खाल्डे शैली



 

पाठकवृन्द फेरि खाल्डैका कुरा आए। हाम्रा प्रधानमन्त्रीले सडकका खाल्डा पुर्नका लागि १५ दिनको म्याद दिनुभएकामा त्यो म्याद गएको आइतबार नै पूरा भए पनि अझै काम भने पूर्णरूपमा हुन सकेको छैन। खाल्डा पुर्न ठाउँ–ठाउँमा माटो लगेर फालिएका छन् । तर एकपटक ठूलो पानी आए बगाइहाल्छ। फेरि जस्ताको तस्तै।

राष्ट्रिय ठट्टाको विषय जस्तै बनाइएको छ। तर, सडकका खाल्डा हाम्रोमा मात्रै विवादमा आउने होइन रहेछ। पूर्वी युरोपेली मुलुक युक्रेनमा पनि अहिले यस्तै समस्या रहेछ। त्यहाँको एउटा सडक छेउका जनता छिटो बाटो पुनर्निर्माण गर भन्दा रहेछन्। सरकारी निकाय सुन्दै सुन्दो रहेनछन्।

त्यसैले स्थानीय जनता आन्दोलनमा उत्रिएछन्। आन्दोलनको शैली भने गाडी फुटाउने वा रेलिङ भाँच्ने होइन कि टुलिप नामको फूल लगेर खाल्डा भएको स्थानमा रोप्ने (तस्वीरमा हेर्नुस्)। आन्दोलनकारीहरू भन्दा रहेछन्– ‘यो सानो फूल रोप्दा पनि सरकारी निकायले सुनेनन् भने केही समयपछि ल्याएर हामी ठूला रूख नै रोप्नेछौं। त्यसपछि सरकारले सडक पुनर्निर्माण गर्न पनि पाउनेछैन। सडकको बीचमा रूख देखेर दुनियाँ हाँस्नेछ।’ पाठकवृन्द कस्तो लाग्यो खाल्डा पुर्नका लागि सरकारलाई दबाब दिने यो शैली? त्यहाँ पो युरोप भएकाले भद्र आन्दोलनको सुनुवाइ होला। यहाँ त्यसो गरेमा सुनुवाइ होला त?

प्रतिक्रिया दिनुहोस्