घरेलु हिंसामा संलग्न दुई पक्राउ



 

चिरञ्जीवी मास्के, दोलखा
जिल्ला प्रहरी कार्यालय दोलखाले घरेलु हिंसामा संलग्न रहेको आरोपमा भीमेश्वर नगरपालिका वडा नम्बर दुईका हरिप्रसाद सुवेदी र बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका कुमार तामाङलाई पक्राउ गरेको छ।

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका हरिप्रसाद सुवेदीलाई श्रीमतीलाई जबरजस्ती विष सेवन गराई मार्न लागेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। हरिप्रसादले सोमबार साँझ ३९ वर्षीया श्रीमती रोजी सुवेदीलाई कुटपिट गरी मार्ने उद्देश्यले विष खुवाएको प्रहरीको आरोप छ। पीडित रोजी सुवेदीलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको थियो। घटनालगत्तै पुगेको प्रहरी टोलीले अभियुक्त हरिप्रसादलाई पक्राउ गरेको र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो।

त्यसै गरी गत जेठ २२ गते बेलुका श्रीमतीलाई अनुहारमा तातो तेल खन्याएर फरार भएका दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका कुमार तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। घरमा खाना बनाउँदै गरेको अवस्थामा ३५ वर्षीया श्रीमती उर्मिला तामाङको अनुहारमा तातो तेल खन्याएर फरार रहेका ३६ वर्षीय कुमारलाई लुकिछिपी बसेको अवस्थामा नाम्दुबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। अभियुक्त तामाङलाई हिरासतमा राखी आवश्यक अनुसन्धान शुरू गरिएको पनि प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्