प्रणव र संरक्षक फाइनलमा



सम्यकभूषण विरुद्ध प्रतिस्पर्धा गर्दै प्रणव खनाल। तस्वीर उजोल डंगोल

काठमाडौं, (नेस)
प्रणव खनाल र संरक्षकभूषण वज्राचार्य प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन्। प्रणवले सम्यकभूषण वज्राचार्यलाई ६–० र ६–४ तथा संरक्षकले साम्राज्ञ कट्वाललाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे।

यु–१० ब्वाइज सिंगल्समा आरभसम्राट हाडा पहिलो भए। फाइनलमा उनले प्रणव मानन्धरलाई ६–१ र ६–० को सीधा सेटमा हराए। चार खेलाडी सहभागी महिला सिंगल्सको राउन्ड रोविन लिगमा मायांका राणा पहिलो भइन्। अन्तिम खेलमा मायांकाले अभिलाषा विष्टलाई ६–४, ७–५ र ६–३ को सेटमा पाखा लगाउँदै शत प्रतिशत जित निकालिन्।

मायांकाकी बहिनी माहिका २ जितसाथ दोस्रो भइन्। आफ्नो अन्तिम खेलमा माहिकाले विजिशा श्रेष्ठलाई ६–४ र ६–४ को सोझो सेटमा पाखा लगाइन्। अभिलाषाले तेस्रो स्थानमा चित्त बुझाइन्।

यु–१० गल्र्स सिंगल्समा प्रशंसा मोक्तान र रोशनी लिम्बू फाइनलमा पुगे। प्रशंसाले इभा अधिकारीको चुनौती ६–४ र ७–६(५) ले समाप्त पारिन् भने रोशनीले सुनिरा थापाको यात्रा ६–३, ३–६ र १०–८ ले पूर्णविराम लगाइन्।

 

प्रतिक्रिया दिनुहोस्