चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै



 

काठमाडौं, (नेस)
छिमेकी मुलुक चीनका उपप्रधानमन्त्री वाङ याङको नेतृत्वमा एक उच्चस्तरीय चिनियाँ टोली यही महिनाभित्र नेपाल भ्रमणमा आउने भएको छ। उच्चस्तरीय भ्रमण हुने भएपछि दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन्।

वर्तमान सरकार गठन भएको करिब २ महिनापछि चिनियाँ उच्चस्तरीय टोली नेपाल आउन लागेको हो। उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा सो टोली नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली यही महिनाको अन्त्यसम्ममा नेपाल आउने निधो भएको छ’, सो मन्त्रालयका एक अधिकारीले भने– ‘सोही भ्रमणको तयारीमा हामी जुटिरहेका छौं।’

भ्रमण कति दिनको हुने भन्ने टुङ्गो लाग्न बाँकी भए पनि भ्रमणका एजेन्डाबारेमा सरकारले अन्तर मन्त्रालय छलफल अघि बढाइरहेको र दुवै मुलुककातर्फबाट पनि तयारी भइरहेको उनले बताए।

मन्त्रालय स्रोतका अनुसार यसअघि दुवै मुलुकबीच भएका सम्झौता कार्यान्वयन नै भ्रमणको मुख्य एजन्डा बनाउने तयारी भइरहेको छ। भ्रमणकै तयारी स्वरूप नेपालका लागि चिनियाँ राजदूत यु होङले आइतबार मन्त्री महरासँग भेटवार्ता गर्नुभएको थियो।

चिनियाँ उच्च अधिकारी नेपाल आउने निधो भएपछि यही महिनाभित्र मन्त्री महराले गर्ने भनिएको चीन भ्रमण भने रोकिएको छ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि मन्त्री महराको चीन भ्रमण हुने सम्भावना नरहेको परराष्ट्रका अधिकारीहरू बताउँछन्। नेपाल भ्रमणका क्रममा चीनका उपप्रधानमन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्