लागुऔषध तस्करी विरुद्धको कारबाहीमा मेयर मारिए



मनिला, १५ साउन । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन ।

प्रहरीले सो कारबाही फिलिपिन्सका विभिन्न नगर र ग्रामीण क्षेत्रमा पनि जारी राखेको छ । प्रहरीको सो कारबाहीमा परी आइतबार विहान ती मेयर सहित ११ जना व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन ।

यहाँको प्रहरीद्वारा निकै सशक्त रुपमा सञ्चालित यस अभियानको फिलिपिन्सका जनतामा सकारात्मक प्रभाव परेको छ भने राष्ट्रपति दुतेर्ते पनि निकै लोकप्रिय हुनुभएको छ ।

यद्यपि यस कनुनले प्रहरीलाई बढी अधिकार दिएको र न्यायिक प्रक्रियामा नल्याइकनै नागरिकलाई गोली हानेर मार्ने अधिकार दिएको भन्दै मानवअधिकारकर्मीहरुले भने आलोचकना गर्ने गरेका छन् ।

प्रहरीले जारी राखेको यो खोजी अभियानका क्रममा ओजामिज सहरका मेयर रिनाल्दो पारोजीनोङ सहित ११ जना मारिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु मेयरको घरैमा बसेका बेला घेरा हालेर प्रक्राउ गर्न खोजेको जनाएको छ ।

“प्रहरीले खोजीको सूचीमा रहेकाहरुको खोजी गरिरहेको थियो र उनको घरसम्म पुगेको थियो सोही क्रममा मेयरका सुरक्षा गार्डले प्रहरीमाथि आक्रमण गरेपछि हाम्रा प्रहरीले जवाफी कारबाही गर्दा मेयर सहित उनीहरुको मृत्यु भएको हो,” क्षेत्रीय प्रहरीका एक जना प्रवक्ताले भने ।

दुतेर्तेले गत बर्षको निर्वाचनमा विजयी भएपछि लागुऔषध प्रयोग, ओसारपसार र कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

त्यस यता भएका लागूऔषधसँग सम्बन्धित कारबाहीमा परी दुई हजारभन्दा बढी व्यक्तिको निधन भएको समाचारमा जनाइएको छ । सो अभियान जारी नै रहने प्रहरीको भनाई छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्