लेखनाथ अधिकारी ।
दिउँसो कार्यालयमा काम गर्दै थिएँ। विदेशको नम्बरबाट फोन आयो। स्वर चिरपरिचित भए पनि ठम्याउन सकिएन। उहाँले ढाकाबाट म प्रदीप बोलेको भन्नुभयो। पंक्तिकारले के छ राजदूतज्यू आराम हुनुहुन्छ नि भन्यो। उहाँले एउटा सहयोग चाहियो भन्नुभयो। के होला भन्नु न भनियो।

उहाँको समस्या विचित्रको थियो। कुरा के परेछ भने महालेखापरीक्षकको कार्यालयले निकाल्ने वार्षिक प्रतिवेदनमा विदेशमा रहेका कूटनीतिक कर्मचारीको बेरुजु करिब १२ करोड रुपियाँ देखिएको थियो। राजदूत र अन्य कूटनीतिक कर्मचारीले भत्तामा कर नतिर्ने गर्नाले यो अवस्था सिर्जना भएको रहेछ।

उहाँले आफ्नो भागमा पर्ने १ लाखभन्दा बढी रकम चुक्ता गरिदिनु भनेर परराष्ट्र मन्त्रालयलाई पठाउनुभएको रहेछ। तर, मन्त्रालयका कुनै पनि कर्मचारी मान्दा रहेनछन्। ‘कहाँ हामी त कूटनीतिक कर्मचारी छुट पाउनुपर्छ।

तपाईंले रकम तिरेर नराम्रो नजिर बसाएर हामीलाई अप्ठेरो पार्ने हुनुभयो। यसो गर्न पाउनुहुन्न’ अर्थात् कर तिर्न पाउनुहुन्न भनेर सबैले ख्याउँख्याउँ गरेछन्। उहाँलाई के गर्नु गर्नु भएछ र पंक्तिकारलाई फोन गर्नुभएको रहेछ। उहाँको यो पिरलोलाई उहाँकै भनाइमा भोलिपल्ट यसै दैनिकमा समाचार छापियो। छापिएपछि झन् हल्लीखल्ली भएछ।

भोलिपल्ट, पर्सिपल्ट अरू पत्रिकामा पनि समाचार छापिए। विदेशमा रहेका कूटनीतिक कर्मचारी पनि खतिवडामाथि खनिएछन्। तपाईंले गर्दा हामीलाई समेत डुबाउनुभयो भन्दै। मन्त्रालयका सबैको असहमतिका कारण अन्ततः मन्त्रिपरिषद् बैठकले नै कूटनीतिक कर्मचारीलाई कर छुटको व्यवस्था गरेको थियो। त्यो अवस्थाले गर्दा राज्यलाई कर तिर्ने उहाँको सपना त्यति बेला साकार हुन पाएन। हुन त अन्य देशमा पनि कूटनीतिक कर्मचारीलाई विभिन्न मुलुकमा उन्मुक्तिको व्यवस्था नभएको होइन। कतिपयमा भत्तामा कर लगाउने व्यवस्था पनि छ।

उहाँलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सोध्नुभएको थियो– ‘राजदूतको बारेमा ओलीले के भनेका हुन् ?’ उहाँले जवाफ दिनुभएको थियो– ‘पत्रकारले सोधेका थिए। उहाँले त्यसबारेमा केही भएको छैन मात्रै भन्नुभएको हो। केही गरिँदैन भन्नुभएको होइन।’

कुरा तिनै व्यक्तिको हो जसको गएको सोमबार राति काठमाडौंको नक्सालस्थित हिमाल नर्सिङ होममा ६८ वर्षको उमेरमा गुमनाम मृत्यु भयो। पारिवारिक मान्छेबाहेक कसैले पत्तो पाएनन्। सोही दिन राति नै अन्त्येष्टि पनि गरियो।

परराष्ट्र मन्त्रालयका उहाँका तत्कालीन समकक्षी पनि भोलिपल्ट आश्चर्यचकित भए। उहाँकी पत्नी हुनुहुन्छ तर छोराछोरी कोही पनि नभएकाले भाइ निर्मल ज्ञानेश्वरको ज्ञानधारा आनन्दभैरव मन्दिरमा काजक्रियामा बस्नुभएको छ। उहाँ झन्डै एक दशकदेखि क्यान्सर रोगसँग लडिरहनुभएको थियो। यो पंक्तिकारले परराष्ट्र मामिलासम्बन्धी रिपोर्टिङका क्रममा झन्डै दुई दशक दर्जनौं कूटनीतिज्ञसँग संगत गर्दा खतिवडाका कतिपय शैली देखेर भने आश्चर्य लाग्थ्यो।

