संविधान संसोधन नभए विखण्डनकारी शक्तिहरुलाई बल पुग्ने :अध्यक्ष थापा



फिरोज सिद्दिकी, सिरहा ।
सिरहा, साउन १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय जनता पार्टीले उठाएको मुद्दा संशोधन मार्फत सम्बोधन नभए अतिवादी बिखण्डनकारी शक्तिहरुलाई बल पुग्ने बताउनु भएको छ ।

प्रदेश नम्बर २ को निर्वाचनलाई लक्षीत गरी मधेश दौडाहामा रहेका अध्यक्ष थापा मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी सिरहाले लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो कुरा बताउनु भएको हो ।

नेपाली कांग्रेस र वर्तमान सरकारमा रहेका दलहरुले संविधान संसोधनको पक्षमा नरहेको ठोकुवा गर्दै आफ्नो निहित राजनीतिक स्वार्थ पुर्तिका निमित्त राजपाला चुनाव भन्दा बाहिर राख्न चाहन्छ भन्ने विगतका घटना क्रमले पुष्टि गरिसकेको बाताउनु भएको छ ।

उहाँले यही नियतीका कारण अतिवादी शक्तिहरुले फाइदा लिन सक्ने अवस्था सृजना भैरहेको प्रति चिन्ता व्यक्त गर्दै विगतमा आफूलाई प्रमुख भनिने दलहरुको अकरमन्यता, गलतनीति, सत्तालिप्सा र आत्मसमर्पणवादी मानसिकताको कारणले तराईमा विखण्डनकारी प्रवृतिको जन्म भएको हो भन्ने हाम्रो निष्कर्ष रहेको बताउनु भयो ।

पार्टीको स्वार्थभन्दा माथि उठेर राजनीति निकासको लागि ठूला तीन पार्टीहरु काँग्रेस, एमाले र माओवादी केन्द्र गम्भीर हुनुपर्ने धारणा राख्दै राजपालाई पनि चुनावमा सहभागी हुन आग्रह गर्नुभयो ।

अधिकांश समय नेपाली कांग्रेसकै विरोधमा बोलेका अध्यक्ष थापा आफू संविधान संशोधनको पक्षमा र मधेशी जनताको हितमा रहेको स्पष्ट गर्दै यो सरकारमा सहभागी हुने अध्याय समाप्त भईसकेको बताउदै भद्र सहमति अनुसार सरकारमा सम्मानजनक स्थान नदिएपछि आफ्नो पार्टी सरकार वाहिर रहने प्रष्टयाउनुभयो ।

तेश्रो चरणको निर्वाचनमा आफनो पार्टी मधेशबाट सम्मानजनक मत र स्थान पाउने दावी गर्नुभयो । पत्रकार सम्मेलन पश्चात लहानको लोकतान्त्रिक चोकमा रहेको मधेशी शहिदहरुको सालिकमा खाँदा मल्यार्पण गर्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्