तमोर जलाशाययुक्त आयोजना तत्काल अगाडि बढाउन दबाब



नेपाल समाचारपत्र,काठमाडौं
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो हेवाखोला र काबेली ‘ए’ जलविद्युत् आयोजनाका कारणले ७ सय ६२ मेगावाट क्षमताको तमोर जलाशाययुक्तजस्तो ठूलो आयोजनालाई रोक्न नहुने बताउनुभएको छ। शुक्रबार काठमाडौंमा तमोर जलाशययुक्त आयोजना सरोकार समूह, तमोर जलाशययुक्त आयोजना संयुक्त सरोकार समिति र जलस्रोत तथा ऊर्जा पत्रकार समाज नेपालले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

मुलुकमा प्राकृतिक रुपमा उपलब्ध स्रोत साधनको उपयुक्त प्रयोगका लागि आवश्यक योजना र त्यसको उपयोग हुन नसक्दा मुलुक अध्यँँरोमै रहेको र अध्याँरोमा मुलुकको विकास र आधुनिकीकरण हुन नसक्ने ओलीले बताउनुभयो। कार्यक्रममा बोल्दै ओलीले साना आयोजना बनाएर ठूलो आयोजना डुबाउने कि ठूला आयोजना बनाएर साना आयोजना डुबाउनु उपयुक्त हो ? भन्दै प्रश्न गर्नुभयो।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले आयोजना निर्माणका लागि अनुमति लिएका निजी क्षेत्रका आयोजनाको समस्या समाधानका लागि प्रस्ताव आउनुपर्ने बताउनुभयो। ‘विद्युत् ऐन २०४९ अनुसार पहिला आवेदन दिनेलाई आयोजना निर्माणका लागि अनुमति दिने व्यवस्था अनुसार अनुमति पाएका तल्लो हेवाखोला र काबेली ‘ए’ आयोजनालाई पनि व्यवस्थापन गरेर तमोर जलाशययुक्त आयोजना निर्माण गर्न सकिन्छ।’–घिमिरेले भन्नुभयो।

ऊर्जा मन्त्रालयको प्रतिबद्धता अनुरुप विद्युत् प्राधिकरणले कम्पनी मोडलमा तमोर जलाशययुक्त आयोजना निर्माणको काम अगाडि बढाउनुपर्ने भए पनि हेवाखोला र काबेली आयोजनाको व्यवस्थापन अहिले चुनौतीका रुपमा देखिएको छ।

कार्यक्रममा प्रदेश नम्बर १ को समृद्धिका लागि उच्च सम्भावना बोकेको तमोर जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्ने उक्त क्षेत्रका सभासद्हरूले धारणा राखेका थिए। पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले मुलुकलाई लोडसेडिङमुक्त गर्न र विद्युत्मा आत्मनिर्भर बनाउन तत्काल ठूला जलाशययुक्त आयोजना अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो। तमोर जलविद्युत आयोजनाले निर्माणाधीन काबेली ‘ए’ र तल्लो हेवाखोला जलविद्युत् आयोजना विस्थापित गर्ने हुँदा ती आयोजनाको वार्षिक विद्युत् उत्पादन क्षतिपूर्ति उपलब्ध गराएर तमोर आयोजना तत्काल अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो।

बूढीगण्डकी आयोजनाभन्दा तमोर जलाशययुक्त आयोजना आर्थिक रुपले सस्तो, सामाजिक रुपले कम विस्थापन, वातावरणीय हिसाबले न्यून वातावरणीय प्रभाव र वार्षिक ऊर्जा उत्पादनका हिसाबले करिब आधा लागतमा बूढीगण्डकी आयोजना समान ऊर्जा उत्पादन हुने देखिन्छ। बूढीगण्डकी आयोजनाबाट १० हजार ४ सयभन्दा बढी घर विस्थापित हुने देखिएकोमा तमोर जलाशययुक्त आयोजनाबाट १ सय २६ घरधुरीमात्र विस्थापित हुने देखिन्छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् १९८५ मा गरेको कोशी नदी जलाधार विकास गुरुयोजनामा उल्लेख गरेको १३ वटा ठूला आयोजनामा तमोर जलाशययुक्त आयोजना पनि एक हो। नेपाल विद्युत प्राधिकरणले गरेको प्राविधिक अध्ययन अनुसार नदीमा २ सय ५ मिटर अग्लो बाँध बनाएर ७ सय ६३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने छ।

उक्त प्रतिवेदनअनुसार आयोजनाको बाँध २ सय ५० मिटरसम्म बढाउने हो भने यसको विद्युत् उत्पादन क्षमता १२ सय मेगावाट र ३ सय मिटर अग्लो बाँध बनाउँदा जडित क्षमता २ हजार ५ सय ६५ मेगावाट हुन आउँछ। यसबाट वार्षिक ४ हजार ९ सय ६८ दशमलव ५६ गिगावाट आवर विद्युत् निकाल्न सकिन्छ।

मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणापत्र, २०७२ मा प्रस्तावित ११ वटा जलाशययुक्त आयोजनामा यस आयोजनालाई ८औं प्राथमिकतामा राखिएको छ। उक्त अवधारणापत्र अनुसार यस आयोजनाको क्षमता ६ सय ९२ मेगावाट रहने र वि.सं. २०८२ भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको थियो।

प्राधिकरणले विभिन्न क्षमतामा अध्ययन गर्दा यो आयोजना ७ सय ६३ मेगावाट भन्दा ठूलो बनाउँदा मात्र आकर्षक हुने देखिएपछि यसको क्षमता ७ सय ६३ मेगावाट कायम गर्न गत फागुन १९ गते ऊर्जा मन्त्रालयलाई आवेदन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्