूजासामग्री बेच्ने धुनमा रहेका व्यापारीहरुको हानथापको ठूला–ठूला स्वरहरु सुनिनसक्नु छ– ‘लौ लिनुस् पूजा सामग्री।’ आवाजहरु बाटोभरि छरपस्ट छन्। मनकामना मन्दिर परिसरभित्र नपुगेसम्म नै पूजासामग्री बेच्नेहरुको गनगन, मनकामनाको चिन्ह खिच्नुस् भनी फोटोग्राफीका लागि अनुरोध गर्नेहरुको अनुरोधको भनभन र खाना खान अनुरोध गर्दै आफ्नो होटेलबाहिर रहेर डाक्नेहरुको ‘आउनुहोस् यता–यता आउनुहोस्’ का ठूला–ठूला स्वरहरु यत्रतत्र थर्किएका छन्। मन्दिर परिसरभित्र पनि कराउँदै छन् फोटो खिच्न अनुरोध गर्दै कामदार भाइहरु।

नेपालमा बेकारी समस्याको कुरा गरेर साध्य छैन। श्रमको भाउ सस्तो र हचुवा ढङ्गले क्रय–विक्रय गर्छन्। कानुनको राज देखिँदो छैन। मनपरीतन्त्र जताततै पनापिएको छ। त्यसैले त नेपालीहरु विदेशमा दास बन्न पनि मञ्जुर हुन्छन्। यही दास हुने क्रममा लागेर नेपाललाई भुल्ने नजानिदो रोग नेपालीहरुमा लागेको छ। मनकामनामा पनि धेरै खालका नेपाली युवा बेकारीहरु भोगियो।

मन्दिर बन्दै गरेको छ। माथिल्लो भाग सेटिङ हुन लागेको छ। सबै निर्माण पूरा हुन त वर्षौं लाग्लाजस्तो छ। साउन महिना भएकै कारणले भक्तजनको ‘हुल’ त्यति देखिँदो छैन। भारती, सोनी र नातिनीहरु पूजा गर्न र मनभित्रका मनका भावनाहरु साट्न नबोल्ने तथाकथित देवता र ईश्वरको पाउमा दर्शन चढाउन भक्तजनहरुसँगसँगै पछि लागेका छन्। म बाहिर नै बसेर ‘ईश्वर’ र ‘देवता’का तथाकथित रुपरङ्गहरु मनमा राखी ‘नेपाल’लाई कल्पनामा राखेर छामिरहेछु। हिन्दू देवमन्दिर नेपालमा त्यति सुन्दर र सफा देखिँदा छैनन्।

धूप, दीप बालेर तेलसँगसँगै बलेर कुरुप तुल्याउँछन् यहाँका मान्छेहरु देवमूर्तिहरुलाई। यहाँ पनि त्यस्तै खालको चलनचल्ती देखिँदो छ। फोहोर छ यत्रतत्र, आ–आफ्नो ढङ्गका छन् भक्तजनहरु। पूजा सिध्याएर आइपुगे परिवारजनहरु। हामी बिस्तारै मन्दिर परिसरबाहिर लम्कियौं। खाना खाने समय नाघिसकेको छ। खाना खाने ‘मूड’ मा हामी तल झर्दै आयौं।

थकाली खानाको बोर्ड झुन्ड्याएका तामाङजस्तो देखिदा साहूजीको खाना–घरमा खाना खाने निधो गर्यौं। बगैंचाको यत्रतत्र मेचहरु छरपष्ट राखिएका छन्। ५ वटा मेच भएको टेबुल मिलाउन दियौं। फापरको ढिँडो खाने रहर भयो। सोनी र मैले फापरको ढिँडो खाने भयौं। भारती र नातिनीहरु भात खान तम्सिए। लोकल कुखुराको मासुसँगसँगै भात–ढिँडो ल्याइपुर्याए। २ भाग मासु फिर्ता गरिदियौं। मेन्यू मागेको, दिँदैन। भाउ के–कस्तो छ, बुझ्नै पाइएन। खानापछि रकम तिर्दा थाहा लाग्यो, रु. १८२०।– लाग्यो खाना खर्च। यहाँ पनि मनपर्दी छ, भाउको टुङ्गोपाङ्गो छैन।

साहूजी भनाउँदाहरु व्यापारका नाममा लुटपाट गर्न तम्सिएका सेठजीहरुजस्ता देखिँदा छन्। मनमा घृणा राखेर यात्रा गरिरहेछु। केबुलकार परिसरभित्र पुग्यौं। हामी पाँचैजना फर्किन पुनः केबुलकार चढ्यौं। नातिनी इराले जिस्क्याउँदै भनिन्, ‘बालाई डर लाग्यो कि क्या हो ?’ भनेर। अबोध प्रश्नको जवाफ दिन मन पराइनँ। केबुलकारबाट हरियाली जंगल, नदीको बहाव, गाउँको सुन्दर र चोखो देखिँदो बस्ती हेर्दा भन्न मन लाग्यो– ‘यस्तै सुन्दर नेपाल कहिले हेर्न पाउने हो ?’ देश कल्पना गर्दागर्दै केबुलकार बिसौनीमा पुगेँ। हामी होर्लियौं।

दिउँसोको १ः०० बज्न लाग्यो। हामी फर्किने भयौं। राजकुमारले मोटर ल्याए। हामी पाँचैजना मोटर चढ्यौं। यसपल्ट कतै जाम भोग्नुपरेन। बाटोको ठाउँ–ठाउँमा चर्पीको व्यवस्था भएकाले अप्ठ्यारो कतै भोग्नुपरेन। फर्किंदा देखियो– एउटा बस तलको खोँचतिर जोल्टिँदै खसेको। अनकन्टार र सुनसान ठाउँमा बस खसेकाले कसरी के भएको हो भन्ने अत्तोपत्तो भएन।

ड्राइभर, कन्डक्टरलगायत बसका यात्रुहरु कोही थिएनन्। यात्रा कहिले मनोरम हुन्छ, कहिले दुःखमय हुन्छ। मनकामनाको यात्रा भोगेर हामी पाँचैजना बनेपा फक्र्यौं। ४ः३० बजिसकेछ, घरमा छिर्यौं।

यात्रा न हो जीवन
रम्न सिक्नुपर्छ यात्रामा
सुखको पनि हुन्छ यात्रा
दुःखको पनि हुन्छ
मलाई त लाग्छ
जीवन भन्नु नै यात्रा हो
यात्रामा नै जीवन खोज्ने हो
जीवनमा यात्रा गर्न सिक्नु हो।
यात्रा गर्न नजाँदा हार्नुपर्छ
यात्रा गर्न जान्नु नै जीवन हो।

प्रतिक्रिया दिनुहोस्