चिनियाँ राष्ट्रपतिद्वारा सेनालाई सम्बोधन



 

बेइजिङ, (एजेन्सी)
जनमुक्ति सेना (पीएलए) को ९०औं वार्षिकोत्सवको उपलक्षमा आइतबार आयोजित सैनिक परेडको दौरान चिनियाँ राष्ट्रपति सी जिन पिङले आफूमाथि आइलाग्ने सम्मपूर्ण शत्रुलाई परास्त गर्न सक्षमअर्थात् विश्वकै उच्चकोटीको चिनियाँ सेना निर्माण गरिनुपर्ने बताएका छन्।

सन् २०१२ मा सत्तामा पुगेदेखि नै सीले विश्वकै सबैभन्दा ठूलो आकारको पीएलएमाथि सत्तारुढ कम्युनिस्ट पार्टीको नियन्त्रण कायम राख्न र सेनालाई शक्तिशाली बनाउन हरसम्भव प्रयास गर्दै आएका थिए।

हिजोको परेडमा १२ हजार सैनिक र करिब ७ सय वटा विमानले भाग लिएका थिए। चिनियाँ रक्षा मन्त्रालयले पहिलोपटक राष्ट्रपति सीले यत्रो विशाल परेड अवलोकन गरेको जनाएको छ।

भित्री मंगोलयाको स्वायत्त क्षेत्रमा रहेको विस्तारित झुरिहे सैनिक तालिम अखडामा सैनिक पोशाकमा उपस्थित भएको उनले भनेका छन्– ‘विश्वमा शान्ति छैन। त्यसैले शान्तिलाई सुरक्षा दिइनुपर्दछ। हामीले इतिहासको अन्य कालखण्डमा भन्दा अहिले चिनियाँ सेनालाई धेरै शक्तिशाली बनाउनु आवश्यक रहेको छ।’ साथै सीले पीएलएलाई पार्टीको पूर्ण नेतृत्वप्रति सदैव अडिग रहन र पार्टीले देखाएको दिशामा अघि बढ्न पनि आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्