देउवालाई आफ्नै मिलाउन अप्ठेरो,पदाधिकारी चयन हुन नसक्दा पार्टीभित्रै आलोचित



नेपाल समाचारपत्र,काठमाडौं
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीभित्रको आन्तरिक भागवण्डा मिलाउन नसक्दा केन्द्रीय कार्यसमितिलाई अझै पूर्णता दिन सक्नुभएको छैन।

साथै, पदाधिकारी मनोनयन र विभिन्न केन्द्रीय विभाग गठन गर्न नसक्दा सभापति देउवा पार्टीभित्रै आलोचित बन्दै जानुभएको छ। महाधिवेशन सम्पन्न भएको २ महिनाभित्रै गरिसक्नुपर्ने कामहरू २ वर्ष बित्न लाग्दासमेत पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिन नसक्दा पार्टी कमजोर भएको भन्दै हालै सम्पन्न केन्द्रीय समिति बैठकमा समेत पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिनुपर्ने बारेमा कुरा उठेको थियो।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेसले अनपेक्षित हार व्यहोर्नुपर्नाका कारणमध्ये एक पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिएर आन्तरिकरूपमा एकढिक्का हुन नसकेको कारण औंल्याइएको थियो। प्रधानमन्त्री पद सम्हालेलगत्तै राष्ट्रिय राजनीतिको चुनौतीपूर्ण कार्य सम्पन्न गर्ने रणनीतिका साथ अघि बढिरहनुभएका प्रधानमन्त्री देउवाले आफ्नै पार्टीभित्रको आन्तरिक व्यवस्थापनमा खासै ध्यान नदिएको भन्दै केही कांग्रेस नेताहरूले पार्टीको संगठनात्मक संरचनाले पूर्णता पाउन अर्को महाधिवेशन कुर्नुपर्ने बताउन थालेका छन्।

कांग्रेसभित्र केन्द्रीय समितिलाई पूर्णता दिन ९ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ। कांग्रेस विधानमा सभापतिले मनोनित गर्नुपर्ने २१ जना केन्द्रीय सदस्यमध्ये पटक–पटक गरी १२ जना मात्रै केन्द्रीय सदस्य मनोनित गर्नुभएको छ। सभापतिले पदाधिकारी सदस्यका लागि महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्ने्छ। नयाँ संरचनाअनुसार प्रदेश समतिसमेत गठन भएको छैन। कांग्रेस विधानमा विभिन्न ४२ वटा केन्द्रीय विभाग गठन गर्नुपर्ने भए पनि यो काम पनि हालसम्म भएको छैन।

कांग्रेस विधानमा सभापतिको अनुपस्थितिमा गर्नुपर्ने भूमिकाका अलावा पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व उपसभापतिले गर्ने प्रावधान भए पनि लामो समयसम्म उपसभापति मनोनयन भएको छैन। पार्टीका कार्यकर्तालाई प्रशिक्षण गर्दै स्थानीय तहबाट आएको सुझावलाई समेटर पार्टीको नीति तय गर्न जस्तो महत्वपूर्ण जिम्मेवारी रहेको प्रतिष्ठानलाई क्रियाशील बनाउन नसक्दा यसको असर आगामी निर्वाचनमा पनि देखिने बताइँदै आएको छ।

असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा निर्वाचन हुँदै छ। २०७४ माघ ७ गतेभित्र प्रदेश र संघीय तहको निर्वाचन हुनेछ। आन्तरिक गुट–उपगुटले कमजोर बन्दै गएको नेपाली कांग्रेसभित्रको संगठनात्मक संरचनाको अपूर्णताले आगामी निर्वाचनमा पनि कांग्रेसले अनपेक्षित हार व्यहोर्नुपर्ने भन्दै कांग्रेस केन्द्रीय सदस्यहरूले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवालाई समयमै पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिन सुझाव दिइरहेका छन्।

विधि संगत् पार्टी सञ्चालन नभएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार पोखरामा आयोजित एक कार्यक्रममा पार्टी सभापति देउवाले राजाको हुकुमी शासनमा जस्तो मनोमानी तरिकाले पार्टी र सरकार चलाएको आरोप लगाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्