अस्पतालमा लफडा



 

कृष्णउदास खनाल, वीरगन्ज
चिकित्सकमाथि हातपात भएको घटनाको विरोधमा बुधबार दोस्रो दिन पनि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्षबाहेकका सेवा ठप्प गरिएको छ।

अस्पतालका चिकित्सक र कर्मचारीले दोषीलाई कारबाहीको माग गर्दै अस्पतालको सेवा बन्द गरेर आन्दोलित भएका हुन्। केही दिनअघि अस्पतालको गाइनो वार्डमा कार्यरत डा. चाँदनी पाण्डे, स्टाफ नर्स ज्योति चौधरी र सुरक्षा गार्ड अफताब देवान तथा सादा पोसाकमा रहेका प्रहरी हवलदार अखिल खडकालाई उच्छृंखल युवाहरूको समूहले हातपात गरी घाइते बनाएको घटनाको विरोधमा अस्पतालका चिकित्सक र कर्मचारीहरूले सुरक्षाको माग गर्दै सेवा ठप्प पारेका हुन्। घटनामा संलग्नलाई छोड्ने चलखेल भइरहेकाले कडा कारबाहीको माग गर्दै बुधबार अस्पतालका चिकित्सक र कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

अस्पतालमा काम गर्ने चिकित्सक, कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, आगामी दिनमा यस्ता क्रियालाप हुन नदिने र दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेका छन्। घटनामा संलग्नलाई कारबाही नगरी उन्मुक्ति दिए आफूहरू चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज सिंहले चेतावनी दिनुभयो।

चिकित्सक कर्मचारीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाई ज्ञापनपत्र बुझाउँदै आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए। ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ पौडेलले अस्पतालजस्तो संवेदनशील ठाउँ असुरक्षित रहनु दुखद भएको भन्दै अस्पताललाई भयरहित बनाउन कुनै कसर बाँकी नराख्ने बतानुभयो।

घटनामा संलग्नहरूको पहिचान गरी कारबाही गर्न र त्यस्ता किसिमका गतिविधि नियन्त्रणमा स्थानीय प्रहरीको संयोजनमा काम अगाडि बढाउन लगाउने बताउनुभयो। नारायणी उपक्षेत्रीय अस्पतालबाट विभिन्न प्लेकार्ड बोकेर निस्केको चिकित्सक, कर्मचारीको र्याली जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रममा परिणत भएको थियो।

ज्ञापनपत्र बुझाउन मेडिकल एसोसिएसन पर्साका अध्यक्ष डा. जगदीश अग्रवाल, नारायणी उपक्षेत्रीय अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष हरि गुप्ता, नर्सिङ संघकी अध्यक्ष मुना रानालगायत चिकित्सक एवं कर्मचारीको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्