लोक संस्कृति यार्तुङ पर्वको संरक्षणमा जुट्दै मनाङबासी



नेपाल समाचारपत्र, लमजुङ ।

हिमालपारीको जिल्ला मनाङबासीको मौलिक लोक संस्कृतिमा रहेको यार्तुङ पर्व अर्थात् घोडाचडी पर्वको संरक्षणमा जुटेका छन् मनाङबासीहरू ।

पछिल्ला वर्षमा पश्चिमा संस्कृतिको नेपाली समाजमा बढ्दो प्रभावले मनाङ पनि अछुतो रहेन सकेको छैन । टाढाबाढाहरू शहर पस्ने क्रम मनाङ पनि उत्तिकै छ । त्यसैले यो पर्व र यसको ऐसिहासिक सांस्कृतिक महत्व ओझेलमा पर्दै आएको थियो ।

 

विगतमा दुई दिनमात्र मनाईने यो पर्व पाँच दिवसीय रूपमा मनाएर यसको संरक्षणमा जुटेका छन् मनाङबासीहरू । यस पर्वलाई उनीहरूले पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनाई पर्यटन प्रवद्र्धनका कार्यमा समेत सहायक बनाउन आफूहरू जुटेको पर्यटन ब्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताउनु भयो ।

 

उहाँका अनुसार बर्षा यामको अन्त्य हुन लाग्दा साउन महिनामा तथा खेती भित्र्याई सकेपछि कार्तिकको अन्तिम या मङ्सिरको पहिलो सातामा ‘ने’ नामले यो पर्व मनाउने प्रचलन छ । अबका दिनमा हरेक पटक कम्तिमा ५ दिनसम्म निरन्तर सञ्चालन गर्ने सोच रहेको उहाँने यस बताउनु भयो । यसपटक यो पर्वको भरखरै समापन गरिएको छ ।

 

मनाङको मुख्य बालीमा गहुँ, फापर, आलु र स्याउ रहेको छ । जिल्लाबासीहरूमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सदभाव तथा एकताको महत्व समेटेको पाइन्छ । पहिलो दिनमा गाउँका सबैजना भेला भई आ– आफ्ना घोडा लिएर नजिकको गुम्बामा जाने र त्यहाँ पूजापाठ गर्दछन् । पुजा सकेपछि घोडा दौड शुरू गरिन्छ ।

 

यो पर्व मनाउने क्रममा मनाङवासी आफ्नो परम्परागत भेषभूषामा सजिएर परम्परागत रूपमा बाजागाजाका साथ सहभागी हुने गर्दछन् । यस पर्वमा गाउँका युवा तथा वृद्धवृद्धा सबैले घोडा कुँदाएर पर्व मनाउँदै रमाउने गर्दछन् । यसरी घोडा दौडाइँदा प्रथम हुने घोडा निकै महँगो मुल्यमा किनबेच समेत हुने गर्दछ ।

 

यो पर्वको पहिलो दिन गाउँलेहरू एक ठाउँमा भेला भई गाउँ नजिकको पोचो गुम्बामा गहिथिमे बालेर यार्तुङ शुरु गरेका थिए । यसरी तीन दिनसम्म यो क्रम निरन्तर जारी रहन्छ ।

 

यार्तुङको चौथो दिन यो पर्वका सबै भन्दा महत्वपूर्ण दिन मानिन्छ । यस दिन यहाँका युवाले आफूलाई मन परेका युवतीलाई आफ्नो घोडामा राखेर गुम्बा घुमाउने गर्दछन् । गाउँका महिलाहरूले घोडा चढेर आउनेहरूलाई स्वागत गर्न गुम्बामा खादा र सगुन लिएर बस्ने प्रचलन छ । यसरी खादा र सगुन लिई सकेपछि गुम्बामा बत्ती बालेर युवायुवतीले नाचगान गरी रातभर मनोरञ्जन गर्दछन् ।

 

त्यो रातभर गुम्बामा नाचगान चलिरहन्छ । यसरी गुम्बामा नाचगान गर्नाले मित्रता कायम गरी गाउँमा अनिष्ट हुनबाट बचाउने धार्मिक मान्यता रहिआएको छ । यार्तुङको अन्तिम दिन बिहानैदेखि गुम्बामा पूजापाठ शुरु गरिन्छ । दिनभर जस्तो पूजापाठ गरेपछि घोडा दौड प्रतियोगिता गरिन्छ । सबैभन्दा छिटो दौडने घोडालाई वर्षको मूल्यवान घोडा मान्ने र पुरस्कृत गर्ने चलन थियो ।

 

तर यो प्रचलन अहिले छैन । पछिल्ला वर्र्षमा सबै घोडा दौडाउनेहरूलाई खदा लगाई नाचगान गरी यार्तुङको समापन गर्ने गरिएको पर्यटन ब्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताउनु भयो । उहाँका अनुसार यसरी पर्व मनाउँदा यहाँका मानिसमा एकता कायम भई गाउँमा कुनै पनि अनिष्ट नहुने धार्मिक किंवदन्ती छ ।

 

यो वर्ष जिल्लाका टंंकी मनाङ, मनाङ, खाङसार, भ्राका, ङावल, पिसाङ र घ्याँरू गाउँका स्थानीयले धुमधामले यो पर्व मनाएको जानकारीमा आएको छ । तल्लो मनाङमा पर्ने सदरमुकाम स्थित चामेमा पनि यो पर्व मनाइन्छ । तर चामेबासीले यो पर्व फरक समयमा मनाउने गर्दछन् ।

 

मनाङका तत्कालीन १३ गाविसमध्ये माथिल्लो मनाङमा सात गाविस छन् । यार्तुङ पर्व मनाङको प्रमुख चाड भएको जानकारी पर्यटन समितिका अध्यक्ष गुरुङले ‘दिनु भयो । उहाँका अनुसार पहिले यो पर्व २ दिन मात्र घोडा दौडाएर मनाइन्थ्यो ।

 

समय क्रममा यो पर्व लोप हुने अवस्थामा पुगेको र पछिल्लो दिनमा यो यसबाट पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने देखिएका कारण अहिले पाँच दिनसम्म मनाउने गरिएको विनोदको भनाई छ । यसपटक सय बढीले घोडा दौडाएका थिए ।

 

पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने मनाङमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यार्तुङ पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको मनाङबासीको भनाइ छ ।

 

यस पर्वको अर्काे महत्वपूर्ण पक्ष के पनि रहेको छ भने गाउँमा काम सकेर फुर्सदको समयमा सबै भेला भई मनोरञ्जन गरी गाउँमा विकास निर्माण सहित विविध पक्षमा छलफल गर्ने माध्यमका रूपमा पनि यो पर्वलाई विकसित गरी मनाउने प्रचलन रहेको पाइन्छ ।

 

यो समयमा जिल्ला बाहिर रहेका मनाङेहरू जो गाउँमा जान सक्दैनन्ले पोखरा, काठमाडौँमा पनि एक ठाउँमा भेला भई यार्तुङ पर्व मनाउने गरिआएको विनोद गुरुङले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्