मृगस्थलीमा पानी नपाएर छटपटिए मृग



पानी तान्ने पम्प बिग्रिएकामा बनाउन ढिलाइ भएपछि यस्तो अवस्था उत्पन्न भएको हो ।

मधुसूदन रायमाझी, काठमाडौं
पशुपतिको मृगस्थलीमा पालिएका मृगलाई पानीको अभाव उत्पन्न भएको छ। एक महिनाअघि पानी तान्ने मेसिन बिग्रिएपछि मृगस्थली जङ्गलमा रहेका झन्डै २ सय मृगले समयमा पानी पिउन पाएका छैनन्। ती मृग आकाशेपानीको भरमा रहेको बताइएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय परिसरबाट मृगस्थलीमा पम्पमार्फत पानी तानेर मृगलाई खुवाउने गरिएको थियो। महिनौं बितिसक्दा समेत पशुपति क्षेत्र विकास कोषले पम्प बनाउने विषयमा ध्यान नदिँदा मृगहरू पानीका लागि छटपटाउने गरेका छन्।

मृगस्थलीमा पानी तान्ने पम्प बिग्रनु नौलो विषय होइन। वर्षेनी मेसिन बिग्रने गरेको छ। गुणस्तरहीन पम्प खरिद गर्दा वर्षेनी बिग्रने गरेको कोषकै एक कर्मचारी बताउँछन्। उनले नेपाल समाचारपत्रसँग भने– ‘गुणस्तरीय सामग्री प्रयोग गर्दा दिगो हुन्थ्यो, कमिसनको चक्करमा सस्तो मूल्यमा खरिद गरेर जडान गरेपछि वर्षेनी मेसिन बिगँ्रदा मृगलाई पानी खुवाउनै सास्ती भएको छ।’

मेसिन बिग्रिएको एक महिना भए पनि पशुपति क्षेत्र विकास कोषले मेसिन बनाउने कामको प्रक्रिया भने शुरू गर्ने तयारी गरेको छैन। ‘मृगलाई पानी खुवाउन हम्मेहम्मे परिसक्यो, कोषले ध्यान नै दिएको छैन, कोषले अझै पनि हेलचेक्रइइँ गर्ने हो भने अबको केही दिनमा मृगलाई खुवाउने पानीको अभाव हुन्छ।’ –मृगस्थलीमा काम गर्ने एक कर्मचारीले बताए। मृगका लागि २४सै घण्टा पानी तानिँदै आएको थियो। तर कोषले जाँगर नदेखाउँदा मृगस्थलीमा काम गर्ने कर्मचारीहरू पनि हैरान भएका छन्।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले मेसिन बनाउने कामका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मेसिन बिग्रिएकाले मेसिन खरिद गर्ने काम भइरहेको छ, चाँडै हुन्छ होला।’
मृगका लागि पानी अत्यावश्यक भए पनि मेसिन ििग्रएको एक महिनासम्म कोषले विभिन्न बहाना बनाउँदै मेसिन बनाउने काममा ध्यान नदिएको आरोप लागेको छ। पशुपति क्षेत्र विकास कोषका प्रशासन शाखाका कर्मचारी राजु रेग्मीले सार्वजनिक खरिद प्रक्रियाअन्तर्गत सामान खरिद गर्नुपर्ने भएकाले ढिलाइ भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘मेसिन पूरै फेर्ने तयारी भइरहेको छ, पम्पको प्यानल बोर्ड पड्किएपछि काम नलाग्ने अवस्थामा छ।’

तर कोषले बजेटको अभाव देखाउँदै पानी तान्ने मेसिन बनाउन आलटाल गर्दै आएको बताइएको छ। रेग्मीका अनुसार मेसिन खरिद प्रक्रियाको काम अगाडि बढे पनि अझै केही समय लाग्नेछ। उहाँले भन्नुभयो– ‘सबै बनाउनका लागि करिब ३ लाख रुपियाँ जति लाग्छ होला, बजेटभन्दा प्रक्रिया नै लामो छ, विधि र प्रक्रिया मिलाउँदा समय लागेको हो।’

पशुपति क्षेत्र विकास कोषले सदस्यसचिवलगायतका पदाधिकारी नहुँदा पनि मेसिन खरिद प्रक्रियामा ढिलाइ भएको भन्दै पन्छाउँदै आएको छ। पानी तान्ने पम्पका लागि जडान गरिएको ट्रान्समिटर पटक–पटक चट्याङको कारण बिग्रिने गरेकाले पनि समस्या हुने गरेको रेग्मीले बताउनभुयो। मेसिन बिग्रिएपछि हाल आकाशकै पानी मृगलाई खुवाइने गरेको छ।

कोषले समयमा नै प्यानल बोर्ड मर्मत नगर्दा मेसिन नै बिग्रिएको एक कर्मचारीले बताए। मेसिन बिगिँ्रदा मृगलाई मात्र होइन गुह्येश्वरी मन्दिरमा सुरक्षार्थ खटिएका प्रहरी, विश्वरुपा र गोरखनाथ मन्दिरको हेरचाह गर्न बसेकालाई समेत समस्या परेको छ। कोषले निर्माण गर्न लागेको मन्दिर निर्माणमा समेत पानी नहँुदा ठेकेदारले काम स्थगित गरेको बताइएको छ। ती कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘विश्वरूपा नजिक रहेको इनारबाट पानी बोकेर समेत मृगलाई खुवाउने गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्