नेपाली बक्सिङमा उतारचढाव



 

 

कविरस शर्मा
विगतका अन्तर्राष्ट्रिय प्रतियोगितालाई हेर्दा नेपाली खेलकूद जगतमा मार्सल आर्ट्सको छवि उच्च रहेको मान्न सकिन्छ। जसमध्येको बक्सिङ खेलको प्रदर्शनलाई पनि सम्मानजनक रूपमा लिइँदै आएको छ। हुन पनि कुनै समय बक्सिङले नेपाली खेलकूद इज्जत धान्दै आएको थियो। पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउँदा बक्सिङ खेलले नै नेपालको प्रतिनिधित्व गरेको थियो। एसियाली होस् वा दक्षिण एसियाली खेलकूद, नेपालले थुप्रै अवसरहरुमा बक्सिङमार्फत अन्तर्राष्ट्रिय पदक भित्र्याइसकेका पनि छन्। तर अहिले बक्सिङमार्फत विगतको साख धुमिल हुन थालेको छ। केही समययता नेपाली जुनियर मुक्केबाजहरुले केही अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रदर्शन गरेका थिए। तर परिणामहरु भने बिर्सनलायक बने। हुनत जुनियर स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले आफ्नो दक्षताअनुसारको प्रदर्शन नगरेका पनि होइनन्। तर खेलाडीलाई आवश्यक हुने न्यूनतम कुरामा समेत त्रुटि हुन थालेको देखिएको छ।

प्रसंग भर्खरै फिलिपिन्समा सम्पन्न एसियन जुनियर बक्सिङ च्याम्पियनसिपको हो।
फिलिपिन्सको पुर्तो प्रिन्सेसा शहरमा अगस्त १ देखि ८ सम्म एसियन जुनियर बक्सिङ प्रतियोगिता जारी छ। सोही प्रतियोगितामा १६ वर्ष मुनिका मुक्केबाज ओम परियारले नेपालको प्रतिनिधित्व गरेका थिए। गत बुधबार भएको ४९ केजी तौल समूहको प्रतिस्पर्धात्मक खेलमा ओम भुटानका मुक्केबाज वाङचुक टान्दिनसँग अंकका आधारमा पराजित भए। वास्तव खेलमा हार जित स्वाभाविक हो। तर कतिपय अवस्थामा यसलाई स्वीकार गर्न त्यति सहज हुँदैन। एकातिर भूटानसँग हार्नु, अनि त्यसमाथि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्टार विहीन प्रशिक्षक पठाएर देशको प्रतिष्ठामा आँच पुर्याउनु ज्यादै दुखद् कुरा हो।

हरेक खेलमा झैँ बक्सिङमा पनि प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने गर्दछ। अझ फाइटको दौरान मिल्ने विश्रामको समयमा खेलाडीलाई प्रशिक्षकको निर्देशन अमृत सरह बन्ने गर्छ। तर ओमको दुर्भाग्य नै मान्नुपर्ला। खेलका क्रममा नेपालबाट उनीसँगै गएका काजकिस्तानका प्रशिक्षक मुख्तार बर्दिमतोभको ठाउँमा अन्य देशका प्रशिक्षक उनीसँगै देखिए। कारण थियो प्रशिक्षक बर्दिमतोभ स्तरको। खेलाडीलाई निर्देशन त परको कुरा, बर्दिमतोभलाई रिंग परिसरमा जान समेत अनुमति दिइएन।

एमेच्योर इन्टरनेसनल बक्सिङ एसोसिएसन (आईबा) ले आयोजना गर्ने कुनै पनि अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने खेलाडीसँगै कम्तिमा पनि वान स्टार मान्यता प्राप्त प्रशिक्षक हुनुपर्ने नियम रहेको छ। जसको प्रमाण बर्दिमतोभसंग थिएन। यो वास्तवमा ज्यादै संवेदनशील कुरा पनि हो। हाल बक्सिङको राष्ट्रिय टोली तयारीमा समेत महत्वपूर्ण भूमिकामा सामेल बर्दिमटोभ भन्दा स्तरीय प्रशिक्षकहरु नेपालमा नै उपलब्ध छन्। जसमध्ये वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा र किरण थापाले थ्री स्टार तथा विष्णुबहादुर सिंहले टु स्टार कोचको मान्यता पाइसकेका छन्। योबाहेक हाल २२ जना नेपाली बक्सिङ प्रशिक्षकसंग वान स्टार को मान्यतासमेत रहेको छ।

यति हुँदाहुँदै पनि नेपाली बक्सिङको सर्वोच्च निकाय नेपाल बक्सिङ संघ अन्जान बन्नु दुखद् कुरा हो। एसियन बक्सिङ कन्फेडरेसनको सहयोगमा नेपाली बक्सिङ विकासका लागि स्तरविहीन प्रशिक्षकलाई नेपालमा खटाउनु भनेको गरिब देशमाथिको हेपाहा प्रवृति नै भन्दा फरक नपर्ला। अनि स्तर नै मापन नगरी विदेशीको बिल्ला ओढ्न साथ सरोकारवाला निकाय लहलहैमा लाग्नु कतिसम्म जायज र गैर जिम्मेवार छ भनेर यसै अनुमान लगाउन सकिन्छ। हुनत खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ वान स्टार कोचको समेत प्रमाण नबोकेका बर्दिमटोभसँग प्रशिक्षणको ज्ञान नै नभएको भने होइन। उनको माग अन्य देशमा पनि रहेको छ। तर विदेशी रिंगमा खेल्दा सवाल देशकै प्रतिष्ठासंग गाँसिने हुनाले यस्तो विषयमा हेलचेक्राइ भनेको देशकै बेइज्जत गर्नु सरह हो।

हुनत नेपाली खेलकूदको स्तरमाथि हुने उतार चढाव कुनै नयाँ रोग होइन। कति बेला कुन खेलका कुन खेलाडीले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय पदक जित्छ भनेर ठोकुवा गरेर भन्न सकिने अवस्था पनि नेपाली खेलकूदमा छैन। अनि एकपटक राम्रो नतिजा ल्याएका खेलाडीले अर्कोपटक लाजमर्दो अवस्थाको सामना गर्नु परेका उदाहरणहरु पनि छन्। वास्तवमा यस्तो हुनुको कारण खेलसँग सम्बन्धित ब्यवस्थापन नै जिम्मेवार हुन्। खेलाडी उत्पादनदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न लायक बनाउनेसम्मको अभिभारा खेल संघको हो। अनि सम्बन्धित खेलका संघहरुले नै सही र गलत छुट्याउने हेक्का राख्दछ।

प्रतिक्रिया दिनुहोस्