शिलान्यासको १६ महिनापछि थालियो क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम शुरु



धन बस्नेत, पोखरा । ४१ वर्षे योजनालाई पोखराबासीले बल्ल पुरा हुने सपना देखेका छन् । शिलान्यासको १६ महिनापछि पोखरा— १४ स्थित छिनेडाडाँमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणकार्य शुरु गरिएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष बैशाख १ गते शिलान्यास गरेका थिए । शिलान्यासपछि अन्यौलता छाईरहेको थियो । लामो समयको प्रतिक्षापछि विमानस्थल निर्माण कार्यको थालनीले पोखराको पर्यटन क्षेत्रमा नयाँ आयाम हुने आशा र विश्वास लिईएको छ ।

चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले लामो समयको बहसपछि विमानस्थल निर्माण कार्य अगाडि बढाईएको जनाए । विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठकमा उनले सबैमा जानकारी गराएका थिए ।

६० कामदार र अन्य प्राविधिक गरी हाल ११० जना व्यक्ति निर्माण प्रक्रियामा संलग्न रहेको जानकारी दिँदै शाखा कार्यालय, अस्थायी शिविर आदिको निर्माण कार्य थालिएको छ । निर्माण कार्यको औपचारिक शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार रहेको स्पष्ट पारे ।

 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण पोखरेली जनताको ४० वर्षभन्दा बढी समयदेखिको सपना भएको बताउँदै निर्माण कार्यको शुरुवातले नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

 

स्थानीय सर्वसाधारणसँग सरोकार राख्ने जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत विषयलाई समेत सम्बोधन गर्दै अघि बढिने बताउँदै उनले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन सबैको सकारात्मक सहयोग अपरिहार्य हुने उल्लेख गरे ।

 

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवम् व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माणको पूर्वतयारीमा लामो समय खर्चिसकेको बताउँदै अब भने आगामी २०२१ जुलाई १० भित्र निर्माण कार्य सकिने जानकारी दिए ।

 

निर्माणाधीन विमानस्थल नजिकै रहेको ल्याण्डफिडसाइडको व्यवस्थापन
गर्न महानगरपालिकालाई र बाँकी जग्गा अधिग्रहणका सम्पूर्ण प्रक्रिया आगामी भदौ १५ भित्र सक्नुपर्ने निर्देशन दिईएको छ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन स्थानीय सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्