ट्राफिक प्रमुख खनाललाई अनुरोध



 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल ट्राफिक प्रमुख भएपछि हाम्रो ठूलै अपेक्षा जाम हटोस् भन्ने हो। जाम हुँदा सर्वसाधारण धेरै समस्यामा परेका छन्। समय खेर गइरहेको छ। सही ट्राफिक व्यवस्थापन नहुँदा पनि धेरै जाम भएको मैले पाएको छु। लामो समय जाम नहुने गरी ट्राफिक व्यवस्थापन गर्न जरुरी छ। यसमा तपाईंले पहल गरेर काम गर्नुपर्छ। कहाँ–कहाँ बढी जाम हुन्छ, किन भइरहेको छ ? त्यो पत्ता लगाएर त्यसको समाधान खोज्न पनि म आग्रह गर्छु।

ट्राफिक प्रहरीले पनि संयमित भएर काम गर्दा केही मात्रामा भए पनि जाम कम हुन्छ। हो, सडकको अवस्था नाजुक छ, खाल्डाखुल्डी धेरै छन्, ट्राफिक लाइट छैन। त्यसले गर्दा पनि काम गर्न समस्या भएको छ। सम्बन्धित निकायहरूको समन्वयमा सबै काम चरण–चरणमा गरेमा यो समस्या छिट्टै हल हुन्छ।
उपत्यकामा जथाभावी पार्किङ गर्ने काम भइरहेको छ। त्यसलाई पनि व्यवस्थापन गर्न जरुरी छ। पैसा असुल्ने ट्राफिक प्रहरीलाई कारबाही गर्नुपर्छ। काठमाडौंमा ट्याक्सी चालकहरूको पनि मनलाग्दी छ। मिटरमा जान नमान्ने चालकमाथि कारबाही गरिने प्रक्रिया खनाल सर तपाईंले गर्नुपर्छ। उपत्यकामा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउने, मोडिफाइ गर्नेहरूमाथि पनि कडा निगरानी राख्न जरुरी छ।

– सागर चलाउने, बलम्बु

जलविद्युत्को सम्भाव्यता अध्ययन जरुरी

नेपाल जलस्रोतका हिसाबले विश्वमै दोस्रो स्थानमा छ। नेपाल जलविद्युत्का हिसाबले निकै सम्भावना बोकेको मुलुक हो। नेपालमा रहेका हजारौं नदीनालाबाट जलविद्युत् आयोजनाहरूको सम्भावना छ। यसको सम्भाव्यता अध्ययन गरेर नेपाललाई सम्पन्न बनाउन सकिन्छ। सरकारले प्रत्येक वर्षको बजेट विनियोजनमा यो शीर्षकमा पनि बजेट विनियोजन गर्न जरुरी छ। अध्ययनका लागि बजेट यकिन नभए पनि प्रत्यक वर्ष एउटा–एउटा मात्रै पनि आयोजना सम्पन्न गर्न सके नेपालले विकासमा फड्को मार्नेछ।

सरकारले तयार पारेको वार्षिक विकास कार्यक्रम (रातो किताब) मा नै बजेटको व्यवस्था गरिनुपर्छ। यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। नेपालका नदी, वनजंगल मात्र हैन प्रकृतिले धेरै कुरामा धनी बनाएको छ। खानी उत्खनन गरे मात्रै पनि नेपाललाई बसी–बसी खान पुग्ने अवस्था छ। नेपालले बर्सेनि अर्बौंको विद्युत् खरिद गरेको हुन्छ। नेपालमै विद्युत् उत्पादन गर्न सकेमा विद्युत् बेचेर देशको आर्थिक उन्नतिसँगै लोडसेडिङबाट मुक्त हुन सकिन्छ। सरकारले यो विषयमा ध्यान देओस्।
– रोशन श्रेष्ठ, ललितपुर

विद्यालय जान वञ्चित किन ?

वर्षाका कारण भेरी नदीमा पानीको सतह बढेपछि सल्यानको बामेका थाँरा, कारागाउँ र पोखराका ५० भन्दा बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन्। पानीको सतह बढेपछि नदीमा डुंगा चलाउन नसक्दा उनीहरू विद्यालय जानबाट वञ्चित भएका हुन्। यसरी वञ्चित हुँदासम्म कसैको ध्यान नजानु दुःखको कुरा हो। सुर्खेतको बजेरीचौरस्थित भानु माविमा पढ्ने ती बालबालिका एक हप्तादेखि विद्यालय जान नसकेको अवस्था छ।

पुल निर्माणका लागि सम्बन्धित निकायले चासो नदेखाएपछि काठको डुंगा बनाइएको थियो। त्यो पनि अहिले चलाउन सकिँदैन, जसले गर्दा वारपार गर्न ज्यादै समस्या भएको छ। नदीमा पुल नहुँदा आउजाउमै समस्या परेको छ। बामे क्षेत्र बन्गाड कुपिन्डे नगरपालिकाको सबैभन्दा विकट बस्ती हो। बालबालिकाको बर्सेनि एक महिनाभन्दा बढी समय पढाइ छुट्ने गरेको अवस्था छ। नेपालको यो एउटा प्रतिनिधि गाउँ मात्रै हो। यहाँ धेरै यस्ता गाउँ छन् जहाँ पढ्नसमेत नपाएर शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छ।

नेपाल सरकारले शिक्षाका लागि धेरै कार्यक्रम ल्याउने गरेको छ। निःशुल्क शिक्षा माध्यमिक तहसम्म भइसक्यो तर कखरा पढ्नसमेत नपाएका गाउँमा सरकारको ध्यान गएको छैन। शिक्षाको बजेट सदुपयोग नभएर हो या के हो ? शिक्षा निःशुल्क र अनिवार्य भए पनि व्यवहारमा त्यो देखिएको छैन। यस विषयमा शिक्षा मन्त्रालयले विशेष कार्यक्रम गर्नुपर्छ। यो अवस्था आखिर कहिलेसम्म ?

– सुधिर तिमिल्सिना, सल्यान

डा. केसी, मेरो पनि समर्थन

राजनीतिक प्रतिबद्धता नआएसम्म डा. गोविन्द केसीले उठाएका माग पूरा नहुने अवस्था छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औं पटक अनशनमा बस्नुभएका डा. केसीको माग पूरा गर्न सरकारले गम्भीरतापूर्वक सोच्न जरुरी छ। डा. केसीको माग पूरा गर्न राजनीतिक प्रतिबद्धता चाहिन्छ।

विगतका सम्झौता पालना गर्नुपर्ने, चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, विद्यार्थी भर्ना शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गर्नुपर्ने, सरकारी निर्देशन र अदालतको आदेशलाई नटेर्ने मेडिकल कलेजलाई कारबाही गर्नुपर्नेलगायत उहाँका माग तत्काल पूरा होस्।

नेपालका माफियाहरूले स्वास्थ्य क्षेत्रलाई तहसनहस पारिसकेको अवस्थामा डा. केसीले राख्नुभएको मागका विषयमा सरकार गम्भीर नै देखिँदैन। हरेक क्षेत्रमा कमिसन र घोटालाको खेलले नेपालको विकास हुन सकेको छैन। नेपालमा यी सबै कुरालाई नियन्त्रण गर्न जरुरी छ। अझ स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सरकार अझ संवेदनशील हुनुपर्ने हो। नेपाल सरकारलाई गम्भीरतापूर्वक मेरो अनुरोध। स्वास्थ्य क्षेत्रलाई ध्यान दिइयोस।

– हरि रोकाया

उदयपुर⁄हालः दोहा कतार

प्रतिक्रिया दिनुहोस्