गोबर ग्यास चल्छ जुम्लीको भान्सामा



 

नन्दराम जैसी, जुम्ला
जुम्ला पातारासी गाउँपालिका–६ उर्थुका कृषहरूले गोबर ग्यासको प्रयोगबाट दोहोरो फाइदा लिएका छन्। केही दिनअघि गाउँमा परीक्षण गरिएको गोबर ग्यास प्रविधि सफल भएपछि कृषकले ग्यास प्रयोगबाट दोहोरो फाइदा लिएका हुन्। गाई, भैंसीको गोबरबाट ग्यास बाल्नुका साथै सोही गोबर खेतबारीमा मलका रूपमा पनि प्रयोग गर्न सकिने भएकाले कृषकले दोहोरो फाइदा देखेर गोबर ग्यास प्रविधि रुचाएका छन्।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोग र हिमाली जलविद्युत् उद्यमी संघको प्राविधिक सहयोगमा उर्थुमा गोबर ग्यास बल्न शुरू भएको हो। परीक्षणका रूपमा शुरू भएको गोबर ग्यास प्रविधि हाल उर्थुका दुई घरपरिवारले प्रयोग गरिरहेका छन्। उनीहरूले प्रयोग गरिरहेको गोबर ग्यास हेर्नका लागि छरछिमेकी तथा पाहुनाहरू पनि आउने गरेका छन् भने गाउँका अरू कृषकले पनि गोबर ग्यासको माग गरेका छन्।

उर्थुमा पहिलोपटक परीक्षणका लागि गोबर ग्यास प्रधिवि जडान गर्दा दुईवटै ग्यासको गरी करिब १ लाख ९० हजार रुपियाँ खर्च भएको छ। तर एउटा गोबर ग्यास जडान गर्न ३० देखि ४० हजार रुपियाँसम्म लाग्ने प्राविधिक रिपोर्टले देखाएको छ। एकपटक जडान गरेको ग्यास वर्षाैंवर्षसम्म नियमित प्रयोग गर्न सकिने भएकाले गोबर ग्यास ग्रामीण भेगमा उत्तम देखिन्छ।

ग्यास प्रयोग गरिरहनुभएका कृषक दलबहादुर बुढ्थापाले भन्नुभयो– ‘गाउँघरका कम आयस्रोत भएका व्यक्तिहरूका लागि गोबर ग्यास अत्यत्तै उपयोगी छ।’ पैसाको पनि बचत हुनुका साथै घर सरसफाइमा पनि जोड पुग्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो– ‘गोबर ग्यास बाल्न शुरू गरेपछि दाउराको पनि बचत भयो। खाना पकाउन पनि सहज र छिटो हुन्छ।’ भाँडा तथा घरमा धूलो धूवाँ लाग्दैन। यसले परिवारको स्वाथ्यमा पनि सुधार आएको उहाँको बुझाइ छ।

अर्का कृषक गोर्खबहादुर कठायतले भन्नुभयो– ‘दिनमा ५ देखि १० केजीसम्म गोबर हाल्दा एक दिनका लागि बिहान, बेलुका र दिउँसो खाना नास्ता बनाउन सकिन्छ। ग्यासमा प्रयोग गरेको मल तरकारी तथा अन्य बालीमा हाल्ने गरेका छौं।’ गोबर ग्यास प्रयोग गर्न थालेपछि घरमा वनबाट दाउरा ल्याउनुपर्ने समस्या कम हुँदै गएको उहाँको भनाइ छ। गर्भवती महिला तथा बालबालिकाका लागि पनि सहज भएको छ।
गोबर ग्यास प्रविधि सफल भएपछि गाउँका अन्य कृषकले पनि ग्यास जडान गर्ने सोच गरेका छन्। कृषकले गोबर ग्यास जडान गर्नका लागि घरमा पर्याप्त मात्रामा गाई, भैंसी रहेकाले गोबरको समस्या नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्