जर्मनीमा दूषित अण्डा फ्याँकियो



सिड्नी, (एजेन्सी)
चर्चित सुपरमार्केट आल्डीले जर्मनीस्थित आफ्ना सम्पूर्ण स्टोरहरूबाट बेच्न राखिएका सम्पूर्ण अण्डा फ्याँक्न लगाएको छ। किरा फटेंग्राका कारण ती अण्डा दूषित हुन पुगेको सरकारी सूत्रले शुक्रबार जनाएको छ।

प्रयोगशाला परीक्षणबाट नेदरल्यान्डबाट आयातीत ती अण्डामा मानिसको मृगौला, कलेजो र थाइराइड ग्रन्थीलाई हानि नोक्सानी पुर्याउन सक्ने फिप्रोनिल नामक रसायनिक पदार्थ भेटिएको जनाइएको छ। कुखुरामा जुम्रा र चिलाउने समस्या समाधानका लागि फिप्रोनिलको प्रयोग गरिने गरिन्छ।

एकजना जर्मन अधिकारीले जर्मनीमा कम्तीमा पनि १ करोडवटा यस्ता दूषित अण्डा विक्री भइसकेको बताएका छन्। लायर स्याक्सोनीका लागि कृषि मन्त्री क्रिश्चियन मियरले यदि बालबालिकाले यस्ता अण्डा दिनको दुईवटा खाने गर्दा निकै खतरा हुने जर्मन टेलिभिजनलाई बताएका छन्।

हाल यस सम्बन्धमा अनुसन्धान जारी रहेकाले नेदरल्यान्डका करिब १ सय ८० वटा कुखरा पालन केन्द्र पछिल्ला केही दिनयता अस्थायी समयका लागि बन्द गरिएको छ। डच सरकारी न्यायालयका अधिकारी मारिएके भान डर मोलेनले ती अण्डा प्रदूषित हुनुको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको बताएका छन्।

यसैगरी युरोपेली सुपरमार्केटहरूले यस्ता दूषित अण्डाहरूको विक्री वितरणमा रोक लगाइसकेको छ। तर जर्मनीमा मात्र ४ हजारवटा स्टोर सञ्चालन गर्दै आइरहेको आल्डीले पहिलोपटक अण्डा विक्रीमा रोक लगाएको हो।

बेलायतस्थित आल्डी यूकेका प्रवक्ताले आफ्ना स्टोरमा सम्पूर्ण अण्डा बेलायती रहेकाले दूषित नभएको स्पष्ट पारेका छन्। रोयटर्सले पोल्ट्री फार्म सफा गर्ने क्रममा प्रयोग गरिएको प्रदूषित डिटर्जेेन्ट पाउडरबाट अण्डा दूषित भएको हुन सक्ने जनाएको छ।

तर पोल्ट्री वल्र्डले हाल प्रयोगमा रहेका किटनाशक औषधिलाई अझै बढी प्रभावकारी बनाउने उद्देश्यले त्यसमा जानीजानी फिप्रोनिल मिसाइएको दाबी गरेको छ। विश्वकै सबैभन्दा ठूलो अण्डा निर्यातकर्ता रहेका नेदरल्यान्ड युरोपमा पनि सबैभन्दा बढी अण्डा आपूर्ति गर्ने राष्ट्र हुन्। नेदरल्यान्डले वर्षेनी उत्पादन गर्ने १० अर्बवटा अण्डामध्ये ६५ प्रतिशत निर्यात गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्