कतिपयको कुरा चपाउने बानी थियो तर कक्षा ९ र १० को बीज गणित पुस्तकका लेखकसमेत रहेका खतिवडाको सूत्रबद्ध शैली थियो– सीधासीधा कुरा गर्ने। उहाँको तीन दशक लामो जागिरे जीवनका विदेश पोस्टिङ कूटनीतिक शब्दमा भन्नुपर्दा अधिकांश समय रिकल (पूरा समय काम गर्न नदिई फिर्ता हुने) क्रमसँग जोडियो। शाही शासनकालमा उहाँ भारतको नयाँ दिल्लीस्थित दूतावासमा डेपुटी चिफ अफ मिसन हुनुहुन्थ्यो भने राजदूतमा कर्णध्वज अधिकारी।

अधिकारीसँग खतिवडाको ठ्याक मिलेन। राजदूत राजाको कदमको समर्थन जुटाउन पहल गर्ने डेपुटी लोकतान्त्रिक दलहरूको माग सम्बोधन हुनुपर्छ भन्ने पक्षमा लबिङ गर्ने। खतिवडाविरुद्धको रिपोर्ट परराष्ट्रमा मात्रै पुगेन कि तत्कालीन राजा ज्ञानेन्द्रसम्म पुग्यो।

उहाँलाई त्यसपछि १ महिनाभित्र फिर्ता आउनू भनेर पुर्जी काटियो र उहाँ फर्किनुभयो। फर्किएर पनि परराष्ट्रमा हाजिर गर्न दिइएन। उहाँलाई निर्वाचन आयोगमा काजमा खटाइयो। राजाले स्थानीय निर्वाचन गराउने कुरा चलिरहेको थियो।

उहाँले कांग्रेस र एमालेलाई नल्याईकन चुनाव गर्नुको अर्थ छैन भनेर सार्वजनिक रूपमा बोलिदिनुभयो। त्यसपछि तत्कालीन सरकारले उहाँलाई जगेडामा फालिदियो। भेटघाट हुँदा भन्नुहुन्थ्यो– ‘लोकतन्त्र त आउँछ आउँछ। यो कसैले रोकेर रोकिन्न। म त अहिले जगेडामा हाजिर गरेर दिन गुजारी रहेको छु।’

उहाँलाई हेर्ने दृष्टिकोण समाजको आँखाअनुसार विभाजित थियो। उहाँलाई राजावादीहरूले अराजक मान्थे भने लोकतन्त्र पक्षधरले हिरो मानेका थिए।

अराजक मान्नेहरूको छोइछिटो कस्तो थियो भने दलहरू बदनाम भएकाले अब केही दशक लोकतन्त्र आउँदैन योसँग हिमचिम गर्नुहुन्न भन्ने मानसिकता देखिन्थ्यो। सरकारी कर्मचारी भएर उहाँ तत्कालीन सरकारको नीतिबमोजिम जान हुन्थ्यो कि हुन्नथ्यो भन्ने छुट्टै बहसको पाटो बन्न सक्ला। तर, उहाँका गतिविधि आश्चर्यलाग्दा हुन्थे।

शाही मन्त्रीहरूलाई नै उहाँले ठाडै तिमीहरू केही दिनका पाहुना त होऊ नि आखिर देशमा लोकतन्त्र आएरै छोड्छ क्यार भन्ने गरेको सुनिन्थ्यो। परराष्ट्र मन्त्रालयमा चुक्ली लाउनेको कमी थिएन। दलहरूसँग जनता रुष्ट भएकाले अब राजाको शासन लामै समय लम्बिएला भन्ने धेरैले सोचेका थिए। त्यसैले खतिवडालाई पेल्नुपर्छ भन्ने भित्रै पनि थिए।

अहिले परराष्ट्र सचिव रहनुभएका शंकरदास वैरागीलाई उपसचिव भएको बेलामा मन्त्रालयको प्रवक्ता बनाइएको थियो। त्यसभन्दा अघि सहसचिव मात्रै प्रवक्ता हुन्थे। त्यसैले शीतलनिवास छिर्दा सहसचिवहरू यो राजावादी भनेर वैरागीलाई उडाइरहेका भेटिन्थे। अर्कातर्फ बाहिर बाहिर आलोचना गर्ने नै पनि उहाँलाई लौ न मन्त्रीज्यूसँग यो कुरा पुर्याइदिनुपर्यो भन्दै चाकडी बजाउने पनि थिए।

