प्रधानमन्त्रीको भारत भ्रमणबारे दूतावासमा छलफल,भारतीय राजदूतले मागे राजपासँग धारणा



बीपी साह, काठमाडौं ।
छिमेकी भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका सम्बन्धमा मधेसको असन्तुष्ट पक्ष राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)का नेताहरूसँग छलफल गरेको छ। नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले राजपाका नेताहरूलाई मंगलबार दूतावासमा बोलाएर प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा धारणा माग्नुभएको स्रोतले बताएको छ।

जवाफमा राजपाका नेताहरूले भनेका थिए– ‘प्रधानमन्त्रीको भारत भ्रमण हाम्रो सरोकारको विषय होइन। किनकि पहिला पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गरे पनि हाम्रो माग सम्बोधन भएन। हामी संविधान संशोधन होस् भन्ने चाहन्छौं।’

राजपा नेताहरूको जवाफ– ‘हामीलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग सरोकार छैन। संविधान संशोधनका लागि
पहल होस्।’

मधेसी नेताहरूले सो अवसरमा संविधान संशोधनका लागि पहल गरिदिन आग्रह गरेका थिए। भेटघाटमा राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, शरद्सिंह भण्डारी र महेन्द्र राय यादवको सहभागिता रहेको थियो।

सो अवसरमा भारतीय राजदूत पुरीले राजपालाई निर्वाचनमा सहभागी हुन सुझाव दिनुभएको एक मधेसी नेताले बताएका छन्। मंगलबार बिहान भएको छलफलमा राजदूत पुरीले असोज २ गतेको स्थानीय निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको उनले जानकारी दिएका छन्। बैठकमा सहभागीका अनुसार शुरूको छलफलमा राजपाका नेताहरूले निर्वाचनप्रतिको धारणा राखेका थिए।

उनीहरूले संविधान संशोधन नभएसम्म आफूहरू निर्वाचनमा सहभागी हुन नसक्ने बताएका थिए। राजदूतले भने सहमतिका आधारमा निर्वाचनमा सहभागी हुन राजपाका नेताहरूलाई आग्रह गरेको बुझिएको छ। राजदूतले २ नम्बर प्रदेश महत्वपूर्ण रहेकाले राजपा निर्वाचनमा जानु अनिर्वाय रहेको बताउनुभयो।

यसैबीच राजपाकोे पदाधिकारी बैठक आजबाट शुरू हुने भएको छ। काठमाडौंको बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा बुधबार दिउँसो ११ बजेबाट बैठक शुरू हुने जनाइएको छ।

पार्टीको आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने विषयवस्तुमाथि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको महासचिव मनिष सुमनले बताउनुभयो। उहाँले पदाधिकारी बैठकमा विभिन्न एजेन्डा उपर छलफल हुने बताउँदै आगामी रणनीतिका विषयमा पनि छलफल हुने जनाउनुभयो।

पदाधिकारी बैठक सम्पन्न भएपछि केन्द्रीय समितिको बैठक बोलाइएको छ। यसैबीच बुधबार नै राजपाको नयाँ पार्टी कार्यालयको उद्घाटन हुँदै छ। बबरमहलस्थित मधेसी निजामती कर्मचारी मञ्चको भवनमा सरेको राजपाको कार्यालयको उद्घाटन राजपाका संयोजक महन्थ ठाकुरले गर्ने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्