फेवातालमा जिप खस्दा एकको मृत्यु



 

नेपाल समाचारपत्र
पोखरा
शनिबार राति फेवातालमा जिप खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। खहरे हुँदै पामे पुग्ने सडक खण्डको रातोमाटो डाँडाको मुनि सडकबाट जिप तालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। रातोमाटो डाँडामुनिको घुम्तीमा चिप्लिएर जिप सडकदेखि झन्डै ५० मिटर तल पानीमा खसेको थियो। वर्षायामले अहिले तालमा पानीको सतह बढेको छ भने जलकुम्भी झारसमेत बढेको छ।

मृत्यु हुनेमा भोजपुर पाल्तेका अन्दाजी ३० वर्षीय रामप्रसाद राई रहेको छ भने घाइते हुनेहरूमा टीकाराम राई, दिपसन राई, ध्यानबहादुर राई, भक्तबहादुर राई, विष्णु राई रहेका छन्। उनीहरूको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ।
पोखरा लेखनाथ महानगरपालिका–२६ सेदीस्थित राति साढे १० बजे ग१य ८७९ नम्बरको जिप दुर्घटना भएको हो। कामको सिलसिलामा केही दिनअघि भोजपुरबाट पोखरा आएको र घुम्ने क्रममा दुर्घटना भएको घाइते टीकाराम राईले बताए। पोखरा जोमसोम सडक खण्डमा चल्ने उक्त जिप हिमालयन होटेलको रहेको जनाएको छ। जिप चालक विकास राईले आफ्नो गाउँले साथीभाइलाई शनिबार जोमसोमबाट फर्केपछि पामेमा माछा खान जान आग्रह गरेका थिए।
गाडी घुम्तीमा नमोडी सिधै तालमा खसेको थियो। पछि चालक फरार भएपछि र सामान्य घाइते भएका टीकारामले ढोका खोली निस्किएका थिए। घाइतेको उद्धार गरी फिस्टेल हस्पिटल पुर्याएका थिए। घाइते पाँचमध्ये दुईको अवस्था गम्भीर छ भने बाँकी तीन जना खतरामुक्त छन्।

प्रतिक्रिया दिनुहोस्