६ देशका विदेशमन्त्री आउँदै



काठमाडौं, (नेस)
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक)को विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रले निधो गरेका छन्।

सबै सदस्य मुलुकका विदेश मन्त्री सहभागी हुने लिखित जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयको विमस्टेक शाखाले जनाएको छ। ‘प्रतिनिधि मण्डलको विस्तृत टोली संख्या केही दिनभित्रै टुङ्गो लाग्छ, अहिलेसम्ममा विदेशमन्त्रीहरू सहभागी हुने भन्ने लिखित जानकारी आइसकेको छ।’ –परराष्ट्र मन्त्रालयका सह–सचिव एवं विमस्टेक शाखा प्रमुख मणिप्रसाद भट्टराईले भन्नुभयो। १७औं विदेश मन्त्रीस्तरीय बैठक यही साउन २६ र २७ गते काठमाडौंमा आयोजना हुँदै छ।

बैठक २ दिनका लागि तय गरिए पनि २६ गते सदस्य राष्ट्रका परराष्ट्र सचिव सहभागी बैठक सम्पन्न हुने र सोही दिन साँझ विदेश मन्त्रीस्तरीय बैठक शुभारम्भ गर्ने तयारी भएको भट्टराईले जानकारी दिनुभयो। विदेश मन्त्रीस्तरीय बैठक विमस्टेक सम्मेलनपछिको महत्वपूर्ण जमघट हो। यही जमघटले क्षेत्रीय सहकार्यका विविध एजेन्डा पहिचान गर्दै चौथो विमस्टेकको शिखर सम्मेलनको मिति पनि तय गर्न सक्ने बताइएको छ।

विमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य राष्ट्र छन्। सन् २०१४को मार्चमा म्यानमारको ने पि तोमा तेस्रो शिखर सम्मेलनपश्चात् नेपाल विमस्टेकको अध्यक्ष राष्ट्रको भूमिकामा छ।

गत वर्ष नेपालमा चौथो सम्मेलन आयोजना हुनुपर्ने भए पनि नेपालले भूकम्प, भारतीय नाकाबन्दीजस्ता कारण जनाउँदै विमस्टेकका नियमित कार्यतालिका समयमा आयोजना गर्न सकेको छैन। पूर्ववर्ती सरकारले विमस्टेकको चौथो सम्मेलन नेपालमा आयोजना गर्ने विषयको नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ। क्षेत्रीय व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, कृषि र सांस्कृतिक सहकार्यमा विमस्टेकका गतिविधि केन्द्रित छन्।

त्यसै गरी वातावरण र प्रकोप व्यवस्थापन, जनस्वास्थ्य, गरिबी निवारण जस्ता मुद्दामा पनि विमस्टेक केन्द्रित छ।

प्रतिक्रिया दिनुहोस्