भरतपुर–१९ मा पुनः मतदानको आदेश



 

काठमाडौं, (नेस)
भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई नै सर्वोच्च अदालतले कानुन सम्मत ठहर्याएको छ।
अदालतले आइतबार सो वडामा पुनः मतदान गराउन आदेश दिएको हो। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान गराउन आदेश दिएको हो।

बहुचर्चित विषय बनेको भरतपुर निर्वाचनको मुद्दा यसअघि पटक–पटक पेशी तोकिएर स्थगित हुँदै पृष्ठभूमिमा सो आदेश आएको थियो।

सो आदेशसँगै स्थानीय तहको पहिलो चरणको निर्वाचनमा बहुचर्चित बनेको भरतपुरको मतगणनाको विवाद किनारा लागेको छ। सो वडाको मतगणना भइरहेका बेला गत जेठ १५ गते मध्यराति माओवादी कार्यकर्ताहरूले मतपत्र च्यातेपछि गणना रोकिएको थियो।

प्रमुखमा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालबीच प्रतिस्पर्धा भइरहेको बेला ९१ वटा मतपत्र च्यातिएको थियो।

९० वटा मतपत्र च्यातिएको असर १९ वटाको गन्न बाँकी र गणना भएको सम्पूर्ण मतपत्रमा परेको उल्लेख गर्दै आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो।

आयोगले विभिन्न प्रतिवेदनका आधारमा सो निर्णय गरेको थियो। आयोगले पुनः मतदान गराउने निर्णय गरे पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो। आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गर्नुभएको थियो।

रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो।

एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन्। २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधाभन्दा बढी गणना भइसकेपछि मतपत्र च्यातिएको थियो। पछिल्लो गणनामा एमालेका देवी ज्ञवाली माओवादीकी रेणु दाहालभन्दा ७ सय ८४ मतले अगाडि हुनुहुन्थ्यो। आदेशसंगै निर्वाचन आयोगलाई पुनः मतदान गराउने बाटो खुल्ला भएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने सर्वोच्च अदालतको निर्णयको सम्मान गर्दै निर्वाचनमा भाग लिने बताएको छ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्मानित सर्वोच्च अदालतको निर्णयको सम्मान गदै निर्वाचनमा भाग लिने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सर्वोच्च अदालतको फैसलाको सम्मान गछौं तर भरतपुर १९ मा पुनः मतदात गराउने निर्णय दुर्भाग्यपूर्ण छ, राजनीतिमा मौलाउँदै गएको विकृतीलाई बल पुर्याएको छ।’

निर्वाचनमार्फत् नै नागरिक सर्वोच्चता स्थापित गर्नका लागि पनि निर्वाचन प्रक्रियामा भाग लिने बताउदै प्रचार विभाग प्रमुख भट्टराईले जनताकै बीचमा गएर जनतालाई पुनः मतदान गर्नु पर्नाको कारण स्पष्ट पार्ने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्