जन्मको मोल चुकाउन नजान्ने समाज



कपिल काफ्ले

मातृत्वको मूल्य चुकाउँछु भन्नु धृष्टता मात्र हो। अनमोल छ मातृत्व ⁄ हामी केही कर्तव्य मात्र पूरा गर्न सक्छौं। आमआमाहरूका लागि केही सकारात्मक योगदान दिने चिन्तनले सभ्य समाजको निर्माणमा सघाउ पुर्याउँछ। आमाले हाम्रा लागि भोग्नुपरेको समस्या वा असहज अवस्थालाई पहिचान मात्र गरियो भने पनि आमाको सम्मान हुनेछ। प्रजननका लागि आमाले भोग्नुपरेको पहिलो असजिलो अवस्था भनेको मासिकस्राव नै हो। १३–१४ वर्षदेखि शुरु हुने यस प्राकृतिक चक्रका बारेमा कुरा उठाउँदा कतिलाई हल्का र सामान्य विषय लाग्न सक्छ। तर, मातृजातिप्रति सम्मान गर्ने हो भने कुरो यहीँबाट शुरु गर्नै पर्छ।

हामी गर्भमा रहँदासम्म आमाको मासिक रक्तस्राव भएन। अर्थात् त्यही रगतले हाम्रो शरीर बन्यो। समाजले छिः छिः र दुर्दुर् गर्ने रगतबाट बनेको हाम्रा हातले चढाएको प्रसाद भगवान्ले स्वीकार गरिरहेका छन्, मानिस भने त्यही मासिकस्रावका आधारमा आमाहरूलाई मानवोचित व्यवहारसम्म गरिरहेको छैन। नेपालको पश्चिमी भूभागका छाउगोठ ढले पनि पूर्वमा मानवीय संवेदना र सामाजिक चेतनाको सूर्य नउदाएका कारण त्यस्ता गोठ नहुने शहर र गाउँमा पनि मासिकस्रावका बेला महिलालाई दुव्र्यवहार गरिएको छ। उनीहरूलाई पुरुषसरह सम्मान दिइएको छैन। मानवजातिको अस्तित्वलाई निरन्तरता दिन प्रकृतिले चलाएको धर्म पूरा गर्नका लागि प्राकृतिकरूपमा सिर्जित जैविक विषयलाई हामी विभेदको आधार बनाइरहेका छौं।

मासिकस्रावका बेला महिला तथा किशोरीमाथि समाजले गर्ने विभेदपूर्ण व्यवहार सभ्य समाजका लागि सुहाउने विषय हो ? अवश्य होइन। नेपाल सरकारले पनि यस विषयलाई सिद्धान्ततः स्वीकार गरेको छ। खानेपानी आपूर्ति तथा सरसफाइ मन्त्रालयको पहलमा छोइछिटोको अभ्यास अन्त्य गर्न, दैनिक जीवनमा लैङ्गिक समानताको अभ्यास हुनुपर्छ। प्रजनन समाजको आवश्यकता हो भने यसको अभिन्न पक्ष मासिकस्राव महिलाको मात्र सरोकार र समस्याको विषय कसरी हुनसक्छ ? मासिकस्रावलाई महिलाको मात्र समस्या नभनी पुरुष तथा युवाको भूमिका आवश्यक पर्ने विषयका रूपमा समाजलाई प्रशिक्षित गर्नु आवश्यक छ।

 

प्रजनन समाजको आवश्यकता हो भने यसको अभिन्न पक्ष मासिकस्राव महिलाको मात्र सरोकार र समस्याको विषय  कसरी हुनसक्छ ? मासिकस्रावलाई महिलाको मात्र समस्या नभनी पुरुष तथा युवाको भूमिका आवश्यक पर्ने विषयका रूपमा समाजलाई प्रशिक्षित गर्नु आवश्यक छ। मासिकधर्मका सन्दर्भमा समाजलाई सचेत गराउन अभियानका साथ लाग्न सकियो भने ‘मेनइङ्गेज’ आन्दोलनले पनि उचाइ पाउनेछ।