राजाका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे परराष्ट्र मामिला बुझेको हिसाबले अब्बल नै भन्दा हुन्छ। त्यसैले राम्रो अंग्रेजी लेख्न सक्ने र जाँगरिलो ठिटो भएकाले काम लिनका लागि वैरागीलाई प्रवक्ता बनाएको बुझ्न कठिन छैन। उहाँ राजाको कदमको समर्थकभन्दा पनि जागिरको हिसाबले काम मान्नुपर्ने बाध्यतामा हुनुहुन्थ्यो।

तर, धेरै अब्बलसँग काम गर्न पनि कर्मचारीलाई गाह्रो। किनकि लटरपटर गर्न पाइएन। मन्त्रीले समाइहाल्छन्। त्यही भएर प्रवक्ता भएर पनि वैरागी खासै बोल्नुहुन्न थियो।

मन्त्रीज्यूलाई सोध्नुपर्छ भन्दै उहाँ अक्सर पन्छिनुहुन्थ्यो। त्यति बेलाको समयअनुसार त्यो अस्वाभाविक पनि थिएन। जब २०६२⁄२०६३ को आन्दोलन सफल भयो अहिले राष्ट्रपति निवास भएको शीतल निवासमा खुसीयाली मनाउन एक साँझ स्याम्पेन फोड्ने कार्यक्रम राखियो। त्यहाँ खतिवडा पनि पुग्नुभएको थियो।

सो कार्यक्रममा सरिक एक कर्मचारीले पंक्तिकारलाई सुनाएअनुसार शाही शासनमा मन्त्रीको भजनकीर्तन गाउनेहरू नै त्यहाँ चुरीफुरी गर्दै लोकतन्त्र आफैंले ल्याएजस्तो गरेपछि खतिवडाले कडा व्यंग्य गर्नुभएको थियो।

उहाँको कड्काइबाट कर्मचारीको अनुहार कालोनीलो भएको थियो। त्यसअघिका सचिव मधुरमण आचार्यलाई शाही सरकारले काजमा संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिका रूपमा न्युयोर्क पठाएको र मन्त्रालयमा रहेका अन्य कर्मचारी जुनियर भएकाले केही समय खतिवडा निमित्त परराष्ट्र सचिव पनि हुनुभएको थियो।

एक दिन तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीसँग एउटा विदेशी प्रतिनिधिमण्डलसँग भेटघाटको कार्यक्रम थियो। भेटघाट सकेपछि कुराकानीका क्रममा हिँड्दाहिँड्दै अरू कुनै पूर्वाग्रह नभई राम्रो समाचार बन्छ भन्ने आशामा पंक्तिकारले ओलीसँग एउटा प्रश्न सोधेको थियो– ‘शाही कालमा नियुक्त भएका राजदूतहरूलाई नयाँ सरकारले के गर्छ ?’ ओलीले त्यसबारेमा कुनै निर्णय नभएको बताउनुभएको थियो। निमित्त सचिव खतिवडा नजिकै मुसुमुसु हाँसिरहनुभएको थियो।

त्यसको केही समयमा नै विभिन्न टेलिभिजन च्यानलहरूमा राजदूतहरूलाई नचलाइने भन्ने व्यहोरामा समाचार आएछन्। भर्खरको आन्दोलनबाट बनेको नयाँ सरकारको यो भनाइ धेरैलाई अपच भएको देखियो। चर्को आक्रोश तत्काल नै पोखिएको पाइयो।

त्यो आक्रोश प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासम्म पनि पुगेछ। ओलीसँगको प्रश्नोत्तरपछि सञ्चारकर्मी मित्रहरूसँग अल्मलिएर करिब १० मिनेटपछि सचिवलाई पनि भेटेर जानुपर्यो भनेर भित्र पसियो। त्यहाँ उहाँ कुनै कागजमा सही गर्दै हुनुहुन्थ्यो। त्यही बेला प्रधानमन्त्रीको पनि फोन आयो। पंक्तिकारकै अगाडि उहाँलाई प्रधानमन्त्री कोइरालाले सोध्नुभएको थियो– ‘राजदूतको बारेमा ओलीले के भनेका हुन् ?’ उहाँले जवाफ दिनुभएको थियो– ‘पत्रकारले सोधेका थिए। उहाँले त्यसबारेमा केही भएको छैन मात्रै भन्नुभएको हो। केही गरिँदैन भन्नुभएको होइन।’ त्यसपछि प्रधानमन्त्रीले फोन राख्नुभएको थियो।

