समन्वय समितिका पदाधिकारीद्वारा शपथग्रहण तथा पदभारग्रहण



नेपाल समाचारपत्र, म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीमा नवनिर्वाचित पदाधिकारीहरुले बुधबार शपथग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको प्रमुखदेखि सदस्य पदको निर्वाचनमा उम्मेदवार भई स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुले शपथग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक कार्यक्रमकाबीच निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरी शपथग्रहण गराइएको हो । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश रामप्रसाद शर्माले नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र उपप्रमुख लोकबहादुर मल्ललाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । यसैगरी प्रमुख केसीले समितिका अन्य पदाधिकारीहरुलाई शपथ खुवाउनुभएको थियो ।

 

जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेबाट प्रमुख पदमा देवेन्द्रबहादुर केसी र उपप्रमुखमा नेपाली कांग्रेसका लोकबहादुर मल्ल निर्वाचित हुनुभएको छ । यसैगरी महिला सदस्यमा एमालेबाट बोमाया गर्बुजा, कांग्रेसबाट खिमकुमारी पूर्जा, रामदेवी पुन, अल्पसङ्ख्यक सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुकमाया छन्त्याल, खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रबाट शेरबहादुर केसी, राप्रपाबाट हरिबहादुर शाक्य र कांग्रेसबाट मेकबहादुर गर्बुजा निर्वाचित हुनुभएको छ । कुल ९ सदस्यीय रहेको जिससमा प्रमुख र उपप्रमुखसहित नौ जनाको मात्रै उम्मेदवारी परेपछि जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित उच्च सरकारी अधिकारी, जिल्लामा क्रियाशिल राजनीतिक दल तथा पत्रकारलगायतको सहभागिता रहेको थियो ।

यसैबीच शपथ ग्रहणलगत्तै बुधबारै नवनिर्वाचित पदाधिकारीहरुले जिल्ला समन्वय समितिको कार्यालयमा पुगी पदभारग्रहण समेत गरेका छन् । समन्वय समितिका प्रमुख देवेन्द्र केसीले ग्रामीण भेगबाट मागभई आएको ग्याबिन जाली सहयोगको निवेदनमा तोक लगाई कार्यभार सम्हाल्नुभएको छ । निमित्त स्थानीय विकास अधिकारी रविन महर्जनसहित जिल्ला समन्वय समितिका कर्मचारीहरुको उपस्थितिमा प्रमुख र उपप्रमुखले आ–आफ्नो पदभार सम्हाल्नुभएको थियो ।

पदभारपछि जिससमा भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित समन्वय समितिका प्रमुख केसीले नेपाल सरकारको नीति, नियम र परिधिभित्र रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताले सेवासुविधा सहज ढङ्गले पाउने गरी समितिका पदाधिकारी, कार्यरत कर्मचारीलगायत सबैको सहकार्यमा अगाडि बढिने बताउनुभयो । यसअघि जिसस म्याग्दीमा नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यालयका कर्मचारीहरुले फुल तथा पुष्प गुच्छा उपहार दिई स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्