मासिकधर्मका सन्दर्भमा समाजलाई सचेत गराउन अभियानका साथ लाग्न सकियो भने ‘मेनइङ्गेज’ आन्दोलनले पनि उचाइ पाउनेछ। लेखक तथा लैङ्गिक समानता अभियन्ता राधा पौडेलका विचारमा शान्ति, न्याय, मानवअधिकार र महिला सशक्तीकरणका लागि मासिकस्रावका कारण गरिने दुव्र्यवहार असभ्यता र अज्ञानताको परिचायक हो। मासिकस्रावलाई ठीक व्यवस्थापन गर्नुको साटो महिला तथा किशोरीलाई छोइछिटो गर्नु समाज विकासको सूचकांकमा आपूmलाई कमजोर बनाउनु मात्र हो। मदन पुरस्कार विजेता पौडेल सरकारका तर्फबाट विभेदको उन्मूलनका लागि भएको प्रयासलाई स्वागत गर्नुहुन्छ।

कतिपय पुरुषले यस सन्दर्भमा कलम पनि चलाउँदै आएका छन्। गंगराज पण्डितले आफ्नो आलेखमा भनेका छन्, ‘प्रकृतिलाई हामी भगवान् मान्छौं भने हामीले प्रकृतिका हरेक नियम र प्रक्रियाहरूको पूूजा गर्नुपर्ने हो, तर विडम्बना कतिपय व्यवहारहरूमा प्रकृतिको यस्तो नियमलाई पूजा नभएर पाप तथा अभिशापका रूपमा परिभाषित गर्ने गरेको पाइन्छ। यसको ज्वलन्त उदाहरण हो नेपालका केही समुदायहरूमा प्रचलित छाउपडी प्रथा।’

‘महिला अधिकार र यौन स्वतन्त्रता’ शीर्षकको आलेखमा रमा पनेरु एक विदेशी साथीको अनुभव लेख्नुहुन्छ, ‘मेरा आफ्नै गोपनीयताहरू छन्। मलाई अरुले मेरो बारेमा निर्णय गरेको मन पर्दैन।’ यस सन्दर्भले के देखाउँछ भने, मासिक रक्तस्राव एक व्यक्तिगत शारीरिक अवस्था पनि भएकोले यसलाई लिएर अरुले नियम लाद्न मिल्दैन। महिलाले महिनावारीको अवस्था लुकाउन चाहेमा उनले यो स्वतन्त्रता पाउनुपर्छ । यसलाई बार्ने वा यस्तो अवस्थामा आराम गरेर बस्ने हो भने पनि उनलाई त्यो अधिकार दिइनुपर्छ। उनको शरीर उनको अधिकार हो।

महिनावारीका कारण महिलामाथि हुने विभेद र हिंसाविरुद्ध सशक्तरूपमा अभियान चलाउँदै आएकी राधा पौडेल लेख्नुहुन्छ– मासिकस्रावका बेला छाउगोठमा बस्दा महिलाका एकसाथ १० प्रकारका संवैधानिक मौलिक हक हनन हुन्छन्। परिवारबाट वञ्चित भएर बस्नुपर्ने, विद्यालयका सहपाठीसँग छुट्टिनुपर्ने, परिवारका पुरुष तथा अन्य वरिष्ठलाई छुनसम्म नहुने, स्वतन्त्र ढंगले हिँडडुल गर्न नहुने, समुदायका सांस्कृतिक तथा धार्मिक क्रियाकलापमा सहभागी हुनबाट वञ्चित रहनुपर्ने, फलफूल र तरकारीका बोटबिरुवा छुन नहुने, दूध र दूधबाट बनेका परिकार खान नहुने, छाउगोठमा रहेका बेला जँड्याहा र गुन्डागर्दी गर्ने व्यक्तिबाट पीडित हुने असुरक्षाको अवस्था, जंगली जनावर, सर्प आदिको टोकाइमा पर्ने आदि छन्। छाउगोठमा पानीको स्रोत हुँदैन, शौचालय, सरसफाइ, विद्यालय, मन्दिरको सुविधा आदि पाइन्न, पर्याप्त कपडा र सेनिटरी टाबेल पाइँदैन, स्वास्थ्यस्थितिमा चुनौती आउँछ। किशोरहरू यस्ता विभेदकारी नियमभन्दा बाहिर हुन्छन् भने किशोरीलाई नियम थोपरिन्छ, महिनावारीका सम्बन्धमा किशोरीलाई यो जैविक कार्य हो र मानव–जन्मका लागि यो एक अनिवार्य प्रक्रिया हो भन्ने तथ्यप्रति सचेत गराइँदैन। आफ्नो शरीरमा आएको परिवर्तनप्रति जानकार हुन पाउनु उनीहरूको आधारभूत अधिकार हो, जसको बेवास्ता भएको छ।

