सुनापतिका सपना



चिया बगानका रूपमा विकास गर्न सके सुनापति दोस्रो कन्याम बन्न सक्छ।’

मधुसूदन रायमाझी
रामेछापको सुनापति गाउँपालिकालाई समृद्ध बनाउनका लागि जनप्रतिनिधिले योजना अगाडि सारेका छन्। निर्वाचन अघि जनतासँग गरेको प्रतिबद्धताअनुसार नीति तथा कार्यक्रम बनाएर नै गाउँपालिकाले काम अगाडि बढाएको छ। बीस वर्षपछि नागरिकले जनप्रतिनिधि पाएका छन्। निर्वाचनमा जनताको मत लिएर विजयी भएपछि जनप्रतिनिधिको दायित्व र जिम्मेवारी पनि थपिएको छ। निर्वाचनअघि जनतासँग गरेको प्रतिबद्धताअनुसार सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार निर्माण गर्ने बजेट विनियोजन गरेर उनीहरूले काम थालनी गरेका छन्।

निर्वाचनअघि गरेको प्रतिबद्धताअनुसार नै काम गरेको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा बताउनुहुन्छ। ‘हामीले निर्वाचन अघि नसक्ने बाचा गरेका थिएनौं, जे बाचा गरेका छौं, त्यहीअनुसार काम गरिरहेका छौं।’ पाँचवटा वडा रहेको सुनापति गाउँपालिकामा पर्यटन, जलविद्युत् र कृषि नै आर्थिक समृद्धिको आधार हो। गाउँपालिकामा हाल सिन्धुपाल्चोकबाट ल्याएको विद्युत् प्रसारण लाइनमा बारम्बार समस्या आएपछि रामेछापको मन्थलीबाट विद्युत् प्रसारण लाइन जोड्नका लागि गृहकार्य भइरहेको सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्ट (चौलागाईं) ले बताउनुभयो। उहाँले भन्नुभयो– ‘जनताको माग धेरै छ। स्रोतसाधन थोरै छ। केन्द्रबाट आउने बजेट नै मुख्य स्रोत बनेको छ, गाउँपालिकाले पनि अब स्रोत जुटाउने योजना बनाएको छ।’

सुनापति गाउँपालिकाको सबै वडामा सडक पुगेको छ। तर कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन। कालोपत्रेका लागि सर्भे भए पनि बजेट विनियोजन हुन सकेको छैन। गाउँपालिकाका केही क्षेत्रमा अहिले पनि विद्युतीकरण हुन सकेको छैन। गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो– ‘हामीले तीन महिनाभित्र नै उज्यालो सुनापति बनाउने निर्णय गरिसकेका छौं। त्यही योजनाअनुसार काम गरिरहेका छौं।’

गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ हिलेदेवीमा एकीकृत रूपमा बस्तीको विकास गर्ने उद्देश्यले जग्गा किनबेचमा समेत गाउँपालिकाले रोक लगाएको छ। परम्परागत रूपमा बस्ती विकास गर्दा आधारभुत सेवा सुविधा पुर्याउन कठिनाइ हुने भएकाले एकीकृत रूपमा बस्तीको विकास गर्न हिलेदेवीको केही क्षेत्रमा जग्गा किनबेचमा रोक लगाउने निर्णय गाउँपालिकाले गरेको छ।

सुनापति गाउँपालिकाको समृद्धिको प्रमुख आधार पर्यटन हो। झन्डै ३ हजार फिट उचाइमा रहेको सुनापति डाँडा धार्मिक तथा सांस्कृतिक रूपमा प्रसिद्ध रहेको छ। पर्यटन पूर्वाधार निर्माणमा नै गाउँपालिकाले ध्यान दिने नीति लिएको छ।

गाउँपालिकाकी उपाध्यक्ष विष्ट भन्नुहुन्छ– ‘गाउँपालिकालाई पर्यटनमार्फत पनि विकास गर्न सकिन्छ। पूर्वाधार निर्माण हाम्रो पहिलो प्राथमिकतामा रहेको छ।’ गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्नको लागि गुरुयोजना निर्माण गरेर नै काम गर्ने उहाँले बताउनुभयो। राजधानी काठमाडौंबाट करिब १ सय १० किलोमिटर दूरीमा रहेको सुनापति डाँडा पिकनिक स्पोर्टका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ।

स्थानीय बिबी तामाङले सुनापति गाउँपालिकालाई समृद्ध बनाउन र गाउँघरमा नै रोजगारीको अवसर सृजना गर्नका लागि सुनापति डाँडादेखि भाङ्गेडाँडा हुँदै गाल्वासम्म चिया खेती सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘पर्यटनसँग रोजगारीको अवस्था सृजना गर्न सकिने चिया बगान सञ्चालन गर्न गाउँपालिकाले ध्यान दिनुपर्छ, चिया बगानका रूपमा विकास गर्न सके सुनापति दोस्रो कन्याम बन्न सक्छ।’ चियाखेतीका लागि यसअघि माटो परीक्षण भएर चिया खेतीको उपयुक्त भएको सुझाव विज्ञहरूले दिएको उहाँले बताउनुभयो।
सुनापतिदेखि गाल्वासम्म खाली रहेको जग्गामा चिया बगान बनाउने विषयमा गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

रामेछापको तीनवटा गाउँपालिका सुनापति, दोरम्बा र खाँडादेवी जोड्न सुनकोसीस्थित खैरेनीघाटमा पक्की पुल निर्माण नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन्। पुल निर्माण कार्य शुरू भएको आठ वर्ष बितिसक्दा समेत बन्न सकेको छैन। गाउँपालिकाले आगामी एक वर्षभित्र पक्की पुल निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दबाब दिने बताउँदै उपाध्यक्ष विष्टले विकास निर्माणमा हुने ढिलासुस्ती सह्य नहुने बताउनुभयो। ‘अब गाउँपालिकाभित्र हुने सबै विकास निर्माण कार्यको अनुगमन गर्न प्रभावकारी अनुगमनको व्यवस्था गर्ने तयारीमा छौं’, उहाँले भन्नुभयो– ‘जनताको दैनिक आवश्यकता छनोट गरेर विकास निर्माणको कामलाई प्राथमिकता दिन्छौं।’

सुनापति गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्क घिसिङले गाउँपालिकाको समृद्धिको आधार मानिएको सुनकोसी तेस्रो जलविद्युत् आयोजनालाई अगाडि बढाउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने बताउनुभयो। सुनकोसी तेस्रो जलाशययुक्त आयोजना निर्माण भए गाउँपालिकाको मुहार नै फेरिने बताउँदै आयोजना शुरू भए गाउँपालिका केही वर्षभित्र नै समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो। विद्युत् विकास विभागले सुनकोसी तेस्रो जलविद्युत् आयोजनाका लागि परामर्शदाता नियुक्त गरेको बताउँदै घिसिङले समयमा नै सर्भेको काम सम्पन्न गराउनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्