अस्पतालमा बिरामी बढे, तीन जनाको मृत्यु भएपछि रुघाखोकी र ज्वरो आउने बिरामी आत्तिँदै अस्पताल पुग्न थालेका छन् ।



 

भगवती तिमल्सिना, काठमाडौं
ठमाडौं उपत्यकामा स्वाइनफ्लुको संक्रमणबाट ३ जनाको मृत्यु हुनुका साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएका छन्। छिटो र छरितो उपचार पाउने आशमा काठमाडौंका नाम चलेका निजी अस्पतालका साथै सरकारी अस्पतालहरूमा बिरामीको चाप ह्वात्तै बढेको छ।

ज्वरो आउने र रुघाखोकी लाग्ने समस्याका कारण आइतबार मात्र टेकु अस्पतालमा परीक्षणका लागि ५० जनाभन्दा बढी बिरामीको भीड लागेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा क्लिनिक रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जानकारी गराउनुभयो।

नेपालमा सन् २००९ देखि नै स्वाइनफ्लुको प्रकोप देखा परेको र यस विषयमा अन्य मुलुकले जनचेतनालगायत उपचारमा निकै फड्को मारिसक्दा नेपाल भने पर्ख र हेरको अवस्थामा नै बसी रहेका कारण बिरामीको ज्यान नै जाने अवस्था आएको विशेषज्ञहरूको ठम्याइ छ।

यति बेला काठमाडौंका अस्पतालहरूमा स्वाइनफ्लुको आशंकामा परीक्षण गराउन आउने बिरामीहरूको संख्या ह्वात्तै बढेको टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताललगायतमा बिरामीको चाप बढेको छ। यस विषयमा डा. पुन भन्नुहुन्छ– ‘नेपालमा जुन महिनाको अन्तदेखि नै स्वाइनफ्लु शुरू भएको हो। यो रोग फैलिन्छ भन्ने विषयमा सरकारलाई जानकारी नभएको होइन गम्भीर रूपमा नलिएका कारण बिरामी मर्नुपर्ने अवस्थामा पुगेका हुन्।

अहिले पनि सरकारले खासै नीति बनाएर जनचेतना र सुरक्षा अपनाएको पाइन्न। यति बेला अस्पतालमा भर्ना भएका र परीक्षणका लागि आएका बिरामीहरू स्वाइनफ्लुका कारण मान्छे नै मर्न थालेपछि आत्तिएर आएको देखिन्छ। स्वाइनफ्लु लाग्दा आत्तिनुभन्दा पनि सुरक्षा अपनाउनुपर्छ।’

उपत्यकामा देखा परेको अव्यवस्थित फोहोर मैला, धूवाँ, धूलो र पानीको कारणले पनि धेरै मानिस बिरामी परिरहेका छन्। विशेष गरी स्वाइनफ्लु दम, खोकी, रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, दीर्घरोगीजस्ता बिरामीलाई बढी खतरा हुने बताइएको छ। रुघाखोकी लाग्ने, घाँटी खसखसाउने, लामो समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने, नाकबाट पातलो सिगान बग्नेजस्ता लक्षण देखा पर्ने गरेपछि संक्रमण हुने डा. पुन बताउनुहुन्छ।

स्वाइनफ्लु विगतमा अमेरिकाको क्यालिफोर्नियामा देखा परेको क्यालिफोर्निया स्ट्रेन हो। अहिले देखा परेको स्वाइनफ्लु अमेरिकाकै मेथिगनबाट आएको मेथिगन स्ट्रेन हो कि भन्ने शंका छ। भारतमा मेथिगन स्ट्रेनको स्वाइनफ्लु गत महिना जुनमा नै प्रमाणित भइसकेका कारण त्यहाँ स्वाइनफ्लुविरुद्धको खोप प्रयोगमा आइसक्यो।

नेपालमा भ्याक्सिन भित्रिए पनि प्रयोगमा नआएका कारण नेपाली जनता अत्यास र अन्योलको स्थितिमा पुगेका हुन् डा. पुन भन्नुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘हरेक व्यक्तिलाई रोग लाग्नै नदिनका लागि स्वाइनफ्लुविरुद्धको खोप लगाउन सल्लाह दिनुपर्ने हुन्छ। भारतमा जे हुन्छ नेपालमा तत्काल हुन सक्ने सम्भावना छ।’

