जाजरकोट जिससमा कांग्रेस–माओवादी गठबन्धन विजयी



 

नेपाल समाचारपत्र
जाजरकोट
जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस–माओवादी गठबन्धनको संयुक्त प्यानल विजयी भएको छ। बुधबार सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन्।

जिल्ला समन्वय समिति जाजरकोटको प्रमुखमा माओवादी केन्द्रका मनबहादुर रावल र उप–प्रमुखमा नेपाली कांग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका छन्।
जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनबाट नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार मनबहादुर रावलको नेतृत्वको संयुक्त प्यानलले ८ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गोरे कार्कीको नेतृत्वको प्यानलले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ।

त्यस्तै सदस्यहरूमा गठबन्धनका तर्फबाट कांग्रेसका तेजविक्रम शाह, कल्दर सिंह, जनक वादी र जनकिरी दमाई निर्वाचित भएका छन्। माओवादी केन्द्रबाट सदस्यमा वीरबहादुर रावत, गरिमा शाही र सरस्वती विष्ट (शाह) निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिएका छन्।
कांग्रेस माओवादी गठबन्धनको सहमतिअनुसार प्रमुखसहित ४ पदमा माओवादी केन्द्रले र उपप्रमुखसहित ५ पदमा नेपाली कांग्रेसले लिने सहमति भएको थियो। गत वैशाख ३१ गते भएको निर्वाचनअनुसार जाजरकोटमा नेकपा एमालेसँग ६, माओवादी केन्द्रसँग ५ र नेपाली कांग्रेससँग ३ मत रहेको थियो।

जाजरकोटलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त जिल्ला निर्माणमा लागिपर्ने नवनिर्वाचित प्रमुख मनबहादुर रावलले प्रतिबद्धता व्यक्त गरेका छन। प्रमुख रावलले जिल्लालाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त जिल्ला निर्माण गरेर देशकै नमुना जिल्लाका रूपमा प्रस्तुत गर्ने बताए। समन्वय समितिका निर्वाचित पदाधिकारीलाई बुधवार नै शपथ खुवाउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्