हल्काराहरुको अनुभवः अहिले त चिठ्ठी देख्दा मानिस तर्किन्छन्



चिरञ्जविी मास्के, दोलखा । दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ३ झ्याकुका बलराम पोखरेलले हल्काराको काम गरेको ३४ बर्ष वित्यो । पैले पैले कतैबाट चिठ्ठी आउदा पाउने मान्छे साह्रै खुशी हुन्थे, उनीहरुको खुशीले काम गर्न उत्साह मिल्थ्यो, तर अहिले त न व्यक्तिगत चिठ्ठी नै आउछ, न चिठ्ठी पाउदा खुशीनै देखिन्छ – पोखरेलले आफ्नो अनुभव सुनाउदै भने ।

आधुनिक प्रविधिको विकास भएपछि अहिले चिठ्ठी पत्र आदान प्रदानको काम निक्कै कम भएको छ । झ्याकु अतिरिक्त हुलाकमा कार्यरत पोखरेल विगतमा एक पटक चिठ्ठी बाड्न जाँदा ५०÷६० वटा त व्यक्तिगत चिठ्ठीमात्र हुने गरेकोमा अहिले सबैखाले गरेर १०÷१५ वटामात्र हुने गरेको बताउछन् ।

 

मैले सुरु सुरुमा जागीर खाएको ४० साल तिर कसैको चिठ्ठी आउदा खुशीले सिंगो गाँउमानै उत्साह हुन्थ्यो, हामी हल्काराहरुलाई पनि सम्मान र माया गर्थे तर अहिले त चिठ्ठी आयो भने पनि तर्केर पो हिड्छन् – पोखरेलले भने । अहिले अधिकांश व्यक्तिगत चिठ्ठी सहकारीको ऋण तिर्ने सम्बनिध हुने भएकोले मानिसहरु चिठ्ठी आउदा खुशीले लिने भन्दा पनि तर्केर हिड्ने गरेको पोखरेलको अनुभव छ ।

 

लामो समय देखि जिल्ला हुलाक कार्यालय चरिकोटमा हल्काराको रुपमा कार्यरत शिवहरी न्यौपाने २०५५÷०५६ सालसम्म चिठ्ठीको महत्व धेरै हुने गरेकोमा त्यसयता यसको महत्व हराउदै गएको बताउछन् । पैले पैले दैनिक ८÷९ सय वटा सम्म चिठ्ठी आउने गथ्र्यौ जसमा २÷३ सय त व्यक्तिगत चिठ्ठीनै हुने गथ्र्यो तर अहिले त व्यक्तिगत चिठ्ठी दैनिक १÷२ वटा पनि देख्न पाईदैन – न्यौपानेले भने ।

सुरक्षा र महत्वको हिसाबले चिठ्ठी उपयुक्त भएपनि आधुनिक प्रविधिको युगमा मोवाई फोनबाटै सबैकुरा हुने भएकोले चिठ्ठीको महत्व हराएको हल्कारा शिवहरीको अनुमान छ । विगतमा हल्कारा देख्नासाथ मानिसहरु खुशीले रमाउथे, अब त हामी जाँदा पनि को आयो को आयो जस्तो गर्छन – न्यौपानेले भने ।

 

विगत ६ महिना देखि जिल्ला हुलाक कार्यालय दोलखामा हल्काराको रुपमा कार्यरत हरिबहादुर खड्का अहिले मानिसलाई व्यक्तिगत चिठ्ठीको बारेमा चासो पनि नहुने र व्यक्तिगत चिठ्ठी खासै आउदा पनि नआउने बताउछन् । सहकर्मी पुराना हल्काराबाट पैले पैले चिठ्ठी बाड्दा पाईने सम्मान, चिठ्ठी पाउनेले व्यक्त गर्ने खुशी आदिको बारेमा सुन्दा दन्तेकथा जस्तो लाग्ने गरेको खड्का बताउछन् ।

जिल्ला हुलाक कार्यालय दोलखामा गत ०७३ माघ देखि चैत्रसम्म जिल्ला भरीको रजिष्ट्रेशन चिठ्ठी स्वदेशी १ हजार १ सय २२ वटा र विदेशी ५ वटा, साधारण स्वदेशी २ सय ४७ वटा र विदेशी २९ वटा, रजिष्ट्रेशन पुलिन्दा मिनि प्याकेट सवदेशी ४ वटा र विदेशी ७ वटा, द्रुत स्वदेशी ६ वटा र विदेशी २ वटा तथा पत्रपत्रिका स्थानिय ३८ वटा र अन्य ९ सय ३ वटा गरी २ हजार ३ सय ६३ वटा पत्र प्राप्त भएको कार्यालय प्रमुख नविनकुमार श्रेष्ठले बताए । जिल्ला हुलाक कार्यालय दोलखामा अहिले सरदर बार्षिक ८÷९ हजार पत्र प्राप्त हुने र त्यसमा पत्रपत्रिका, सरकारी चिठ्ठी तथा सहकारी र स्थानिय एफएम रेडियोमा स्रोताले पठाएको चिठ्ठी बढी हुने जिल्ला हुलाक कार्यालय दोलखाका प्रमुख श्रेष्ठको भनाई छ ।

 

पैले पैले जिल्ला भरी मासिक ७÷८ हजार चिठ्ठी आउने गरेको र त्यसमा व्यक्तिगत चिठ्ठी र पत्रपत्रिका बढी हुने गरेको पनि प्रमुख श्रेष्ठले बताए । विगतमा एक महिनामा आउने चिठ्ठी अहिले एक बर्षमा मुश्किलले आउने गरेको श्रेष्ठको भनाई छ । चिठ्ठी पत्र घट्नुको मुख्य कारण आधुनिक प्रविधिको विकास नै भएको प्रमुख श्रेष्ठ बताउछन् । तर अहिलेको आधुनिक प्रविधि भन्दा हुलाकबाट आउने चिठ्ठी निक्कै सुरक्षित र गोप्य हुने गरेको श्रेष्ठको भनाई छ ।

 

चिठ्ठीपत्र आउने क्रम कम भएपनि अहिले जिल्ला हुलाक कार्यालयले रेडियोको लाईसेनस नविकरण, इजाजत नविकरण, लोकसेवाको फर्म भर्ने, पत्रपत्रिकाको हुलाक दर्ता, केबुल नविकरण, धनादेश सेवा लगाएतको सेवा समेत सुरु गरेको छ ।

 

जिल्ला हुलाक कार्यालय दोलाखमा कार्यरत हल्काराहरु

प्रतिक्रिया दिनुहोस्