स्वाइनफ्लु भेटिएपछि स्याङ्जामा त्रास



 

अमृत अर्याल, स्याङ्जा
स्याङ्जाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको रगत र खकार परीक्षण गर्दा ६ जनामा स्वाइनफ्लु भेटिएको छ।

गत शनिबार केन्द्रमा स्वास्थ्य परीक्षणका लागि आएका २० जना शंकास्पद बिरामीको रगत र खकारको नमुना लिइएको थियो। उनीहरूको काठमाडौंमा परीक्षण गर्दा ५ जनामा इनफ्लुएन्जा ‘ए’ एचवान र एक जनामा इनफ्लुएन्जा ‘बी’ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत यमप्रसाद शर्माले जानकारी दिनुभयो।

यसअघि एक जना वालिङका बिरामीको काठमाडौंमा उपचारका क्रममा स्वाइनफ्लुका कारण निधन भईसकेको छ। स्वास्थ्य केन्द्रले रिपोर्टमा स्वाइनफ्लु पोजेटिभ देखिएका विरामीलाई सम्पर्क गरी थप उपचारको व्यवस्था मिलाएको जनाएको छ। उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वाइनफ्लु भएका बिरामीको नाम भने गोप्य राखिएको छ।

अर्काेतर्फ वालिङमा स्वाइनफ्लु भएका बिरामीलाई दिइने ‘ओसेल्टामाभिर’ नामक औषधिकोसमेत अभाव हुन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। जिल्लामा स्वाइनफ्लु भेटिएपछि सचेत रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। पछिल्लो केही दिनमा वालिङको अवस्था सामान्य बन्दै गएको थियो।

रुघाखोकी तथा ज्वरोका बिरामी केही घटेका थिए तर रिपोर्टमा स्वाइनफ्लु पोजेटिभ आएपछि वालिङमा त्रास वढेको छ। वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूको आकस्मिक बैठक बसेर आफूहरूलाई सुरक्षित पारिदिन भ्याक्सिनलगायतका सामग्री तथा औषधि उपलब्ध गराइदिन स्वास्थ्य विभागलाई आग्रह गरेको केन्द्रका सूचना अधिकारी सिनियर अहेव अधिकृत देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो। वालिङ १४ का खुमप्रकाश अर्यालको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार हुँदाहुँदै स्वाइनफ्लुका कारण निधन
भएको थियो।

स्वाइनफ्लु एचवन एनवन नामक विषाणुका कारण हुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा. प्रवीण घिमिरेले बताउनुभयो। स्वाइनफ्लु लागेमा ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, श्वास फेर्न कठिनाई हुने, घाँटी शरीर तथा टाउको दुख्ने, काप्ने आलश्य हुने, केहीमा झाडापखाला तथा बान्ता हुने अन्त्यमा रोग कडा हुँदै शरीरको प्रतिरक्षा शक्ति कमजोर भई निमोनिया भएर बिरामीको मृत्यु हुने जानकारी दिनुभयो। डा. घिमिरेले यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने तर मासु पकाएर खाँदा भने यो रोग सुँगुरबाट मानिसमा नसर्नेे जानकारी दिनुभयो।

स्वाइनफ्लु भएको रिपोर्ट सार्वजनिक भएपछि वालिङलगायत आसपासका क्षेत्र त्रासदिपूर्ण अवस्थामा रहेको छ। यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म कुनै विधि अपनाएको छैन।
यसले गर्दा मानिसमा अझै त्रास रहने वातारण भएकाले छिट्टै यसको रोगथाममा ध्यान दिन सर्वसाधारण जनताले अनुरोध गरेका छन्। अर्यालको निधन स्वाइनफ्लुबाट भएको भनेर अस्पतालले पुष्टि गरेपछि स्याङ्जाबासीमा त्रास
फैलिएको हो।

यता परीक्षणको रिपोर्ट सार्वजनिक भएलगत्तै थप स्वास्थ्यकर्मीको टोली केही हप्ता वालिङ बस्ने गरी आउने तयारीमा रहेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष एवं वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँणले जानकारी दिनुभयो।

खाँणले सबै नगरबासीलाई अंकमाल नगर्न, हात नमिलाउन, मुखमा मास्क लगाएर हिँड्नलगायतका विशेष कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्