‘नेपाल–चीनबीचको सैनिक सहयोग सम्बन्ध थप सुदृढ’



 

काठमाडौँ, १६ साउन । चिनियाँ जनमुक्ति सेना स्थापनाको ९०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ स्वागत समारोह आयोजना गरिएको छ ।

यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी वरिष्ठ महासेनानी लिउ स्याओ क्वाङले आयोजना गरेको उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाल–चीनबीचको सैनिक सहयोग सम्बन्ध पछिल्ला दिनमा थप सुदृढ हुँदै गएको बताउनुभयो । हालै दुवै मुलुकका सेनाले गरेको सगरमाथा संयुक्त अभ्यासले सम्बन्धलाई थप प्रगाढ तुल्याएको बताउँदै उहाँले चिनियाँ रक्षामन्त्रीबाट केही महिनाअघि भएको नेपाल भ्रमणले दुवै देशका सैनिकबीचको सहकार्य र पारस्परिक विश्वासलाई प्रवद्र्धन गरेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत यु होङले राष्ट्रिय प्रतिरक्षा चिनियाँ सेनाको मूल लक्ष्य रहेको बताउँदै संयुक्त राष्ट्रसंघीय शान्ति सेनामार्फत विश्वशान्ति प्रवद्र्धनमा चिनियाँ सेनाल् अग्रपंक्तिमा रहेर काम गरिरहेको जानकारी दिनुभयो । वरिष्ठ महासेनानी लिउले सि चिनफिङको सबल नेतृत्वमा चिनियाँ सेनाले शान्ति र समृद्धिको चाहनालाई मुखरित गरिरहेको छ भन्नुभयो । समारोहमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वरक्षामन्त्री, पूर्वप्रधानसेनापति, नेपाली सेनाका उच्चपदस्थ अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्