सम्बन्ध विच्छेदको कारक परेवा



जाकार्ता, (एजेन्सी)

प्रेमको प्रतीक मानिने परेवा इन्डोनेसियामा अब सम्बन्ध विच्छेदको प्रमुख कारण बनिरहेको छ। देशमा सम्बन्ध विच्छेदको आवेदनमा अत्यधिक वृद्धिको प्रमुख कारण परेवाप्रतिको प्रेम भएको सञ्चारमाध्यमले जनाएको छ।

इन्डोनेसियाको केन्द्रीय प्रान्त जाभाको धार्मिक अदालतका एक अधिकारीले उनको कार्यलायमा जुलाईमा सम्बन्ध विच्छेदका लागि ९० आवेदन प्राप्त भएको जकार्ता पोस्टलाई बताएका छन्। देशमा सम्बन्ध विच्छेदनको आवेदन गत जुनको तुलनामा धेरै वृद्धि भएको ती अधिकारीले बताए। जुनमा सम्बन्ध विच्छेदका लागि १३ आवेदन प्राप्त भएको थियो।

उनले भने– ‘अधिकांश आवेदक पत्नीहरू हुन्। उनीहरूले आफ्ना पति परेवा मोहमा फसेकाले आर्थिक उन्नति हुन नसकेको बताएका छन्।’

परेवा उडाउने खेल इन्डोनेसियामा अत्यन्त लोकप्रिय छ, जसमा भाग लिनेहरूले नगद पुरस्कार पनि प्राप्त गर्छन्। ती परेवालाई पाइलट भन्ने गरिन्छ। आफ्ना पति सबै समय घरको सट्टा परेवासँग बिताउने गरेकाले इन्डोनेसियामा महिलाहरू आफ्ना पतिसँग रुष्ट छन्।

आर्थिक संकटले उनीहरूको स्थिति झन् खराब बनाएको छ। धेरैजसो महिला काम गर्छन् तर पुरुष बेरोजगार छन्।

एक महिलाले उनका पतिले कहिलेकाहीँ मात्रै जितेको पैसा दिने गरेको र तर सामान्यतया उनी चुरोट किन्न पनि पैसा माग्ने गरेको जकार्ता पोस्टलाई बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्