राजदूतको विषयले ओलीलाई एमालेभित्रैबाट पनि अप्ठेरो पर्यो। भोलिपल्ट एउटा सार्वजनिक कार्यक्रममा सो पार्टीका नेता रघुजी पन्तले कडा आलोचना गर्नुभयो। एमालेभित्रैबाट मान्छेहरू खनिन थालेपछि ओली अप्ठेरोमा पर्नुभएको थियो। पर्सिपल्ट बिहान ओलीको कुनै भेटघाट कार्यक्रम भएकाले बाल्कोटमा रिपोर्टिङका लागि यो पंक्तिकारसमेत पुगेको थियो। भेटघाटपछि उहाँ एमालेका केही कार्यकर्तासँग राजदूत मामिलाले अप्ठेरो परेको र आफ्नैले कुरै नुबझी खेदेको गुनासो गर्दै हुनुहुन्थ्यो।

तीन दिनअघि प्रश्न सोध्ने आफैं भएकाले ‘बूढाले रिस पो पोख्छन् कि के हो ?’ भन्ने मनमनै लाग्यो। तर, उहाँले प्रश्न सोध्ने व्यक्ति ख्याल गर्नुभएको रहेनछ। पंक्तिकार आफैंले अस्ति प्रश्न सोधेको मैले नै हो यहाँले केही गर्दैनौं भन्नुभएको त थिएन भनें। उहाँले आफूले त्यति बेला सही नै बोलेको तर पार्टीमा भ्रम परेको बताउनुभयो।

त्यही दिनदेखि शुरू भएको जबर्जस्त दबाबले २००६ को मे ८ मा बसेको मन्त्रिपरिषद् बैठकले शाही कालमा नियुक्त गरिएका विभिन्न १२ जना राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको थियो। त्यसको प्रस्ताव निमित्त सचिव खतिवडाले नै बनाउनुभएको थियो।

त्यति बेला फिर्ता गरिने राजदूतमा कर्णध्वज अधिकारी (भारत), केदारभक्त श्रेष्ठ (अमेरिका), प्रबलशमशेर राणा (बेलायत), नरेन्द्रराज पाण्डे (चीन), पुष्करमानसिंह राजभण्डारी (पाकिस्तान), रमेशानन्द वैद्य (जापान), प्रज्ज्वलशमशेर राणा (फ्रान्स), हिरण्यलाल श्रेष्ठ (रसिया), श्यामानन्द सुमन (कतार), अबुलाइस ठकुराई (साउदी अरेबिया), ताराबहादुर थापा (थाइल्यान्ड) र भिक्ट्री राणा (म्यान्मार) रहनुभएको थियो। राजाको पालामा नियुक्त गरेको भन्ने घानमा करियर डिप्लोम्याट पाकिस्तानका लागि राजदूत राजभण्डारी र कतारका लागि राजदूत सुमनसमेत पर्नुभएको थियो।

ती राजदूत फिर्ता भएको केही महिनापछि नोभेम्बर २००७ देखि २०११ सम्म खतिवडा स्वयं बंगलादेशका लागि राजदूत नियुक्त हुनुभएको थियो।

नेपालमा पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि उहाँ अमेरिकास्थित राजदूतावासमा हुनुहुन्थ्यो। वामपन्थीहरूलाई हेर्ने दृष्टिकोण उहाँको कडा भएकाले त्यति बेलाको सरकारले पनि उहाँलाई ‘रिकल’ गरेको थियो। जर्मनीमा रहँदा तत्कालीन राजदूत नोबलकिशोर राईसँग उहाँको ठाकठुकका कुरा आइरहन्थे।

एउटै व्यक्ति सधैं असल अनि अरू सबै गलत भन्न नमिल्ला। तर, देशमा केही न केही सुधार गरौं भन्ने उहाँको शैलीले अरूलाई अप्ठेरो परेको देखिन्थ्यो। भरिसक्य सूचना दिन पन्छिन खोज्ने तथा सम्पर्कमा आउनै नचाहने जस्ता शैलीमा रमाउनेहरूका लागि उहाँको शैली ठीक विपरीत थियो।

