२ नं. प्रदेशको चुनाव मधेश केन्द्रित दलहरुसंग मिलेर लड्ने प्रचण्डको तयारी



लक्ष्मी कुमार साह, महोत्तरी ।
प्रदेश नम्बर २ को स्थानीय निकायको चुनाव मधेश केन्द्रीत दलहरुसंग मिलेर लड्ने गठबन्धन बनाएर लड्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

सोमबार विहान चुनावी तयारीको प्रशिक्षणका लागि जनकपुर जाने क्रममा महोत्तरीको बर्दिवासमा संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले आगामी असोज २ गते हुने प्रदेश नं. २ को स्थानिय निकायको चुनाव मधेस केन्द्रित दलहरुसंग गठबन्धन गरेर चुनावमा जाने बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश नं. २ को तेस्रो चरणको स्थानिय निकायको चुनावमा मधेश केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी, लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमसंग गठबन्धन बनाई चुनाव लड्ने हाम्रो धारणा रहेको बताउदै यस अघि संघीय लोकतान्त्रिक शक्तिबीच दलिय गठबन्धन बनाएर चुनाव लड्ने निर्णय समेत गरिसकेका जानकारी गराए ।

उनले तेश्रो चरणको चुनावमा राजपालाई सहभागी गराउनुपर्नेमा समेत हाम्रो जोड रहेकोले हामी राजपालाई सहभागी गराएर चुनाव गराउने वातावरण बनाउन लागि परेको सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफको क्रममा बताए ।
उनले संविधान संसोधनको लागि दुई तिहाई आवश्यक रहेकोले हामी संविधान संसोधन र चुनावमा केन्द्रीत हुनेगरि अगाडि बढिरहेका छौं तर एमाले संविधान संसोधनको विपक्षमा भएकाले केही अप्ठयाराहरु छन् जुन कि एमाले विनापनि हुनसक्छ र हामी यसमा प्रयासरत छौं भनी बताउदै संविधान संसोधन भयो भने देशमा राजनितिक संक्रमणकाल अन्तय समेत हुनेमा उनी विश्वस्त छन् ।

उनले प्रदेश नम्बर २ मा अझैपनि स्थानीय निकायको संख्या बढ्न सकने सम्भावना रहेको भन्दै सरकारको निर्णय सर्वोच्चले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ तर साउन १७ गते यदि अदालतले सरकारको निर्णय कार्यान्वयन गर्न फुकुवा गरिदियो भने स्थानीय निकायको संख्या प्रदेश नम्बर २ मा बढ्न सक्छ । संख्या बढ्यो भने राजपाको माग सम्बोधन हुन्छ भनी जानकारी गराए ।

सो चुनावी तयारीको प्रशिक्षणका लागि पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकास, माओवादी केन्द्रका महासचिव रामबहादुर थापा बादल लगायतका केन्द्रीय स्तरका नेताहरु काठमाण्डौंबाट जनकपुर पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्