पोषण सुनिश्चितताका लागि जनप्रतिनिधिको प्रतिबद्धता



 

विष्णुप्रसाद भण्डारी, अछाम
अछामको मंगलसेन नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिकले मंगलसेन नगरपालिकाकमा पोषणको सुनिश्चिताका लागि प्रतिबद्धता जनाएका छन्। आज मंगलसेनमा सम्पन्न संघीय प्रणालीमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन विषयक मंगलसेन नगरपालिकास्तरीय अभिमुखीकरण गोष्ठी जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बोहरा, उप–प्रमुख सरिता उपाध्यायसहित नगरपालिकाको कार्यकारिणी समितिका सदस्यहरू र १४वटै वडाका वडा अध्यक्षहरूले १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्। जस अन्तर्गत सबै बालबालिकालाई अनिवार्य विद्यालय जाने वातावरण सृजना गरी गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, निःशुल्क तथा गुणस्तरीय उपचारका लागि स्वास्थ्य चौकी र नगरमा हालको जिल्ला अस्पतालको स्तरोन्नति गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने, ४५ दिनभित्र जन्म दर्ता गर्न आउने सुत्केरी आमालाई पोषण भत्ता प्रदान गर्नेलगायत १०ओटा प्रतिबद्धता रहेका छन्।

त्यस क्रममा मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बोहराको अध्यक्षतामा नगरस्तारीय पोषण समिति पनि गठन गरिएको छ। नगरपालिकाभित्रका सबै बालबालिकाको पोषणको स्थितिमा उल्लेख्य मात्रामा सुधार ल्याउन यस्तो सामूहिक प्रतिबद्धता गरिएको नगरप्रमुख बोहराले बताउनुभयो। यो प्रतिबद्धतासँगै अब नगरका १४ओटै वडाका आमा र बच्चाहरूको स्वास्थ्य अवस्थामा सुधार आउने नगरउपप्रमुख सरिता उपाध्यायले बताउनुभयो।

मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बोहराको अध्यक्षमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अछामका स्थानीय विकास अधिकारी तोयानारायण सुवेदी रहनुभएको थियो।

युनिसेफको सहयोगमा सञ्चालित पोषण योजनाको आयोजनमा सम्पन्न गोष्ठीमा मंगलसेन नगरपालिकाका उप–प्रमुख सरिता उपाध्याय, कार्यकारी अधिकृत गणेशप्रसाद जैशीसहित नगरपालिकाको कार्यकारिणी समितिका सदस्यहरू र १४ वटै वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

गोष्ठीको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगाना र पोषण योजनाका जिल्ला संयोजक मानबहादुर कुँवरले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक चन्द्रप्रसाद ढुंगानाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्