कति भाषण मात्रै…



नेताहरूको भाषणभूषण र नाराबाजी देखेर वाक्क भएको धरहराले हिजो राप्रपाका अध्यक्ष कमल थापा (कथा) भने फरक भंगीमा देखिएर रमाइलो लाग्यो। उहाँ आफ्नी पत्नीसहित रुद्राक्षको बिरुवा रोप्ने काममा व्यस्त हुनुभएको रहेछ। कति राम्रो काम। एउटा भए पनि बिरुवा थपियो।

त्यसले वातावरण जोगाउन निकै ठूलो मद्दत गर्नेछ। मुलुकलाई केही न केही फाइदा त हुने भयो। खालि भाषण मात्रै गर्दा मुलुकको रामो वातावरणलाई प्रदूषित पार्ने बाहेक केही पनि काम हुँदैन। नेताहरू ठाउँठाउँमा गएर पार नलाग्ने र पूरा नहुने आश्वासन बाँड्दै हिँड्नुको सट्टा यस्तै रचनात्मक काममा लागे कति राम्रो हुन्थ्यो।

कोही भत्केको बाटो पुर्नका लागि कार्यकर्तासहित बाटोमा उत्रिऊन्। कोही पहिरो पन्छाउन जुटून्।

कोही खेताला बनेर सर्वसाधारणको काम गर्न जाऊन्। अनि पो बढ्छ रौनक।

खालि कार्यकर्तालाई पैसा बाँड्ने, सान सौकत देखाउने, बाटो जस्तासुकै हिलोधुलो होस् अगुवापछुवा लाएर ट्यारट्यार र टुरटुर पार्दै हिँड्न नलजाउने, जनताकोमा गएर झूटो आश्वासन मात्रै बाँड्ने काममा संलग्न नहुने हो कि ?

लु न सल्लाहकार महोदयहरू कोही हुनुहुन्छ भने हाम्रा नेता महोदयहरूलाई यो कुरा सम्झाइदिनुपर्यो।

प्रतिक्रिया दिनुहोस्