तेक्वान्दो ग्राण्ड मास्टर राई र संगीतकर्मी दुमीको ‘एक बारको जीवन’



रामधन राई, खोटाङ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वमा चिनाउँने गरी स्वर्ण पदक दिलाउँन सफल गौरबशाली ब्यक्तित्व तेक्वान्दो ग्राण्ड मास्टर राजकुमार राईले आफ्नो परिचयलाई खेलाडीमा मात्र सिमित गरेनन् । तेक्वान्दो खेलमार्फत नेपाललाई अन्तराष्ट्रिय स्वर्ण पदक दिलाएका कीर्तिमानी खेलाडी राजकुमार राईले कुनै समय नेपाली कथानक चलचित्र ‘द कमाण्डो’मा निर्वाह गरेको कमाण्डो अर्थात नायकको भूमिकाबाट सर्वत्र तारिफ पाएका थिए । राष्ट्रिय भावनाले ओतप्रोत ‘द कमाण्डो’मा उनले एक देशभक्तका रुपमा सशक्त भूमिका निभाएका थिए । त्यो अझैसम्म पनि स्मरणीय नै छ ।
साबिक खोटाङको उत्तरी गाबिस सप्तेश्वर (हालको केपिलासगढी गाउँपालिकाभित्र पर्ने) मा जन्मेका उनै राईले जीवनको पछिल्लो काल खण्डलाई नेपाली गीतसंगीतमा धमाधम उतार्दै छन् । तेक्वान्दोबाट उ जमानामा नै सेभेन डाँन गरेका राईको शब्द तथा संगीतमा रहेको पछिल्लो गीत ‘एक बारको जीवन’ हालै सार्वजनिक भएको छ । हालको लागी लिरिकल रुपमा सार्वजनिक गरिएको उक्त गीतमा सन्तोष दुमीको स्वर रहेको छ भने गीतको एरेञ्ज बिकाश गुरुङले गरेका छन् । हाल क्यानडामा बसोबास गर्दै आएका राईले लेखेका ‘डोको नाम्लो दाउरा र घाँस..’ लगायतका चर्चित गायकगायिकाले गाएका गीतहरु यसअघि पनि बजारमा आई सकेका छन् । राईको सिर्जनामा राष्ट्रियता तथा गाउँले जनजीवन झल्केको पाईन्छ ।
राष्ट्रिय गौरबका मान्यवर ब्यक्तित्वसँग सांगीतिक सहकार्यमा जुट्न पाउँदा गर्ब महशुष भएको गायक तथा संगीतकार सन्तोष दुमीको भनाई छ । दशक अघिदेखि नेपाली गीतसंगीतको क्षेत्रमा स्थापित भई चर्चा बटुल्न सफल गायक तथा संगीतकार दुमीका अनुसार राजकुमार राईको गीतसंगीतमा फरक र नौला लाग्ने तर गाउँबस्तीभित्रकै निख्खर स्वाद पाउन सकिन्छ । बिकासले फड्को मारेको पल्लो भुगोलमा बसेर पनि गीत तथा संगीतको माध्यमबाट तापखोला र रावाखोलाको सेरोफेरो बोलिरहने ग्राण्ड मास्टर, नायक राईप्रति स्थानीय सदैब श्रद्घा र सम्मान गरिरहन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्