पौडेलले नेपालको संविधान २०७२ को धारा ३७ ले नागरिकलाई ‘उपयुक्त आवासको अधिकार’ प्रदान गरेको ‘छाउगोठ’मा बस्दा महिला र किशोरीको उपयुक्त आवासको अधिकार पूर्ण नभएको तर्क दिनुभएको छ। छाउगोठमा रहँदा महिला तथा बालिकाका मानवअधिकार हनन भएको हुन्छ, उनीहरू हिंसामा पर्दछन्। उनीहरूमाथि यौनिक हिंसा पनि हुने गरेका छन्, यस प्रकारको हिंसा नभए पनि स्वास्थ्य र सुरक्षाका दृष्टिले कमजोर ठाउँमा बस्न बाध्य पारिनु मात्र पनि उनीहरूमाथिको हिंसा हो। यसलाई संरचनागत हिंसाका रूपमा लिनुपर्दछ।
छाउगोठमा रहँदा किशोरी तथा महिलाहरू शान्ति, मानवअधिकार र सशक्तीकरणका विभिन्न सुविधा र अवसरबाट वञ्चित भएका हुन्छन्।

यस व्यवहारले पितृसत्तात्मक चिन्तन र पुरुषत्वको अभिमान प्रदर्शन गर्दै महिलामाथि विभेदपूर्ण व्यवहार गर्दछ। समाजले किशोरी र महिलामाथि मासिकधर्मका आधारमा विभेदपूर्ण व्यवहार गरेको देखेर कलिला बालबालिकाहरू पनि यही सिक्छन्, पछिसम्म त्यस्तै विभेदकारी व्यवहार गर्न पुग्छन्। यस प्रकारको व्यवहारका कारण किशोरी तथा महिलाहरू हीनताबोधले ग्रस्त बन्न पुग्छन्, उनीहरू आफूलाई दोस्रो दर्जाका नागरिकका रूपमा आत्मस्वीकृति जनाउने अवस्थामा पुग्छन्, भलै मानसिक विद्रोह उनीहरूमध्ये कतिमा प्रज्वलित भइरहेको हुनसक्छ। महिनाको पाँच दिन रक्तस्रावमा रहेका किशोरी तथा महिला त्यहाँ बस्ने बेलामा मात्र हीनताबोधले ग्रस्त हुँदैनन्, महिनाको ३० दिन नै उनीहरूको अगाडि ठिङ्ग उभिएर त्यस गोठले ‘तेरो नियति त मैसम्म त हो’ भनेर मानसिकरूपले ङ्याकिरहेको हुन्छ।

मे २८ लाई विश्वले २०१४ देखि अन्तर्राष्ट्रिय माहिनावारी दिवस मनाउन थालेको छ। यस अवस्थामा गरिने विभेदले मानवअधिकार हनन गर्ने व्याख्या संयुक्त राष्ट्रसंघको छ। मानवजातिको सिर्जनाका लागि महिला जातिमा हुने मासिक रक्तस्राव उनीहरूको मात्र सरोकारको विषय नभएर आमसमाजको जिम्मेवारीको विषय हो भन्ने धारणा आमपुरुषमा आउनु आवश्यक छ। राधा भन्नुहुन्छ– यस सन्दर्भलाई सेनिटरी टाबेल, शौचालय, सफा वा फोहर गोठको विषयमा मात्र सीमित गर्नहुन्न, वास्तवमा यो प्रतिष्ठा र सम्मानको विषय हो। कति आन्दोलनकारीहरू दुर्भाग्यवश छाउगोठ सफा हुनुपर्छ, सुविधायुक्त हुनुपर्छ भन्ने पक्षमा केन्द्रित छन्। कतिको माग छाउगोठ उन्मूलनमा छ, जबकि किशोरी तथा महिलाको सम्मान हुनुपर्छ भन्ने विषय गौण बनेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्