उत्तर कोरियाको क्षेप्यास्त्र यात्रुवाहक विमानको नजिक



टोक्यो, (एजेन्सी)
उत्तर कोरियाले प्रक्षेपण गरेको एक अन्तरमहाद्विपीय ब्यालेस्टिक क्षेत्रप्यास्त्र एयर फ्रान्सको एक विमाननजिकै पुगको बताइएको छ।

फ्रान्सका अधिकारीहरूका अनुसार जुन ठाउँमा क्षेप्यास्त्र खसेको थियो, त्यो स्थानमा करिब १० मिनेटअगाडि मात्रै उक्त विमानले उडान भरिरहेको थियो। जापानको राजधानी टोक्योबाट पेरिस गइरहेको उक्त विमानमा ३ सय ३० भन्दा धेरै यात्री थिए।

यद्यपि एयर फ्रान्सले उसको विमान खतराको स्थितिमा नभएको बताएको थियो। तर सावधानीका रूपमा उसले उडान निषेध क्षेत्रको दायरा उत्तर कोरियाको वरपरको इलाका सम्म बढाएको छ। जापान र अमेरिकाले दिएको अनुमानित आँकडामा उक्त विमान क्षेप्यास्त्रबाट १ सयदेखि १ सय ५० किलोमिटरको नजिक रहेको उल्लेख गरेको छ।

अमेरिकाका अधिकारीले त्यस क्षेत्रमा व्यावसायिक उडानमा रहेका विमानहरूलाई क्षेप्यास्त्रको खतराका बारेमा लगातार जानकारी दिइरहेको हुन्छ। बोइङ ७७७ को उडान मार्गअनुसार जुन बेला उक्त विमान जापानको होकाइडो द्विपको पश्चिममा थियो। त्यतिबेला उत्तर कोरियाको क्षेप्यास्त्र हवामा थियो।

अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेप्यास्त्र व्यस्त हवाई क्षेत्र भएरै गएको बताएको छ। पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेविसले भने– ‘यसलाई आकाशतर्फ प्रहार गरिएको थियो र यो जापानको इकोनोमिक जोनमा खस्यो। यो क्षेत्र व्यापारिक पानीजहाज र माछा मार्ने जहाजले प्रयोग गरिरहेको हुन्छ।

एयर फ्रान्सले क्षेप्यास्त्र कहिले पनि विमानको उडान मार्गमा नआएको र शुक्रबारको सेवा समस्यारहित रहेको जनाएको छ। सन् २०१४ मा मेलेसिया एयरलाइन्सको फ्लाइट एमएच १७ बाट पूर्वी युक्रेनमा कथितरूपमा रुसमा बनेको बक क्षेप्यास्त्र प्रहार भएको थियो। उक्त घटनामा विमानमा यात्रा गरिरहेका सबै २ सय ८३ यात्रीको मृत्यु भएको थियो। उक्त विमान आम्स्टर्डमबाट क्लालालम्पुरका लागि उडानमा थियो।

उत्तर कोरियाले गत हप्ता परीक्षण गरेको अन्तरमहाद्विपीय क्षेप्यास्त्रको क्षमता अमेरिकाको मुख्य भूमिलाई निसाना बनाउन सक्ने आकलन गरिएको छ। उक्त परीक्षणलाई लिएर अमेरिकाले कडा चेतावनी दिँदै नयाँ प्रतिबन्ध लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको क्षेप्यास्त्र तथा परमाणु हतियार कार्यक्रमलाई रोक्न युद्धको विकल्प खुला रहेको चेतावनी दिएका थिए। बिहीबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अमेरिका उत्तर कोरियाको शत्रु नभएको तर उनको गतिविधिका कारण कारबाहीका लागि बाध्य भइरहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्