भगवती तिमल्सिना

स्वास्थ्यका क्षेत्रमा नेपालमा जति धेरै उपलब्धि भए उत्तिकै नयाँनयाँ रोग भित्रने र चुनौती थपिने क्रम पनि बढ्दै गएको पाइन्छ। नेपालमा लामो समयदेखिको प्रयासले पछिल्लो समय मलेरिया (औलो) उन्मूलनका क्षेत्रमा निकै ठूलो फड्को मारिसकेको अवस्थामा अफ्रिकाबाट कामको सिलसिलामा गएर फर्किने नेपालीहरूका साथमा आउने गरेको औलो निकै डरलाग्दो खालको भएको नेपालका चिकित्सकहरूको ठम्याइ छ।

विगतमा नेपालबाट अफ्रिकी मुलुकमा कामदार जाने आउने क्रम खासै चलेको थिएन र औलो भित्रने डर पनि थिएन। विस्तारै निर्मूल हुँदै गएको औलोको समस्या अब फेरि अफ्रिकी मुलुकमा कामको सिलसिलामा जाने नेपालीहरूले लिएर फर्किने गरेको पाइएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउनुहुन्छ।

नेपालमा असारदेखि भदौ महिनासम्म औलोको प्रकोप बढ्ने समय हो। विगतको दाँजोमा नेपालको तराई क्षेत्रमा केही संख्यामा देखिए पनि धेरै कम भएको र काठमाडौंमा हालसम्म आयातितबाहेक औलोको समस्या नदेखिएको डा. पुन बताउनुहुन्छ। अफ्रिकाबाट भित्रिएको मलेरिया कहिलेकहीं नेपालमा चलाइरहेको औषधिले समेत निको नहुने समस्या देखा परेको पनि उहाँले जानकारी गराउनुभयो।

‘यति बेला नेपालमै हुने मलेरिया सामान्य हुँदै गएको अवस्थामा भारतर अफ्रिकी मुलुकबाट आयातित मलेरिया नेपालका लागि चुनौतीको विषय बन्दै छ। यसरी भित्रिएका मलेरिया निको पार्न कहिलेकाहीं नेपालमा प्रयोग गर्दै आएको औषधिले समेत काम नगर्ने भएकाले थप सजकता अपनाउनुपर्छ’ डा. पुन भन्नुहुन्छ।

मलेरिया लामखुट्टेको टोकाइको माध्यमद्वारा सर्छ। मलेरिया सार्ने लामखुट्टे नेपालमा पनि प्रसस्त भएकाले रोगी व्यक्तिद्वारा आयातित मलेरिया सर्ने चुनौतीको विषय बन्ने डर छ। भाइभेक्स र फल्सीपारम मलेरियाको प्रजातिमध्येमा फल्सीपारम कडा खालको मानिन्छ। भाइभेक्सको पूरा औषधि नखाएमा पटकपटक दोहोरिने सम्भावना बढी हुन्छ। त्यसैले मलेरिया भएका व्यक्तिले औषधिको कोर्स पूरा गर्नुपर्छ। डा. पुनका अनुसार नेपालमा पहिलाको दाजोमा मलेरियाको प्रकोप धेरै घटेको छ। अफ्रिकाबाट आयातित मलेरिया भने आगामी दिनका लागि निकै ठूलो चुनौतीको विषय हुन सक्छ। यसको उपचारका लागि औषधि नै फरक खालको प्रयोग गर्नुपर्छ। समयमै याता गर्ने व्यक्तिहरू सचेत भई यात्राका समयमा मलेरिया भएको छ या शंका लागेको खण्डमा तत्काल स्वास्थ्य परीक्षण गराई चिकित्सकको निगरानीमा उपचार गराउनु नै उचित उपाय हो।

नेपालमा सन् १९७८ देखि औलो उन्मूलन कार्यक्रम सञ्चालन गरिँदै आएको छ। यसका साथै विश्व औलो दिवसका अवसरमा त सरकारले जनचेतनामूलक विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ। यसका बाबजुद्ध पनि तराई भेगमा खुला सिमाना र बढी गर्मीका कारण लामखुट्टेको विकास छिटो हुने हुनाले वर्षेनी औलो रोगी भेटिने गरेको स्वास्थ्यसेवा विभागले जनाएको छ।

औलो कडा र सामान्य दुई खालको रहेको र सामान्य खालको औलोका बिरामी ठूलै संख्यामा नेपालमा अझै पनि विद्यमान रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ठम्याइ रहेको छ। नेपालले राखेको लक्ष्यअनुसार आगामी १० वर्षभित्र नेपाल पूर्ण औलो मुक्त देश बन्नेछ। स्वास्थ्य मन्त्रालयले सोही आधारमा औलो ग्रसित क्षेत्रलाई जोखिमका आधारमा वर्गीकरण गरी रोगको शीघ्र निदानको कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। नेपाल र भारतबीचको खुला सिमानाबाट आयातित औलो बिरामी, औषधिको प्रतिरोध, औलोको शीघ्र परीक्षण सामग्रीको जथाभावी प्रयोग र आवश्यक कानुनको अभाव नै औलो उन्मूलनका प्रमुख चुनौती रहेको विज्ञहरूको ठम्याइ छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा नेपालमा पनि सन् २००८ देखि विश्व औलो दिवस मनाउन थालिएको हो।

दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका, कोरिया, भुटान, इन्डोनेसिया, माल्दिप्स, म्यानमार, थाइल्यान्ड र टिमोरमा अझै पनि मलेरिया भइनसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

LEAVE A REPLY