तीन दरबार अलपत्र



 

ईश्वरराज ढकाल, काठमाडौं
पाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेका तत्कालीन राजाका तीन दरबारलाई संग्रहालय बनाउने भनिए पनि सो योजना अलपत्र परेको छ। कार्यालयले पोखराको रत्न मन्दिर, चितवनको दियालो बंगला र हेटौंडाको कान्तिईश्वरी दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको थियो। गत जेठमा बसेको ३८औं बैठकले तीनवटै दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको हो। तर, चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले बजेट नदिएपछि नेपालमा तीनवटा संग्रहालय थप्ने काम रोकिएको छ। ‘हामीले तीनवटै दरबार संरक्षण गर्न र संग्रहालयको पूर्वाधार निर्माण गर्न करिब ७ करोड रुपियाँ माग गरेका थियौं, सो शीर्षकमा १ रुपियाँ पनि बजेट नआएपछि संग्रहालय बनाउने काम शुरू हुन सकेको छैन।’ –कार्यालयका प्रवक्ता एवं सहसचिव लेखबहादुर कार्कीले बताउनुभयो।

कार्यालयले संग्रहालय बनाउने निर्णय भएलगत्तै करिब ३० लाख थान टिकटसमेत छपाइ गरिसकेको थियो। अहिले ती टिकट कार्यालयको स्टोरमा थन्किएका छन्। ‘संग्रहालय बन्ने निर्णय भएपछि टिकट छापियो अहिले त्यतिकै रहेका छन्।’ –प्रवक्ता कार्कीले भन्नुभयो। तीनैवटा दरबारहरू नेपाल ट्रस्टको नाममा आएपछि ट्रस्टले संरक्षण गर्दै आएको थियो। संरक्षण गरी ऐतिहासिक दरबारलाई संग्रहालय खोल्ने तयारी गरेको ट्रस्टको कार्यालयले संग्रहालय निर्माण गर्न अध्ययन सम्पन्न गरिसकेको थियो।

‘अहिले सबै काम अलपत्र परेको छ। कुन स्थानबाट प्रवेश गराउने, शौचालय कहाँ बनाउने, पार्किङ, टिकट घरलगायतका सम्पूर्ण पूर्वाधार निर्माण गर्ने तयारी गरेको ट्रस्टलाई रकम विनियोजन नगरिएपछि सबै काम रोकिएको छ।’ –प्रवक्ता कार्कीको भनाइ थियो।

राजा महेन्द्रले आफ्नी पत्नी रत्नको नाममा निर्माण गरेको पोखराको रत्न मन्दिर, महेन्द्रको हार्ट अटइक भएर देहावसान भएको चितवनको दियालो बंगला र राजा त्रिभुवनले आफ्नी पत्नीको नाममा निर्माण गरेको कान्ति ईश्वरी दरबारलाई संग्रहालयका रुपमा विकास गरी सर्वसाधारणका लागि खुला गर्ने योजना बनाएको थियो।

ट्रस्टले गरेको बैठकको निर्णय कार्यान्वन गर्ने विषयमा पटकपटक छलफल भए पनि बजेट नपरेका कारण यो वर्ष सञ्चालन हुने अवस्था नभएको ट्रस्टको कार्यालयले जनाएको छ।

तत्कालीन राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र उहाँको परिवार गर्मी याममा रत्न मन्दिर र जाडोमा दियालो र कान्तिईश्वरीमा बस्न जाने गरेका थिए। विकास क्षेत्र भ्रमणको क्रममा तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्र तीनवटै दरबारमा बास बसी जनतालाई भेट्ने गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्रले ती दरबारमा बस्ने खासै मौका पाउनुभएन। राजा वीरेन्द्रको हत्यापछि बनेको नेपाल ट्रस्टको कार्यालयले उहाँ र उहाँको परिवारको नाममा भएका सम्पत्ति संरक्षण गर्न ट्रस्टको कार्यालय स्थापना गरेको थियो। दियालो बंगलाले ५७ बिगाहा, रत्न मन्दिरले २ सय १० रोपनी र कान्तिईश्वरीले १ विगाहा १९ धुर क्षेत्रफल ओगटेको छ।

पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाडेपछि २०६४ सालमा ट्रस्ट स्थापना भएको ट्रस्टसँग करिब २३ हजार रोपनी जग्गा, ४० करोड ८८ लाख ७६ हजार ९ सय ४२ रुपियाँ नगद, ४८ हजार पाउन्ड, १ लाख ३८ हजार डलर, नबिल बैंकको २ लाख ५७ हजार ६ सय ४२, होटल अन्नपूर्णको ३० हजार ७ सय २०, नेपाल औद्योगिक विकास बैंकको ६ हजार ७ सय ५० गरी २ लाख ९५ हजार १ सय १२ कित्ता शेयर छ। ट्रस्ट कार्यालयले गोकर्ण फरेस्ट रिसोर्ट, काठमाडौं प्लाजा, टेकुको बुधबारे र होटल सोल्टी नजिकको केही व्यापारिक भवन भाडामा दिएको छ भने अन्य दरबारहरू आफ्नै कर्मचारीले संरक्षण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्