एमालेले टुंग्यायो उम्मेदवार नयाँलाई साथ पुरानालाई काख



 

कृष्णउदास खनाल, वीरगन्ज
२०७० सालको मंसिरमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा पर्साको पाँचमध्ये तीनवटा निर्वाचन क्षेत्र जित्न सफल भएको नेकपा एमाले पर्साले असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ।

एमाले पर्साले वीरगन्ज महानगरपालिकाका लागि मेयर तथा उपमेयरको नाउँ टुंगो लगाएको हो। तेस्रो चरणको निर्वाचनको दुई नम्बर प्रदेशको सबै दलको समेत आकर्षणका रूपमा रहेको वीरगन्ज महानगरपालिकामा मेयर पदका लागि बसरुद्दिन अन्सारीलाई एमालेले उठाउने निर्णय गरेको छ। तीव्र असन्तुष्टिका बाबजुद पनि अन्सारीलाई एमाले पर्साले उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गराएको हो।

बिग्रिएको एमाले पर्साको ब्यालेन्स मिलाउनका लागि पार्टीले पार्टीका पूर्व जिल्ला अध्यक्ष चिरञ्जीवी आचार्यकी पत्नीलाई उपमेयर बनाउने निर्णय गरेको छ। मेयर पद पठाइएका अन्सारी केही महिना अगाडि मात्रै एमालेमा प्रवेश गरेका हुन्। उनी एमालेमा प्रवेश गरेसँगै पर्सा एमालेमा खैलाबैला मच्चिएको थियो। मेयरकै पदका लागि सिफारिस गरिएका सुन्दर कुर्मीले त पार्टी नै छाडेर फोरममा प्रवेश गरिसकेका छन्। स्थानीय एक मेडिकल कलेजका सञ्चालक रहेका अन्सारी २०७० सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट सभासद्मा उठेका व्यक्ति भएका कारणले पनि उनी पार्टीमा टिक्ने सम्भावना कम भएको भन्दै पुराना एमालेहरूले असन्तुष्ट जनाएका थिए।

सर्वसहमतिबाटै मेयरमा बसरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यको नाम सिफारिस गरिएको एमाले पर्साका जिल्ला अध्यक्ष प्रभु हजराले बताए। उनले बाहिर आएजस्तो पार्टीमा कुनै विवाद नरहेको र वीरगन्ज एमालेले जित्ने सम्भावना प्रबल रहेको दाबी गरे। मेयरमा अन्सारी सहित पुराना एमाले नेता चिरञ्जीवीकी धर्मपत्नीलाई उपमेयरमा एमालेले उठाउने निर्णय गरेपछि पर्सा एमालेमा देखिएको विवाद पनि धेरै हदसम्म मत्थर भएको विश्लेषण गरिएको छ।

अब विवाद गर्ने ठाउँ नै नभएको प्रेस चौतारीका इचार्ज डा. विश्वम्भर शर्माले बताए। नयाँ र पुराना दुवैलाई मिलाइएका कारण विरोध गर्ने अवस्था अब नभएको र एमाले पर्सा अब बलियो भएको तर्क उनको छ। मुसलवान समुदायको ठूलो वर्चश्व रहेको वीरगन्जमा बसरुद्दिनले सजिलैसँग चुनाव जित्ने आँकलन एमाले वृत्तको छ। केही दिन अगाडि वीरगन्ज आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालकै पहलमा अन्सारीलाई मेयरको टिकट दिइएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्