सरकारी अस्पतालमा बिजोग, बैतडीमा सिटामोल र आईरन चक्की समेत छैन



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यक सहित एक दर्जनभन्दा बढी औषधीको अभाव हुदा समस्या भएको छ । अति आवश्यक औषधीको सूचीमा पर्ने सिटामोल , आईरन चक्की लगायतका औषधीहरु नपाएपछि बिरामीहरु मर्कामा परेका हुन् ।

आईरन चक्की नपाउदा आफु गर्भवती भएको ६ महिना हुदासम्म पनि आईरन चक्की सेवन नगरेको पाटन नगरपालिका सिद्घश्वरकी ईश्वरी चन्दले बताउनुभयो ।

‘स्वास्थ्य चौकी आउछु आईरन चक्की मिल्दैन ,गर्भवती भएको ६ महिनासम्म पनि आईरन खाएको छैन’ उहाँले भन्नुभयो, “डाक्टरले अनिवार्य रुपमा गर्भवती हुदा आईरन सेवन गर्नुपर्छ भन्नुहुन्छ कहाँवाट खाने ?”

बिरामी भएर स्वास्थ्य संस्थामा पुगेका पाटनका दिनेश अवस्थीले पनि औषधि नपाएको गुनासो गर्नुभयो । ‘स्वास्थ्य संस्थामै औषधि पाईन छोडेको छ’ उहाँले भन्नुभयो, “सरकारले निःशुल्क रुपमा उपलब्ध गराउन औषधी नै मिल्न छोड्यो, मेडिकलवाट किन्ने पैसा छैन”

स्वास्थ्य संस्थामा औषधी अभाव हुदा उपचारमा पनि समस्या भएको पाटन नगरपालिकाको सिद्घेश्वर स्वास्थ्य चौकीका अनमी लक्ष्मी भट्टले जानकारी दिनुभयो । सामान्य ज्वरो आएको बेला दिइने सिटामोल समेत छैन उहाँले भन्नुभयो“गर्भवती महिलाले नियमित सेवन गर्ने आईरन चक्कीको समेत अभाव छ”

गर्भवती महिलाले नियमित रुपमा २२५ दिनसम्म लगातार रुपमा सेवन गर्नुपर्ने आईरन चक्की समेत अभाव रहेको सिद्घेश्वर स्वास्थ्य चौकीका अनमी भट्टले बताउनुभयो । गएको तिन महिनादेखि आईरन चक्की र सिटामोलको समेत अभाव भएको छ उहाँले भन्नुभयो “आईरन चक्कीको समेत अभाव हुदा आमा बच्चाको समेत स्वास्थ्यमा असर पर्ने देखिन्छ”

आजभोली रुघाखोकी, झाडापखाला, भाईरल ज्वरोका बिरामी बढीरहेको भएपनि औषधी नपाउदा उपचारमा समस्या भएको छ ।
बैतडीका स्वास्थ्यसंस्थाहरुमा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । नेपाल सरकारले स्वास्थ्यचौकी मार्फत ३६ प्रकारका औषधि निशुल्क रुपमा उपलब्ध गराउने भनेको भएपनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोद कुमार कुवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्