पूर्वराजा आज थाइल्यान्ड जाँदै,निर्मल निवासमा पारस एक्लै



ईश्वरराज ढकाल, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह आज बुधबार थाइल्यान्ड जानुहुने भएको छ। मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्ज हुनुभएका उहाँ परिवारसहित थाइल्यान्ड जान लाग्नुभएको हो।

यही साउन ४ गते उहा मुटुको उपचार गराउन नर्भिक अस्पताल पुग्नुभएको थियो। उहाँ थाई एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्यान्ड जान लाग्नुभएको हो। उहाँको साथमा पूर्वरानी कोमल र निजी सचिव सागर तिमल्सिना तथा केही सहयोगीहरूसँगै जाने हुनुभएको छ। पूर्वराजा ज्ञानेन्द्र नातिनातिनीलाई घुमाउन थाइल्यान्ड जान लाग्नुभएको हो।

यसअघि गएको असार २२ गते पूर्वयुवराज्ञी हिमानी, छोरा हृदयेन्द्र, छोरीद्वय पूर्णिका र कीर्तिकालार्ई सँगै थाइल्यान्ड लिएर जानुभएको थियो। बिदा मनाउन सबै जना थाइल्यान्ड गएको निर्मल निवासको भनाइ छ। ‘सपरिवार थाइल्यान्ड जाने रहर भएपछि पूर्वराजा सपरिवार थाइल्यान्ड जान लाग्नुभएको हो।’ –निर्मल निवास स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।

पूर्वराजा ज्ञानेन्द्र करिब दुई साताको बसाइपछि नेपाल फर्कने कार्यक्रम रहेको छ। सम्भव भएसम्म स्वाथ्य परीक्षण पनि गरी फर्कने कार्यक्रम रहेको छ।’ –स्रोतले भन्यो। फ्ल्याटमा बस्ने तयारी गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवारले नानी बज्यैसमेत सँगै लैजाने हुनुभएको छ। सपरिवार थाइल्यान्ड गएपछि पूर्वयुवराज पारस मात्रै निर्मल निवासमा बस्नुहुने भएको छ।

चिकित्सकको सल्लाहअनुसार आराम गरिरहनुभएका पूर्वराजाको पछिल्लो स्थास्थ्य अवस्था पूर्णरुपमा सुधार भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्