उहाँलाई अराजक हुन भन्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न पनि कतिपय समकक्षीले त्यति बेला पनि नउठाएका होइनन्। त्यो कुरा पनि छुट्टै बहसको विषय बन्न सक्ला।

उहाँ अवकास पाएर बंगलादेशबाट फर्किएपछि एक दिन अचानक फोन गरेर भेट्नुपर्ने काम थियो भन्नुभयो। भोलिपल्ट समय मिलाएर पंक्तिकार कालिकास्थानस्थित उहाँको निवासमा पुगेको थियो। घरमा दुई जना बूढाबूढी त्यसमा पनि अस्वस्थ, सन्नाटा छाएको थियो। सन्तान नहुँदा बूढेसकालको अप्ठेरो त्यहाँ प्रस्टै झल्किएको थियो। पंक्तिकारसँगको उहाँको काम के परेछ भन्ने खुल्दुली लाग्यो।

उहाँले अवकासपछि पाउने पेन्सन रकम बैंकमा जम्मा गर्ने नयाँ नियम ल्याइएको र त्यसका लागि वृद्धवृद्धाहरू त्रिपुरेश्वरस्थित कार्यालयको लाइनमा गएर बस्नुपर्ने अवस्थाले रुनु न हाँस्नु बनाएको गुनासो गर्नुभयो। उहाँ एक दिन जानुभएछ उभिँदा उभिँदा ढाड दुखेर फर्किनुभएछ। दुई जना वृद्धवृद्धा नाजुक अवस्थामा पंक्तिकारका अगाडि रुन थाल्नुभयो।

जनआन्दोलनताका आन्दोलनकारीले हिरो मानेका व्यक्ति त्यहाँ निरीह भएर रोइरहनुभएको थियो। खतिवडा भन्दै हुनुहुन्थ्यो– ‘कस्तो लोकतन्त्र ल्याइएछ बाबु, हैरान भइयो।’ मैले पेन्सनको त्यो कार्यालयमा कुरा पनि गरें। पछि उहाँको काम भएछ। त्यसपछि बेलाबेलामा फोनबाट कुरा भए पनि उहाँसँग लामो समय कुरा भएन।

 

गएको सोमबार राति एक्कासि उहाँ बितेको खबर पाइयो। केही पत्रकार साथीहरूले कहाँ सम्पर्क गर्ने होला भनेर पंक्तिकारसँग सोध्दै हुनुहुन्थ्यो। केहीलाई मैले उहाँकी बहिनी प्रतिभा सुवेदीको नम्बर दिएको थिएँ। परिवारमा पत्नीबाहेक कोही पनि नभएको र सम्पर्क गर्ने मान्छे पनि भएन। उहाँका समकालीन साथीहरूलाई पनि भोलिपल्ट मात्रै थाहा भयो।

एक प्रकारले गुमनाम मृत्यु भयो उहाँको। शाही कालमा उहाँले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा थुनिएका बेलामा भित्रै गएर भेट्नुसमेत भएको थियो। तर, अहिले प्रधानमन्त्री हुँदा उहाँले मृत्युको खबरसमेत पत्रिका हेरेर मात्रै थाहा पाउनुभयो होला सायद।

तत्कालीन प्रधानमन्त्री कोइरालालाई त दूतावासबाटै सहयोग गरेका कारण उहाँ ‘रिकल’ मा नै पर्नुभएको थियो। सामान्य जीवन र उच्चस्तरको सोचाइका उदाहरण हुनुहुन्थ्यो उहाँ। सन् १९७५ मा शाखा अधिकृतको रूपमा सरकारी सेवामा प्रवेश गरेका खतिवडा जोसँग पनि घुलमिल हुन सक्ने र सूचना लिनका लागि अप्ठेरो पर्यो भने रातको १२ बजे पनि उपलब्ध हुने विचित्रको शैलीको हुनुहुन्थ्यो।

वास्तविक जीवनमा पटकपटक ‘रिकल’ मा परेका खतिवडा नेपालको कूटनीतिमा एउटा अलग धार र शैलीको कूटनीतिज्ञ पक्कै हुनुहुन्थ्यो। संसारबाटै बिदा भइसक्नुभएका उहाँलाई अब चाहेर पनि कसैले फेरि ‘रिकल’ गर्न सक्ने छैन।

LEAVE A REPLY