नेपाल र भारतको आवतजावत सहज हुनुका साथै खुला सिमानाका कारण पनि रोगी व्यक्ति सहजै आउने र जाने हुन्छ र रोग फैलन्छ। यसअघि पनि बिरामीको मृत्यु भयो कसैले बोलेका थिएनन्। भित्रभित्रै गुपचुप राखियो जब डाक्टरले बोले आम मानिसको ध्यान केन्द्रित भएको छ।

यति बेला स्याङ्जामा पनि धेरै रुघाखोकी र ज्वरोका बिरामी बढेका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धेरै नमुना परीक्षणका लागि आएका छन्। स्वास्थ्य परीक्षणमा आउने सबै स्वाइनफ्लुका बिरामी नभए पनि ठूलो मासमा एक जनालाई भएको छ भने फैलने सम्भावना बढी हुन्छ।

स्वासप्रस्वासका कारण स्वाइनफ्लु फैलने भएका कारण रोगको पहिचान भएका व्यक्तिले जमघटमा नजाने, परिवारका सदस्यहरूसँग सुरक्षित बस्ने र खानपानमा बढी झोलिलो पदार्थ खान पनि डा.पुन सल्लाह दिनुहुन्छ।

सुरक्षा कसरी अपनाउने ?
संक्रमित व्यक्तिले अलग्गै बस्ने, बिरामीले प्रयोग गरेको सामान अरुले प्रयोग नगर्ने, डाक्टरको सल्लाह समयमै लिने, बाहिरजाँदा सावधानी अपनाउने, संक्रमित व्यक्तिसँग हात नमिलाउने, एक मिटरको दूरी कायम राख्ने, झोलिलो पदार्थ बढी खाने, रोगीले मात्र नभएर निरोगीले पनि माक्स लगाएर सुरक्षा अपनाउनुपर्ने चिकित्सकको सल्लाह छ।

विदेशतिर खोप आइसकेको छ। नेपालमा पनि मेथिगन स्ट्रेन खोप भित्रिसकेको छ हामीले सुरक्षा नीति अपनाएका छौं भनेर सरकारले भन्नुभन्दा सिजन शुरू हुनुभन्दा २ साताअघि नै खोप लगाईसक्नुपर्छ। संक्रमणपछि लगाएको खोपको प्रभावकारिता कम हुने अर्थात अन्य व्यक्तिमा रोग फैलिन सक्ने हुनाले स्वाइनफ्लुको खोप पहिला नै लगाउनु उपयुक्त हुने डा.पुन बताउनुहुन्छ।

स्वाइनफ्लुकै कारण ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका तर एक दिनअघि त्रिवि शिक्षण अस्पतालको सघन उपचारकक्षमा उपचार गराउन गएका २ जनाको बिहीबार मृत्यु भएको थियो। त्यसै गरी चार दिनदेखि ग्रान्डीमै उपचाररत पोखराका २९ वर्षीय कमल विकको शनिबार मृत्यु भएको हो। ग्रान्डी अस्पतालको आइसियूमासमेत कार्यरत त्रिवि शिक्षण अस्पतालका आईसीयू विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार स्वाइनफ्लुग्रस्त अन्य तीन जनाको ग्रान्डीमा उपचार भइरहेको छ। एक सातामा ३ जनाको ज्यान जानुका साथै थुप्रै बिरामी काठमाडौंलगायत नेपालका विभिन्न भागमा देखा परेका छन्। यसका साथै निमोनिया र भाइरलका बिरामीको चाप सघन उपचार कक्षमा बढेको डा.आचार्य बताउनुहुन्छ।

यसरी अस्पतालमा पुगी उपचार गराउने क्रममा स्वाइनफ्लुका बिरामीलाई बचाउन नसकिएकोमा डा.आचार्यले दुःख व्यक्त गर्नुभयो। तर जिम्मेवार निकाय सरकार मौन बसेको छ। सरुवा रोग नियन्त्रणका लागि जिम्मेवारी सम्हाल्दै आएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यसामु कसैले किटानी नदिएका कारण उहाँ आफूलाई कुनै जानकारी नभएको बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्