एनटीसीमा फोन आउँदा बोनस पाइने



 

काठमाडौं, (नेस)
नेपाल टेलिकमले जीएसएम र सीडीएमए तथा एडीएसएल र एफटीटीएच सेवाका ग्राहकका लागि प्रमोसनल अफर ल्याएको छ। अफरअनुसार टेलिकमले विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस दिने जनाएको छ। टेलिकमका अनुसार यो अफर सोमबारदेखि लागू भई ९० दिनसम्म उपलब्ध हुने छ।

टेलिकमका अनुसार जीएसएम र सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले १ सातामा ७ मिनेट वा त्योभन्दा बढी विदेशबाट आएको कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्कभित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन्।

त्यस्तै अफरअन्तर्गत अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट करसहित मासिक १ हजार रुपियाँमा उपलब्ध हुनेछ। पहिले मासिक १ हजार १७ रुपियाँमा २ सय ५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो।

यस्तै टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाएको छ। पहिले २१ जीबी डाटाको लागि १ हजार ९ सय ८० रुपियाँ शुल्क लिइएकोमा अब १५ जीबी डाटा ३ सय रुपियाँमै उपलब्ध हुने टेलिकमको प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी २५ जीबी डाटाको ५ सय रुपियाँ र ४० जीबीको डाटाको मूल्य ७ सय रुपियाँ तोकिएको छ। यी डाटाको गति १ एमबीपीएस सम्म हुने टेलिकमले जनाएको छ।

टेलिकमले दर्ता शुल्क पनि घटाएको छ। पहिले दर्ता शुल्क कर वाहेक ५ सय रुपियाँ भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक ३ सय रुपियाँ र अनलिमिटेड डाटाको लागि २ सय रुपियाँ दर्ता शुल्क तोकिएको छ।

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा दोब्बर भोलुमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। योजनाअनुरूप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेजअन्तर्गत ३ महिनाका लागि २ सय ४० जीबी, ६ महिनाका लागि ५ सय जीबी र १२ महिनाका लागि १२ सय जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२ सय जीबी डाटा प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्