पहिरोले नौ घर विस्थापित, २० घर जोखिममा, सडक यातायात पनि अवरुद्ध



 

प्रताप बानियाँ, म्याग्दी
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा पहिरो जाँदा तीनघर परिवार विस्थापित भएका छन्। पहिरोले पात्लेखेतका थविलाल गर्बुजा, हरि गर्बुजा र लालबहादुर हमाल विस्थापित भएको पात्लेखेतका अर्जुन पराजुलीले जानकारी दिनुभयो।

उहाँका अनुसार बान्द्रेखाल्टी पहिरोका कारण गर्बुजाको ढुंगामाटोले बनेको दुईतले घर पहिरोले बगाएको छ। यसै गरी लालबहादुर हमालको ट्वाइलेट बगाएको छ भने भैंसी बाँध्ने गोठ बग्न लागेको र दुई ओटा घर बस्न नमिल्ने गरी चर्किएको पराजुलीले बताउनुभयो। त्यस्तै हरि गर्बुजाको पनि घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरू विस्थापित भएका छन् भने अर्जुन पराजुलीको भैंसी बाँध्ने गोठ पहिरोका कारण भत्किएको छ।

साविक पात्लेखेत गाविसको ३ र ४ नम्बर वडामा पर्ने बान्द्रेखाल्टी र पाखाखेत पहिरोका कारण ५ घर उच्च जोखिममा परेका छन् भने १५ घर जोखिममा परेको अर्जुन पराजुलीले बताउनुभयो। पहिरोले दीपक माध्यमिक विद्यालयलाई समेत जोखिममा पारेको छ। पहिरोले स्थानीयको सयौं हेक्टर खेतीयोग्य जमिन र खरबारीमा समेत क्षति पुर्याएको छ।
यसैबीच पश्चिम म्याग्दीको मङला गाउँपालिका–५ अर्मनको किमचौरमा बस्ती माथिबाट खसेको पहिरोका कारण ६ घर परिवार विस्थापित भएका छन्। विस्थापित हुनेहरूमा भीमप्रसाद फगामी, दूतबहादुर बुढाथोकी, नीलमति बुढाथोकी, चन्द्रबहादुर फगामी, हरिमाया बुढाथोकी र रामबहादुर फगामी रहेको किमचौरबाट विष्णु राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक गुप्तबहादुर रोकाले जानकारी दिनुभयो।

विस्थापित भएकाहरूलाई उनीहरूको घरमा रहेको सामान नजिकैको सुरक्षित ठाउँमा सारेर राखिएको छ भने उनीहरू आफन्तकोमा आश्रय लिएर बसेको प्रअ रोकाको भनाइ छ। पहिरोका कारण हिमाली जिल्ला मुस्ताङ्लाई जोड्ने राजमार्ग बेनी–जोमसोम सडकखण्ड पनि ठाउँठाउँमा अवरुद्ध भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो। निरन्तरको वर्षाका कारण सो सडकखण्डअन्तर्गत वेगखोला र दानास्थित घट्टेखोलामा पानीको बहाव बढेको छ भने जलथलेमा लेदो र हिलाम्मे हुँदा सवारी आवतजावत ठप्प भएको उहाँले जानकारी दिनुभयो।

त्यस्तै पश्चिम म्याग्दी भेगलाई जोड्ने बेनी–दरबाङ सडकखण्डको घुमाउने भीरको सडकखण्डमा लेदो र बाढी आएपछि सवारी आवागमन रोकिएको प्रनाउ खड्काले बताउनुभयो। निरन्तरको वर्षाका कारण यसअघि अवरुद्ध बेनी–दरबाङ सडकखण्डको लाम्पाटास्थित पहिरो हटाउने कार्य पनि प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्